विचार/ब्लग

विश्व दृष्टि दिवस : आँखाको हेरचाह जहाँ तहीं

डा लक्ष्मण तिमिल्सिना र खिम लामिछाने

आज विश्वभरि नै विश्व दृष्टि दिवस मनाइँदैछ। ‘आई केयर एभ्री ह्योर अर्थात् आँखाको हेरचाह जहाँ तहीं’ भन्ने नाराका साथ अक्टोबर महिनाको दोस्रो बिहीबार दृष्टि दिवस मनाउने गरिन्छ। आँखा छ त संसार छ, आँखा छैन त सबै अन्धकार। यसैबाट बुझ्न सकिन्छ आँखाको महत्व।

दृष्टिका बारेमा आममानिसमा जानकारी गराउनु र अन्धोपन हुनबाट बचाउनु नै दृष्टि दिवसको प्रमुख उद्देश्य रहेको छ। आँखाको स्वास्थ्य र उपचार वर्तमान विश्वका लागि ठूलै चुनौती भएको महसुस गरी विश्व स्वाथ्य संगठन, अन्तर्राष्ट्रिय अन्धोपन निवारण संघ, लायन्स क्लब इन्टरनेसनल तथा विभिन्न सरकारी, गैरसरकारी र निजी सस्था, आँखारोग विशेषज्ञहरुको पहलमा दृष्टि दिवस मनाउने गरिएको थियो। आज हामीहरुले छैटौं विश्व दृष्टि दिवस मनाउँदैछौं। 

तथ्यांकअनुसार ३ करोड ६० लाख मानिस अन्धोपनको सिकार भएका छन्। अन्धोपन भएका हरेक ५ मध्ये ४ जनालाई अन्धो हुनुबाट बचाउन सकिन्थ्यो। यदि हामीसँग पर्याप्त मात्रामा दक्ष जनशक्ति, आँखा उपचार केन्द्र र समयमै जनमानसमा आँखा उपचारको बारेमा जागरुकता ल्याउन सकेको भए विश्वभरमा अन्धो जीवन बिताउन बाध्य भएका करिब ८०% जनसख्यालाई अन्धो हुनबाट बचाउन सकिन्थ्यो।

नेपालमा पनि दृष्टिबिहीनको हकहितका लागि विभिन्न संघसस्था कार्यरत छन्। आँखा उपचारका क्षेत्रमा नेपाल दक्षिण एसियाली क्षेत्रमै उदाहरणीय देश हो। तथापि नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा सहरदेखि ग्रामीण भेगसम्म आँखाको रोग र यसको समयमै उपचार र रोकथामको लागि टड्कारो रुपमा जनस्तरबाटै जागरुकता ल्याउन आवश्यक देखिन्छ।

जनचेतना अभावका कारण आजसम्म पनि पूर्णरुपमा अन्धोपन भइनसकेका तर कुनै न कुनै कारणबाट दृष्टि क्षमतामा कमी भएका या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित भएका १ अर्ब २७ करोड मानिस विश्वभर रहेका छन्। यति ठूलो संख्यामा यस्तो समस्या भोग्नुको मुख्य कारण शल्यक्रिया नगरिएका मोतियाबिन्दु (आँखाभित्रको पारदर्शक लेन्समा बादल लाग्ने रोग, जसलाई सजिलै अपरेसनद्वारा निदान गर्न सकिन्छ)।

त्यस्तै जलबिन्दु (जसले आँखाको दृष्टि क्षेत्र र आँखाबाट दृश्यको सन्देश बोकेर मस्तिष्कमा लैजाने आँखाको दृष्टि नसालाई नस्ट गर्दछ)। उपचार नगरिएको रिफ्राक्टिभ इरर (चस्मा लगाउनुपर्ने अवस्था जस्तैः दूरदृष्टि, अदूर दृष्टि, अस्टिकम्याटिजम)। करिब ४३% अन्धोपन भएका व्यक्तिलाई समयमै चस्मा लगाउने सल्लाह वा ज्ञान भएको भए आज उनीहरुको जीवन अन्धाकारमय हुने थिएन।

त्यसैगरी अन्धोपन भएकामध्ये ३३% आँखाका रोगीहरु मोतियाबिन्दुको अपरेसन नगरेर अन्धो भएका छन्।  अन्धोपन भएकामध्ये २% व्यक्तिहरु जलबिन्दुको उपचार नगरेर अन्धो भएका छन्।

मधुमेहका रोगीले आँखाको विशेष स्याहार गर्नुपर्ने हुन्छ किनकि मधुमेहका रोगीलाई आँखामा डाइबेटिक रेटिनोप्याथी बनाउँदछ। जसको अर्थ रगतमा चिनीको मात्रा अत्यधिक बढेको खण्डमा आँखा भित्रको दृष्टि पर्दामा हुने रक्त कोषिकाहरुमा असर गरी आँखाको देख्नसक्ने क्षमतामा कमी ल्याउँछ।

शरीरका अंगमध्ये सबैभन्दा महत्वपूर्ण अंग आँखा हो। यसको स्याहारसुसार गरिएन भने आँखासबन्धी विभिन्न रोग लाग्ने गर्दछ। ती रोगहरुको समयमै उपचार गरिएन भने जीवन नै अन्धकारमय हुन्छ। त्यसैले आजैदेखि आफ्नो आँखालाई हरेक तबरबाट जोगाऔं। आँखालाई स्वस्थ राख्नका लागि हरियो सागसब्जी, मेवा, गाँजर, फर्सी, ब्रोकाउली जस्ता भिटामिनयुक्त तरकारी तथा फलफूल नियमित सेवन गरौं। आँखाका रोगीले डाक्टरको सुझावअनुसारको औषधि प्रयोग गर्नुका साथै चस्मा प्रयोग गर्ने सिफारिस गरिएकाहरुले नियमित रुपमा चस्मा प्रयोग गरौं।

बाहिरी वातावरणमा घुलो–धुवाँ र फोहोर–कसिङर हुने भएकोले आँखामा समस्या आउने गर्दछ। त्यसैले घरभित्र गएपछि चिसो पानीले मुख धुने बानी बसालौं। चर्को घाममा बाहिर जाँदा सूर्यका हानिकारक किरणहरु जस्तै परावैजनिक किरण आदिबाट आँखालाई जोगाउनका लागि युभी प्रोटेक्सन भएका चस्मा लगाउनु पर्दछ। आँखामा समस्या हुँदा मात्र होइन, आँखा स्वस्थ हुँदा पनि कम्तीमा वर्षको एक पटक विशेषज्ञद्वारा आँखा जाँच गराउनु पर्दछ।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live