मुसिकोट- रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २३७ जनाले स्वास्थ्य जाँच गराएका छन्। वडा नं १२ को जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा शनिबार बसेको शिविरबाट १६० महिला र ७७ पुरुषले स्वास्थ्य जाँच गराएका हुन्।
चौरजहारी नगरपालिकाको आयोजना र मानव विकास तथा सामुदायिक सेवा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच गरिएको हो। यहाँका १०, ११, १२, र १३ वडाका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा दिइएको नगरपालिकाले जनाएको छ।
शिविरमा छाला, नाक, कान, दाँत, ग्यास्ट्रिक, रुघाखोकी, पाठेघर खस्ने, तल्लो पेट दुख्ने समस्या भएका बिरामीको स्वास्थ्य जाँच गरिएको बताइएको छ। स्त्रीरोग विशेषज्ञ डा अजित जर्ज कुरुभिल्लाको टोलीले शिविरमा आएका बिरामीको स्वास्थ्य जाँच गरेको थियो। स्वास्थ्य जाँचसँगै केही बिरामीलाई निःशुल्क औषधिसमेत दिइयो।
घरआँगनमै निःशुल्क स्वास्थ्य जाँच, उपचार र परामर्शसहितको सेवा लिन पाउँदा यस क्षेत्रका बिरामी खुशी भए।
स्वास्थ्यचौकी नभएका विभिन्न वडाका बिरामीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने नगरपालिकाको नीतिअनुरुप नै शिविरको आयोजना गरिएको नगरप्रमुख विशाल शर्माले बताए। उनका अनुसार चौरजहारी नगरपालिकाले स्वास्थ्यचौकीको पहुँच नभएको वडाका बिरामीलाई विशेषज्ञ डाक्टरसहितको उपस्थितिमा निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ ।
हाल चौरजहारी नगरापालिकामा तीन स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन्।