काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जको कार्यकारी निर्देशक नियुक्तीका लागि बनाएको सर्च कमिटी मान्य नहुने बताएका छन्।
डा केसीले राजनीतिक भागबन्डाका आधारमा बनाइएको कमिटीले उचित निर्णय गर्न नसक्ने भन्दै विरोध गरेका हुन्। उनले त्रिवि शिक्षण अस्पताललाई राजनीतिबाट मुक्त राख्नुपर्ने आफ्नो माग विपरित त्रिविले राजनीतिक रुपमा नै सर्च कमिटी बनाएको आरोप लगाए।
त्रिविले निर्देशकको नाम सिफारिस गर्न त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको छ। समितिमा राजनीतिक रुपमा खुलेका दुई डाक्टरलाई सदस्य बनाइएको छ। त्रिविले नेकपानिकट डा प्रदीप ज्ञवाली र नेपाली कांग्रेस निकट डा अभिमन्यु झालाई कमिटीको सदस्य बनाएको छ।
डा केसीले निर्देशकका लागि योग्य व्यक्तिको नाम सिफारिस गर्ने भन्दा पनि राजनीतिक आस्थाका आधारमा नाम सिफारिस गर्न त्रिविले नयाँ सर्च कमिटी बनाएको आरोप लगाए। उनले त्रिविका पदाधिकारीलाई गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगले सिफारिस गरे अनुसार कारवाही गर्न समेत माग गरे।
निर्देशकका नाम सिफारिस गर्न यसअघि पनि कमिटी बनाइएको थियो। तर, उक्त कमिटीमा नाम सिफारिस गर्ने क्रममा विवाद आएपछि निर्देशकको नाम सिफारिस गर्न सकेको थिएन। कमिटीले नाम सिफारिस गर्न नसकेको भन्दै त्रिविलाई जानकारी गराएपछि उक्त कमिटी खारेज भएको थियो।
अस्पतालका निर्देशक डा दीपक महराको कार्यकाल सकिएपछि सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि पुन निर्देशकको जिम्मेवारी दिएको थियो। तर, उनले गत साउन ४ गतेबाट लागू हुने गरी राजीनामा दिएपछि अस्पतालमा निर्देशक पद खाली भएको हो। आइओएमले निमित्त निर्देशकको जिम्मेवारी आइओएमकी सहायक डिन मन्दिरा वन्तलाई दिइएको छ।