काठमाडौं- उपचार सेवाको एक तथ्यांकले नेपालमा पुरुषको तुलनामा महिलामा झन्डै दोब्बर बढी मानसिक समस्या देखिएको छ। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सिएमसी)ले केही समयअघि सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो।
सिएमसीले ३४ जिल्लामा १५ वर्षसम्म दिएको उपचार सेवाको तथ्यांक अनुसार उपचारको दायरामा आएका ४९ हजार १२ जनामध्ये ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष छन्। उपचारमा आएकामध्ये पनि ४० प्रतिशतमा चिन्ताजन्य समस्या, २६ प्रतिशतमा डिप्रेसन र बाँकीमा मानसिक असन्तुलन, छारे रोग, कन्भर्जन डिसअर्डर लगायतका समस्या छन्।
सिएमसीका अध्यक्ष डा कपिलदेव उपाध्यायका अनुसार घर र कार्यालयको कामको दोहोरो तनाव, घरेलु हिंसा, श्रीमान् वैदेशिक रोजगारीमा, प्रजनन उमेर पुगेका युवतीलाई विभिन्न आरोप लगाउने, घरपरिवार तथा समाजले बढी अनुशासनमा राख्न दबाव दिने लगायतका कारण महिलामा बढी समस्या देखिएको हो।
त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा सरोज ओझाका अनुसार अस्पतालमा दैनिक एक सय बिरामी मानसिक समस्याको उपचारका लागि आउने गरेकामध्ये ६० जना महिला नै हुने गरेको बताए।
‘महिलाहरुलाई घरेलु हिंसा, आरोप तथा अनावश्यक लाञ्छनाका कारण समस्या बढेको देखिएको छ,’ उनले भने, ‘सासू-ससुराको गाली तथा हेपाइलाई महिलाले सहन गरे पनि श्रीमानको माया नपाएका कारण पनि धेरै मानसिक समस्या लिएर आउने गरेका छन्।’
सिएमसीले ३४ जिल्लामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग साझेदारी सम्झौता गरी ती जिल्लामा रहेका स्वास्थ्य निकायहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तालिम, क्लिनिकल सुपरभिजन र कोचिङको माध्यमबाट क्षमता अभिबृद्धि गर्ने र मानसिक स्वास्थ्यको प्रर्वधन र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचारमा सहयोग पुरयाउन समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने लगायतका काम गर्दै आएको डा उपाध्यायले जानकारी दिए।
मानसिक स्वास्थ्य समस्या र आत्महत्या
11 संगठनले मानसिक स्वास्थ्य दिवसको २०१७ मा प्रस्तुत तथ्याङ्क अनुसार विश्वमा हरेक ५ जना व्यक्तिमध्येमा १ जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको देखिएको छ। विविध खालका मानसिक स्वास्थ्य समस्यामध्ये विश्वमा डिप्रेसन ३० करोड बढी मानिसहरुमा र चिन्ताजन्य समस्या २६ करोड बढी मानिसहरुमा हुनसक्ने आकलन गरेको छ। यसको कारणले व्यक्तिको काम गर्ने क्षमता ह्रास आई विश्व अर्थतन्त्रमा हरेक वर्ष १ ट्रिलिएन अमेरिकी डलर उत्पादकत्वमा ह्रास ल्याइरहेको जनाएको छ।
नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ। नेपालको पछिल्लो आँकडा हेर्ने हो भने करिव ५० देखि ५५ लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको पाइन्छ। सन् २००८/२००९ मा नेपाल सरकार, परिवार स्वास्थ्य महाशाखाले १५ देखि ४९ वर्ष उमेर समूहमा रहेका महिलाहरुको मुत्यको पहिलो कारण आत्महत्या हो भन्ने सार्वजनिक गरेको छ। नेपाल प्रहरीको आर्थिक वर्ष २०७३/०७४ मा सार्वजनिक गरेको तथ्यांक अनुसार ५ हजार १ सय २४ जनाले आत्महत्या गरेको जनाएको छ भने विगत ४ वर्षमा १३ प्रतिशतको दरले आत्महत्याको दर बढेको छ। जो व्यक्तिहरु आत्महत्या गरेर आफ्नो जीवन समाप्त पार्छन् उनीहरुमध्ये ९० प्रतिशतभन्दा बढीमा मानसिक स्वास्थ्य समस्या भएको पाइएको छ।
मनोपरामर्शदाता करुणा कुँवरका अनुसार सामान्य परामर्श र पारिवारीक सहयोगका भरमा निको हुने समस्यालाई पनि बेवास्ता गर्दा मानसिक समस्या र आत्महत्याको दर बढीरहेको छ।
‘समस्यामा परेका तथा तनाव बुझेर त्यसको समाधान गर्दा धेरै समस्या हल हुन्छ,’ उनले भनिन्, ‘तर हामीले समस्यालाई बुझ्ने भन्दा पनि समाज, संस्कृति र कम्प्रमाइजका नाममा समस्यालाई थप बढाइरहेका छौं।’
उनले धेरै मानसिक समस्यालाई सामान्य परामर्शको भरमा समाधान गर्न सकिने बताइन्।
वैदेशिक रोजगारीमा गएका परिवारमा समस्या
सिएमसीले ९ जिल्लामा मलेसिया र खाडी देशमा रोजगारका लागि आ20नमा गएका व्यक्तिहरुका मनोसामाजिक समस्या भएका परिवारलाई मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। यस कार्यक्रमबाट हालसम्म ६ महिने तालिम लिएका ४० जना मनोपरामर्शकर्ता मार्फत २ हजार ७ सय ६० जनाले व्यक्तिगत मनोपरामर्श सेवा र ७ हजार १ सय ९९ जनाले समुहमा गरिने मनोपरामर्श सेवा पाईसकेका छन् भने २ सय ६४ जनाले मानसिक स्वास्थ्यको विशेषज्ञको परामर्श तथा उपचार सेवा पाएका छन्।
कुल सेवाग्राहीमध्ये सबैभन्दा बढी ६० प्रतिशत वैदेशिक रोजगारमा गएका व्यक्तिको श्रीमती, २० प्रतिशत आमा, ५ प्रतिशत बालबालिकाहरु र ८ प्रतिशत बैदेशिक रोजगारमा गएका व्यक्ति स्वयं नै रहेका छन्। वैदेशिक रोजगारको कारणले सबैभन्दा बढी चिन्ताजन्य समस्या ६४ प्रतिशतमा, डिप्रेसन २१, आत्महत्याको प्रयास गरेको तथा जोखिम ७ प्रतिशत रहेको पाइएको छ। 11 संगठनका अनुसार वैदेशिक रोजगारमा गएकामध्ये १०.४ प्रतिशतले आत्महत्या गरेको जनाएको छ।
विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम
सिएमसीले शिक्षा विभागसँग साझेदारी सम्झौता गरी ६ जिल्लाका २ सय ६ सरकारी विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रम लागू गरेको छ। कार्यक्रममाका क्रममा बालबालिकामा डराउने, दु:खी देखिने, आत्तिने, चिन्तित देखिने, अनुशासन जन्य समस्या भएका, ध्यान एकीकृत गर्न नसक्ने, विद्यालय नआउने, विद्यालयमा अनुपस्थित हुने, मन्द सिकारु, सुस्तः मनस्थिति तथा बेहोस हुने लगायतका समस्याहरुको पहिचान गरेको छ। कार्यक्रममा क्रममा विद्यालयमा १० देखि १५ प्रतिशत विद्यार्थीलाई विशेष खालको मनोवैज्ञानिक पद्दतिबाट उपचार गराउनुपर्ने आवश्यकता देखिएको छ।