काठमाडौं— नेपालमा अझैपनि मातृशिशु मृत्युदर अपेक्षाकृत रुपमा घट्न नसकेकोमा चिन्ता व्यक्त गरिएको छ।
सरकारले मातृशिशु मृत्यु कम गर्न विभिन्न कार्यक्रम गरेको छ। नियमित गर्भ जाँच गर्नेदेखि संस्थागत सुत्केरी, सुत्केरी प्रोत्साहन भत्ता, न्यायो लुगा उपहारजस्ता विभिन्न कार्यक्रम भएपनि अपेक्षाकृत रुपमा मृत्युदर कम भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातृ तथा नवजात शिशु स्वास्थ्यको लागि सञ्चारकर्मीको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले पछिल्लो समय संस्थागत मृत्युदर बढीरहेको बताइन ।
उनले भनिन्, ‘पहिले घरै सुत्केरी हुदाँ मृत्यु हुन्थ्यो, अहिले अस्पतालमा मृत्यु हुन्छ, के कारणले मृत्यु भयो भनेर त्यसको विश्लेषण गरी त्यसलाई सुधार गर्दै लैजानुपर्छ।’
मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेलले मातृ तथा नवजात शिशुको मृत्युको मेडिकल कारण मात्र नहुने त्यसको लागि सामाजिक,सांस्कृतिक, आर्थि, शैक्षिकलगायतका कारण पनि हुने बताए।
उनले भने,‘हामीले छोरीको जन्म भएदेखि नै पालनपोषणमा ध्यान दिनुपर्छ, त्यही छोरी भोली आमा बन्ने हो, हामी कति सांस्कृतिक, सामाजिक बन्देजले सुत्केरीको स्याहारसुसारमा असर पारिरहेको छ।’
बिरामी अस्पताल आउन नसक्ने ठाउँमा व्यवहारिक पक्ष हेरी स्वास्थ्यकर्मी आफै गएर सेवा दिनुपर्ने हुन्छ। उनले भने ‘सुत्केरी बेथा लैजाने विषयमा निर्णय लिन ढिला, गर्भवति हुदाँ र भएपछि नियमित स्वास्थ्य जाँचमा कमी र स्वास्थ्य संस्थामा पनि सेवामा बिलम्ब हुदाँ मातृ तथा नवजात शिशुको मृत्यु हुन्छ।’
परिवार कल्याण महाशाखाका निर्देशक आरपी बिच्छाले नेपालमा एक महिनाभित्रको मातृ तथा नवजात शिशु मृत्युदर बढी भएको बताए।
अब परिवार नियोजनको कार्यक्रमसँगै एचआइभी, खोप, र पोषणसम्बन्धी पनि सँगै परार्मश दिइने गरी कार्यक्रम बनाइने उनले बताए।
नेपालमा मुख्य गरी उच्च रक्तश्राव, हाइपरटेन्सनका कारण मातृ मृत्यु भइरहेको उनको भनाई छ।