काठमाडौ– हरेक ५ जना युवामध्ये १ जनामा अर्थात् कुल युवा जनसंख्याको २० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या हुने गरेको पाइएको छ।
अध्ययनअनुसार आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र शुरु हुन्छ र २४ वर्षको उमेरसम्ममा ७५ प्रतिशत मानसिक स्वास्थ्य समस्यमा देखा परिसकेको हुन्छ।
तरपनि विश्वको कुल स्वास्थ्य बजेटको ४ प्रतिशत बजेट मात्र युवाहरुको मानसिक सु –स्वास्थ्यको लागि खर्च गर्ने गरिएको छ।
अध्ययनका अनुसार १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोश्रो कारण आत्महत्या पाइएको छ । कुल आत्महत्याको ७५ प्रतिशत आत्महत्या निम्न नथा मध्यम आयस्तर भएका देशहरुमा हुने गरेको छ।
त्यसैले यसपालिको विश्व मानसिक स्वास्थ्य दिवस २०१८ को नारा युवालक्षित ‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ रहेको छ।
मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको विश्व मानसिक स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.केके राईले मानसिक स्वास्थ्य सेवाका लागि परामर्शको कमी भएको बताए । उनले देश संघीय संरचनामा गइरहँदा सातै प्रदेशमा मानसिक स्वास्थ्य सेवा अस्पताल खोलिनुपर्नेमा जोड दिए।
त्यसैगरी स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले अरु रोगहरु जस्तै मानसिक स्वास्थ्य सेवालाई पनि सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
साइक्याट्रिक असोसिएसन अफ नेपालका अध्यक्ष डा. अरुणराज कुँवरले मानिसक स्वास्थ्य सेवा सम्बन्धी नीति नियम बनेपनि कार्यावन्यनमा आउन नसकेको बताए । उनले भने ‘८ देखि ९ प्रतिशत मानसिक स्वास्स्थ्य सेवालाई दिइयो भने यसमा धेरै सुधार आउँछ।’
विश्वभरिमा प्रत्येक १० मिनेटमा हिंसाको कारणले एकजना किशोरीको मृत्यु हुने गरेको तथ्यांक बताउँछ । १८ देशका एक लाख युवाहरुलाई लक्षित गरेर गरिएको सर्वेक्षणमा २५ प्रतिशतले शारीरिक बनावट र सौनदर्यता, २५ प्रतिशतले लैंगिक अथावा यौनिकताका कारण र २५ प्रतिशतले आफ्नो राष्ट्रियता तथा जातीय पहिचानको आधारमा आफू बुलिंगमा परेको कुरा व्यक्त गरेका थिए।
मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणबाट व्यक्तिको मनका भावना, विचार वा सोचाइहरुमा आउने विचलनले गर्दा मानिसमा देखिने भावनात्मक, संवोगात्मक, सामाजिक तथा व्यावहारिक परिवर्तनलाई मानसिक स्वासथ्य समस्या भनिन्छ।
यसले व्यक्तिको भावना, सोचाइ र व्यवहारमा परिवर्तन आउँछ र जसको कारण व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार तथा सम्बन्धमा असर पुग्दछ।
दुःखी महसुस गर्ने, धेरै डराउने, आत्तिने, बिना कारण उदास हुने, आत्मसम्मानमा कमी हुने, स्ममरण शक्तिमा ह्रास आउने, रिसाउने ,आक्रामक हुने आदि यसका लक्षणहरु हुन्।
नेपालको पछिल्लो राष्ट्रिय जनगणना विंसं २०६८ अनुसार १६ देखि ४० वर्ष उमेर समुहका व्यक्तिहरु ४० प्रतिशत रहेका छन् । नेपालमा लगभग कति युवाहरु मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् भनेर यकिन अनुसन्धान नगरिएको भएपनि लगभग २२ लाख भन्दा बढी युवाहरु यस्तो खालको समस्याबाट प्रभावित छन् भनेर आंकलन गरिएको छ।