काठमाडौं – नेपाली कामदार लैजाने विषयमा नेपाल र मलेसियाबीच कात्तिक १२ गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने मिती तय भएको। समझदारीमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन ११ गते काठमाडौं आउने मिती तय भएको मलेसियास्थीत नेपाल राजदूतवासले जानकारी दिएको छ।
समझदारीपत्र हस्ताक्षर भएसँगै ५ महिनादेखि बन्द मलेसियाको श्रम बजार पुनः खुल्नेछ। दुई देशबीच सम्झौतामा हस्ताक्षर भएसँगै मलेसिया जाने कामदारमाथि आर्थिक भारको सिन्डिकेट तोडिने भएको छ।
नेपाल सरकारबाट मान्यताप्राप्त र पुर्वाधार पूरा भएका स्वास्थ्य संस्थाबाट नै मलेसिया जाने कामदारको मेडिकल जाँच गरिने भएको छ। अब मलेसिया जाने कामदारले त्यहाँ जानुअघि ४ हजार ५ सय मात्र खर्च लाग्ने भएको छ। यो भन्दा अगाडि मलेसिया जाने कामदारले विभिन्न संस्थामा २१ हजारसम्म खर्च लाग्ने गरेको थियो।
नयाँ सम्झौता अनुसार नेपाली कामदारको १६ हजार ५ सय खर्च जोगिन्छ। अब भने मलेसिया जाने कामदारको मेडिकल खर्च रोजगारदाता कम्पनीले नै व्योहोर्ने श्रम मन्त्रालयले जानकारी दिएको छ।
नयाँ एमओयू अनुसार नेपाली कामदारको करार अवधि २ वर्षको हुन्छ। दुई वर्षको अवधिमा ८ पटक स्वास्थ्य परिक्षण हुन्छ उक्त रकम पनि रोजगारदाता कम्पनीले व्योहोर्ने नै गरि सहमति जुटेको जनाइएको छ।
नेपाल र मलेसियाबीच हुने समझदारीले बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षण गराउदै आएका ३९ वटा मेडिकल संस्था बन्द नै हुने भएका छन्।
मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न संस्था खडा गरी आर्थिक मारमा पारिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गते बायोमेट्रिक, भिएलएन, माइग्राम्स, वान स्टप सेन्टर, ओएससी र जिएसजीका काम कारबाही बन्द गर्ने निर्णय गरेका थिए।