समाचार

आर्थिक अभावका कारण उपचार गराउन नसकेपछि छब्बीस वर्षदेखि ओछ्यानमै

रासस

कञ्चनपुर– जन्मेको छ महिनासम्म तन्दुरुस्त थियो । खुबै खेल्ने गर्दथ्यो । हाँस्थ्यो । हात समातेर आँगनमा हिँड्न खोज्थ्यो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का भक्तबहादुर सुनारले भने, “छ महिनापछि खुट्टा चल्न छाड्यो, शरीर सुक्दै गयो, ओछ्यान पर्योक।” 

आठ दशक काट्नै लागेका भक्तबहादुरले २६ वर्षीय छोरा मनोज सुनारबारे दुःखेसो पोख्दै भने, “उपचार गराउन धेरै ठाउँ पुगे पनि रोग नै ठम्याउन सकिएको छैन ।” छोराको उपचारका लागि उहाँले वैद्यदेखि चिकित्सकसम्म देखाएका छन् । 

छिमेकीले वैद्य लगाएपछि रोग निको हुन्छ भनेपछि उनले छ महीना वैद्यद्वारा झारफुकसमेत गराए । शरीरको तल्लो भाग पुरै सुक्दै गएको छ, उनले भने, “हिँडडुल त परको कुरा बस्नसमेत नसक्ने भएको छ । सानै छँदा ओछ्यान परेपछि बोल्नसमेत सक्दैन।”  

उपचार गर्न आर्थिक अवस्थाले नभ्याएपछि २६ वर्षदेखि थला परेका हुन्। दुई दशक काटेको छोरालाई शरीर नुहाउनेदेखि दिसापिसाबसमेत भक्तबहादुरले आफैं सफा गर्नुपरेको छ । 
चार छोरा र चार छोरीका बुवा भक्तबहादुरका मनोज सबैभन्दा कान्छा छोरा हुन्। 

छोराबुहारीले अहिले मनोजलाई ओछ्यानमा सुताउने, खाना खुवाउनेलगायतका काममा सहयोग पु¥याउँदै आएका छन्। 

'कसैले पोलियो लागेको भन्छन् त कसैले प्यारालाइसिस भयो भन्छन् । रोग के लागेको हो यकिन छैन, रोग ठम्याउन नसक्दा उपचारसमेत भएन,' उनले दुःखेसो पोखे । 

उनी भन्छन्, “उपचार खर्च पाए राम्रो अस्पतालमा जचाउन पाए रोग निको पो हुथ्यो कि । मनमा उपचार गराउन नपाउँदाको चिसो पसेको छ । त्यसलाई मेटाउन सकिएको छैन।” 

“२६ वर्षदेखि ओछ्यानमै सुतेकै सुतेको छ । हामीजस्तै हिँडेको, कुरा गरेको देख्ने मन छ । कुन दैवले ठिक गरिदेला । अझै हिँड्छ, बोल्छ भन्ने आशा जीवितै छ”, उनले भने। 
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live