काठमाडौं- सरकारले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस र बिडिएस अध्ययनका लागि यो वर्षको शुल्क बढाउन नपाउने निर्णय गरेको छ।
आज बसेको मन्त्रीपरिषद् बैठकले गत वर्षकै शुल्क लिन पाउने गरी निर्णय गरेको हो। एमबिबिएस र बिडिएसको शुल्क अर्को शैक्षिक सत्रमा मात्र बढाउने यो वर्ष नबढाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले यो वर्ष कम्तिमा १० प्रतिशत शुल्क बढाउने तयारी गरेका थिए। तर, सरकारको यो निर्णयपछि यो वर्ष विद्यार्थीले २ वर्षअघि सरकारले निर्धारण गरेकै शुल्कमा एमबिबिएस र बिडिएस पढ्न पाउने भएका छन्।
सरकारले दुई वर्ष अघि एमबिबिएस तर्फ काठमाडौं उपत्यका भित्रका मेडिकल कलेजका हकमा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको थियो। बिडिएस तर्फ १९ लाख ३२ हजार शुल्क तोकिएको छ।