जीवनशैली

जिल्ला प्रशासन कार्यालयमा गएर दसैंको टीका थाप्यौं : डा अन्जल विष्ट

 

काठमाडौंमा बसोबास भएपनि मेरो पुख्र्यौली घर झापा हो। दसैं मनाउन सकेसम्मघरै जाने गरेको छु। तर कहिले साइत जुर्छ त कहिले जुर्दैन। चाहँदाचाहँदै पनि कतिपटक ड्युटी परेर घर जान नपाएका घटनाहरु मानसपटलमा घुम्ने गर्छ।

कहिले बसको टिकट नपाएर पछाडिको सिटमा खाँदिएर गएका सम्झना पनि ताजै छन्। कतिपटक मुढामा बसेर यात्रा गरेका यादले अहिले पनि रोमाञ्चित बनाउँछ।

दसैंको टीकाको दिन ड्युटी परेर टीका लगाउन नपाएको अनुभव पनि छ मसँग। सकेसम्म टीकाको दिन ड्युटी नपरोस् भन्ने सबैको चाहना हुन्छ। टीकाको दिन थोरै भए पनि घरपरिवारको लागि समय निकाल्छु भन्ने मनमा लाग्छ, तर कहिले त चाहेर पनि समय निकाल्न सकिँदैन। 

२०६८ सालको एउटा घटना स्मरण गरौं। मेरो सरुवा डडेलधुरामा भएको थियो।छुट्टी नमिलेर दसैंमा घर जान पाइएन। त्यो वर्ष मैले सहकर्मीहरुसँग दसैं मनाएँ।त्यतिबेला मेरो दसैंको टीका छुटेको थियो। घरको टीका छुटे पनि बिदा नमिलेर घर जान नपाएका हामीहरु जिल्ला प्रशासन कार्यालयमा गएर दसैंको टीका थापेका थियौं। हामीले त्यतिबेला अफिसमै खसी काटेर खाँदै दसैं मनाएका थियौं।

म जतिबेला बंग्लादेशमा पढाइ गरिरहेको थिएँ त्यो समयमा पनि मैले घरमा दसैं मनाउन पाइनँ। घर जाने बिदा नमिल्दा विदेशको दसैं निकै खल्लो भएको थियो। मलाई अहिले पनि त्यतिबेलाको दसैं खुब मिस गरें भन्ने लाग्छ। दसैंको समयमा आफ्नो देश, आफ्नो घरपरिवारसँग बस्न नपाउँदा कम्ती नरमाइलो लागेन। दसैंका बेला पनि मेरो निधार खाली थियो।

ड्युटी परेको बेला दसैंको टीका पर्दा हामी सहकर्मीहरु पालैपालो गरेर घरमा टीका थाप्न जान्छौं। एकचोटी मैले घर जान नपाएर आमा बाबुलाई यहीं टीका थाप्नको लागि बोलाएको पनि छु।

(बुनु थारुसँगको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने