बर्दिवास– प्रदेश नं. २ सरकारले पखालाबाट मृत्यु भएका महोत्तरीका दुई जना परिवारलाई राहतस्वरुप रु एकएक लाख प्रदान गर्ने भएको छ ।
असोज २ गते शुरु भएर दुई साताभन्दा बढी पखालाको प्रकोप चलेको जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्हीका मुस्लिम बस्तीका दुई जना मृतकका परिवारलाई प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले रु एकएक लाख राहत उपलब्ध गराइने घोषणा गरे।
सो बस्तीमा एक धार्मिक कार्यक्रमका लागि आज पुगेका उनले दुवै मृतकका परिवारलाई भेटेर राहत दिइने बताए। पखालाको प्रकोपबाट चार वर्षीया बालिका खुश्वु खातुन र ४० वर्षीया वृद्धा अइसा खातुनको मृत्यु भएको थियो ।
दूषित पानीकै कारण पूरै बस्तीमा पखालाको प्रकोप फैलिएकाले अब स्वच्छ खानेपानीको प्रबन्ध गरिनुपर्नेमा जोड दिदैं उहाँले स्वच्छ खानेपानीको प्रबन्धका लागि तुरुन्त व्यवस्था गर्न जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई निर्देशन दिए।
“आफूले सक्ने काम नगरपालिकाबाटै र नसक्ने प्रदेश सरकारसँग माग गर्नुहोस्, प्रदेश सरकार तत्काल स्वच्छ खानेपानीको व्यवस्थामा जुट्नेछ”, मुख्यमन्त्री राउतले भने।
पहिले खेतमा मारिएका भुरा माछा खाएर प्रकोप फैलिएको भनिए पनि पछि सो बस्तीमा खान प्रयोग गरिने चापाकलको पानीको नमूना राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गरिँदा ‘इकोलाई र क्लोरीफर्म’ नामक दिसाका किटाणु फेला परेपछि प्रकोपका कारण खानेपानी रहेको पुष्टि भएको थियो । जम्मा ३०० घरधुरी रहेका सो बस्तीका २५० भन्दाबढी पखालाले प्रभावित भएका थिए ।
बस्तीमा खान प्रयोग गरिँदै आइएको पानी १०० फिट गहिराइको मात्र भएकाले दूषित भएको स्वास्थ्य विज्ञले बताएका छन् । त्यसैले अब बस्तीमा २०० फिटभन्दा गहिरोको पानी प्रयोग गरिन चापाकल जडान गरिने जलेश्वर नगरपालिकाले जनाएको छ ।