प्युठान- चारैतिर दसैंको रमझम छ। सबैका घरमा उत्साह र उमंग। तर, प्युठान नौवहिनी गाउँपालिका ८ फोप्लीका दिलबहादुर पुनको परिवारलाई न त दसैंले छोएको छ न मन रमाएको नै छ। परिवार चलाउने १६ वर्षीय उनी आफै भने आर्थिक अभावका कारण उपचार गर्न नसकी रोगले थलिएर बस्नुपरेको छ।
दिलबहादुरका बुवा ६५ वर्ष पुगे, जो आँखा देख्दैनन्। गएको असार ४ गते आमालाई सदाका लागि गुमाउनुपर्यो। दुई बहिनी १२ वर्षीया ताजिमा र ८ वर्षीया खेमसरी अनि ४ वर्षीय भाइ उनीमाथि नै आश्रित थिए। तर, जब रोगले उनलाई पनि च्याप्यो, भाइबहिनीको बिचल्ली भएको छ।
भएको एक कित्ता भीर बेचेको २५ हजारले आफ्नो उपचारमा भौंतारिँदै ठिक्क भयो। आमाको किरियाको ऋण तिर्नै बाँकी छ अझै।
'आर्थिक अभावका कारण परिवार धान्नै गाह्रो छ। आर्थिक अभावका कारण उपचार गर्ने अवस्था छैन,' स्थानीय युवराज भण्डारीले भने, 'सामान्य झमझमाउने समस्या बल्झिएर उनी अहिले उभिन नसक्ने स्थितिमा पुगेका छन्।'
आर्थिक अभावकै कारण एउटी बहिनीले ३ कक्षाबाट र अर्कीले एक कक्षाभन्दा माथि पढ्न सकेनन्। उब्जनीको नाममा अहिले १० डोका मकै उत्पादन भयो।
हिँड्न नमिल्ने, हात सिधा नहुने, जिब्रो लरबराउने लगायत समस्याबाट पीडित यतिबेला सहयोगको याचना गरिरहेका छन्। 'आमाको मृत्यु भयो। बुबा दुवै आँखा देख्न सक्नुहुन्न। ऋण तिर्नै छ,' उनी मसिनो स्वरमा भन्छन्, 'तपाईंहरुको सानो सहयोगले म निको भएँ भने परिवारलाई खुसी दिन सक्छु।'