जीवनशैली

आइजिपीको फिटनेस रहस्य

स्वास्थ्यखबर

काठमाडौं– काममा ‘कूल’। खानपिनमा बिशेष ख्याल। नेपाल प्रहरीका २६औं महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल यी दुई कुरामा सचेत छन्। उमेरले ५२ वर्ष पुगे पनि ‘लुक्स’ भने युवाको झैं छ। 
उनी खानामा चिल्लो पटक्कै मन पराउँदैनन्। मासुमा चिकेन ‘फेभरेट’ हो। 

‘ब्रेकफास्ट’मा दूध र ब्रेड उनलाई सबैभन्दा धेरै मन पर्छ। खानामा दालभात नै उनलाई मिठो लाग्छ।

नेपाल प्रहरीको नेतृत्व हाँक्नुपर्दा दिनमा १५ घन्टासम्म दौडधूपमै बिताउँछन् उनी। कहिलेकाहीँ त बेलुका अबेरसम्म अफिसकै काम तथा मिटिङमा व्यस्त हुनुपर्छ। 

सामान्यतया उनी बिहान ६ बजे उठ्छन्।  मिलेसम्म ब्याटमिन्टन र टेनिस खेल्छन्। ‘समय मिले बिदाको दिन मर्निङ वाक जान्छु,’ उनीसँग बाध्यता छ, ‘तर आइजिपी भएपछि फुर्सद निकाल्दै गाह्रो।’ 

त्यसो त उनी सानैदेखि खेलमा सौखिन हुन्। काठमाडौंको कपुरधारामा हुर्किएका उनले नियमित फुटबल खेल्थे।  तेक्वान्दोमा पनि उनको रुचि थियो। पहिला जिम पनि नियमित जान्थे। पछि यो क्रम टुट्यो।

२०४७ सालमा इन्सपेक्टर पदबाट प्रहरीमा भर्ना भएका उनले सधैं आफ्नो स्वास्थ्यमा ख्याल गरे। यसकारण पनि आइजिपी पदमा पुग्दासम्म उनको ‘लुक्स’ युवाझैं देखिन्छ। उनलाई भेट्नेहरूले पनि शारीरिक संरचनाको प्रशंसा गर्छन्। 

खनालको शरीरमा अहिलेसम्म कुनै पनि रोग छैन। ‘केही दिनअघि मात्र स्वास्थ्य चेक गरेको थिए, प्रेसर १२०÷८० थियो,’ उनले भने। 

उनले प्रहरीको कमान्ड सम्हालेको भएको चार महिना भएको छ। आइजिपी भएपछि पहिले जस्तो ‘एक्सरसाइज’ गर्न  नपाएको उनी सुनाउँछन्। तर, खानपिनमा निकै ख्याल गरेका कारण फिटनेस उस्तै छ। उनी ड्रिंक्स पनि गर्छन्, तर कहिलेकाहीँ मात्र। 

एकपटक योगगुरु रामेदवले काठमाडौंमा योग शिविर आयोजना गरेका थिए काठमाडौंमा। तयसबेला खनाल काठमाडौं प्रहरीका प्रमुख थिए। त्यही मौकामा आफूले रामदेवसँग फिटनेसका केही महत्वपूर्ण टिप्स लिएको उनी बताउँछन्।  

फिटनेसको उनको अर्काे रहस्य भनेको सधैं ‘कूल’ रहने हो। तनावको असर शरीरमा पर्छ। तर, उनी जस्तोसुकै समस्या परे पनि तनाव लिँदैनन्। ७६ हजार प्रहरीको कमान्ड गरिरहेका उनलाई बिहानदेखि बेलुकासम्म अनेकथरी फोन आउँछन्। दबाब उत्तिकै झेल्नुपर्ने हुन्छ।  विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटघाट गर्नुपर्ने हुन्छ। तर, उनी कहिल्यै तनाव लिएर काम गर्दैनन्। दिमागलाई सधैं शान्त राख्ने कोसिस गर्छन्।

‘म बिहान एकपटक आफ्ना योजनाबारे सोच्छु,’ उनको फर्मुला छ, ‘आफ्नो दृष्टिकोणमा स्पष्ट छु, त्यसकारण कहिल्यै काममा तनाव लिन्न।’ 

त्यसैले पनि सधैं हट्टाकट्टा र फ्रेस देखिन या फर्मुला उनका लागि उपयोगी बनेको छ।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live