विचार/ब्लग

बिरामीलाई अचेत तथा चेत गराउने उपचारको विधा एनेस्थेसिया नेपालमा कसरी सुरु भयाे?

एनेस्थेसिया र आधुनिक उपकरणको सान्दर्भिकता

 डा. नविन्द्रराज विष्ट, त्रिवि शिक्षण अस्पताल

शल्यक्रिया गर्दा आवश्यकताअनुसार चेत अथवा अचेत अवस्थामा बिरामीलाई राखी दुखाई महसुस नगर्ने औषधिको आविष्कार गरी चिकित्सा सेवालाई सहज र सफल बनाउन विशेष योगदान पुर्‍याउने महत्वपूर्ण विधाको नाम एनेस्थेसिया हो। यो विधाको प्रयोगसँगै परम्परागत चिकित्सा विज्ञानलाई नै आमूल परिवर्तन गरी बिरामीहरुको सेवामा गुणात्मक बृद्धि गर्दै जीवनरक्षाका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरिएको छ। 

यसको प्रयोगबिना कुनै पनि सामान्यदेखि जटिल प्रकारका शल्यक्रियाहरुको कल्पनासम्म पनि गर्न सकिंदैन भने अर्कोतिर छोटो समयका लागि बेहोस बनाई गर्नुपर्ने स्वास्थ्य परीक्षण जस्तै कोलोनोस्कोपी, इन्डोस्कोपी तथा बच्चाको सिटी, एमआरआई जस्ता परीक्षणहरु गर्न कठिनाइ हुने तथ्य सबैलाई विदितै छ। 

यस पंक्तिकारले विश्व एनेस्थेसिया दिवसको अवसरमा यससँग सम्बन्धित प्राविधिक विषयहरुलाई पाठकसामु पस्कने चेष्टा गरेको छ। विश्वसामु सन् १८४६ अक्टुवर १६ का दिन अमेरिकाको बोस्टन अवस्थित म्यासाचुसेट्स जनरल हस्पिटलमा विलियम टिजी मोर्टनले पहिलो पटक इथर एनेस्थेसिया दिई सफलतापूर्वक शल्यक्रियाको लागि सहज बनाएकोले यो ऐतिहासिक दिनलाई ऐनेस्थेसिया दिवसको रुपमा मनाउँदै आएको छ।

वर्ड फेडेरेसन अफ सोसाइटिज अफ एनेस्थेसियोलोजिस्टले सन् २०१८ को मुख्य सन्देश द राइट स्टफ  तर्जुमा गरेको छ। जसले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सुरक्षित एनेस्थेसिया मापदण्ड निर्माण गरी जीवनरक्षाका लागि अपनाउने एनेस्थेसियामा प्रयोग हुने उचित प्राविधिक उपकरणहरुको महत्वलाई प्राथमिकता दिइएको छ।

अर्थात् अन्तर्राष्ट्रिय मापदण्डको आधारमा मुख्य २ उपकरणहरु जस्तै जिउमा अक्सिजनको मात्रा हेर्ने पल्स अक्सिमिटर र फोक्सोले फाल्ने कार्बनडाईअक्साइडको मापन गर्ने कन्टिनियोस वेभफम क्याप्नोग्राफीलाई सुझाइएको छ। बिरामीलाई एनेस्थेसिया दिंदा प्रयोग गरिने उपकरणहरुका सम्बन्धमा तयार गरिएको मापदण्डअनुरुप जनचेतना बृद्धि गरी उक्त उपकरणहरुको सही सदुपयोग गर्दै बिरामीहरुलाई एनेस्थेसिया प्रदान गर्ने मुख्य उद्देश्य राखेको छ। 

विकसित देशहरुमा एनेस्थेसिया दिंदा विभिन्न आधुनिक उपकरणहरुको सहजै उपलब्धता हुनुका साथै त्यसको प्रयोग व्यापक मात्रामा गरिएको हुन्छ। तर विश्वका धेरै अल्पविकसित देशमा पर्याप्त उपकरणहरुको अभाव अझसम्म पनि कायमै रहेको विद्यमान अवस्था छ। त्यसैले चिकित्सकहरुको ज्ञान र अनुभवका साथसाथै स्तरीय मापदण्डको पालना गरी आवश्यक उपकरणहरुको प्रयोग गर्दै सुरक्षित एनेस्थेसियाका लागि उचित वातावरण सिर्जना गर्नतर्फ यो सन्देशले हौसला प्रदान गरेको छ। 

के हो ऐनेस्थेसिया ? 
कुनै पनि शल्यक्रिया गर्दा बिरामीलाई दुखेको भान नपर्ने गरी बिरामीको तत्कालीन अवस्थालाई मध्यनजर गर्दै शरीरको मुख्य भाग जहाँ शल्यक्रिया गर्ने हो त्यो भागलाई मात्र लठ्याई वा पूरै शरीरलाई केही क्षणका लागि बेहोस पारी शल्यक्रिया सफल पार्ने बिधा हो। जसमा शल्यक्रिया पूर्वको अवस्थादेखि शल्यक्रिया सम्पन्न भएपश्चात् बिरामीलाई पहिलेकै अवस्थामा ल्याउने महत्वपूर्ण जिम्मेवारी ऐनेस्थेसिया विषयमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकहरुको नेतृत्वमा सम्पन्न गरिएको हुन्छ।

मुख्यतः शल्यक्रिया गर्नुभन्दा अगाडि उक्त बिरामीमा केकस्ता अन्य लुकेका रोगहरु रहेका छन् भनी पत्ता लगाउने, उक्त बिरामीको सम्पूर्ण शारीरिक अवस्थालाई पूर्ण परीक्षण गरी शल्यक्रिया गर्न उपयुक्त छ वा छैन भनी सुनिश्चित गर्ने कार्यसमेत ऐनेस्थेसियोलोजिष्टहरुले गर्दछन्। 

यस्तो प्रक्रियाका सम्बन्धमा सर्व साधारणहरुमा ऐनेस्थेसियोलोजिस्टहरुले केबल शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामीलाई बेहोस पार्ने मात्र काम गर्दछन् भन्ने भ्रम रहेको पाइन्छ। वास्तवमा शल्यक्रियाको दौरानमा बिरामीको प्रभावित अंगलाई शल्यक्रिया गर्नुबाहेक शरीरका अन्य महत्वपूर्ण अंगहरु जस्तै फोक्सोमा जाने अक्सिजनको मात्रा, मुटुको चाल, मिर्गौलाले पाउने पानीको अवस्था, ब्रेन र कलेजोको उचित सन्तुलन भएको छ वा छैन, रक्तचापको उचारचढाव तथा शल्यक्रियापश्चात् बिरामीलाई पुरानै अवस्थामा ल्याउन सकिन्छ कि सकिंदैन जस्ता चुनौतीपूर्ण कार्यहरुको अनुगमन र उपचार गरी बिरामीको जीवन रक्षाका निम्ति ऐनेस्थेसियोलोजिस्टले नै गहन जिम्मेवारी निर्वाह गरेको हुन्छ।

त्यसका साथै बिरामीहरुलाई पर्न सक्ने आपतकालीन अवस्था जस्तै मुटुको चाल बन्द भएको अवस्थामा दिने सिपिआर अर्थात् बिरामीको छाती थिची फोक्सोलाई मुखको माध्यमबाट चिकित्सककै श्वास दिई पुनर्जीवन दिने काम पनि गरिएको हुन्छ। त्यसैले एकातिर बिरामीको जीवनमरणसँग सरोकार राख्ने महत्वपूर्ण पक्ष नै एनेस्थेसिया हो भने अर्कोतिर बिरामीको जीवनमरणको दोसाँधमा काम गर्ने चिकित्सकहरु नै एनेस्थेसियोलोजिस्ट हुन्। 

अपरेसन थिएटरमा हुने कामका अतिरिक्त अन्य बिरामीहरुमा हुने असहैय दुखाई, क्यान्सरका दुखाई, विभिन्न परीक्षणको दौरानमा बिरामीलाई छोटो समयावधिका लागि स्थीर राख्न प्रयोग गरिने औषधि पनि दिने काम गरिएको हुन्छ। त्यस्तैगरी प्राकृतिक विपत्तिका समयमा होस् वा अस्पतालभित्र पर्नसक्ने आपतकालीन अवस्थामा ऐनेस्थेसियोलोजिस्टहरुले बिरामीको उद्धारमा सक्रिय सहभागिता जनाइएको हुन्छ। त्यसैले कुनै पनि अस्पतालको मेरुदन्डको रुपमा ऐनेस्थेसियोलोजिस्ट नै रहेको हुन्छ भन्दा अतियुक्ति नहोला। 

विश्वको इतिहास
इतिहासकारका अनुसार ४००० विसीपूर्व सुमेरियनहरुले अफिमको पप्पीलाई एनेस्थेसियाको रुपमा प्रयोग गरेको पाइन्छ। त्यस्तै सन् १८४२ मा क्रफोर्ट डब्लुलङ र विलियम कलार्कले शल्यक्रियाका लागि इथर दिएको इतिहास पाउन सकिन्छ। यसको चार वर्षपछि औपचारिक रुपमा सन् १८४६ अक्टुबर १६ का दिन विलियम टिजी मोर्टनले अमेरिकाको बस्र्टनमा विश्वलाई देखाउँदै इथर एनेस्थेसिया घाँटीमा रहेका टिउमर निकाल्नका लागि प्रयोग गरेका थिए। जसका कारण बिरामीलाई बिनादुखाइ शल्यक्रिया गर्ने प्रचलनको ऐतिहासिक सफलताका कारण विश्वमा एनेस्थेसियाका सम्बन्धमा आधुनिक पद्धतिको खोजी र प्रयोगको प्रचलन बढेको पाइन्छ। 
 
नेपालको इतिहास
नेपालमा सन् १९५५ मा डा भवानीभक्त सिंह प्रधान एनेस्थेसिया विशेषज्ञ चिकित्सकको रुपमा वीर अस्पतालमा काम गर्नुअघिसम्म एनेस्थेसिया दिने काम अन्य प्राविधिक क्षेत्रका व्यक्तिहरुबाट भएको पाइन्छ। नेपालमा शल्य चिकित्सकहरु आउनुभन्दा करिब ४ वर्षअगाडि नै उहाँले विशेषज्ञ सेवा प्रदान गरेको इतिहास छ।

डा प्रधानले हर्लिक्सको बोतल प्रयोग गरी ओपन ड्रप इथरको शुरुवात गरेकोले उहाँलाई नेपालमा एनेस्थेसियाको पिताको रुपमा स्मरण गरिन्छ। त्यस्तै सन् १९६६मा डा नरेन्द्रबहादुर राणाले मसल रिल्याक्ससेनका औषधि प्रयोग गरी ब्यालेन्स एनेस्थेसियाको सुरुवात गरेकोले उनको योगदानलाई अनुकरणीय मानिएको छ। वीर अस्पतालमा रानी ऐश्वर्यको शल्यक्रियाका निम्ति तत्कालीन समयमा विदेशबाट एनेस्थेसियाको उपकरण झिकाई सफलतापूर्वक शल्यक्रिया गरेको इतिहाससमेत पाउन सकिन्छ। 

यसै क्रममा एनेस्थेसियाको विकासक्रमलाई आजको अवस्थासम्म ल्याउने अग्रज चिकित्सकहरुको योगदान अतुलनीय रहेको छ। सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपालमा दर्ता भएका चिकित्सकहरुको संख्या ३२१ पुगेको छ जुन प्रतिलाख जनसंख्याको लागि १ जनाभन्दा कम अनुपात हुन्छ।

विकसित देशहरुको अवस्थालाई उदाहरणको रुपमा लिने हो भने अमेरिकामा प्रतिलाख जनसंख्याका लागि २०.८ अनुपातमा एनेस्थेसिओलोजिीटहरु पर्दछन्। विश्वमा प्रयोग हुने नयाँनयाँ औषधिको प्रयोग गर्दै नेपालका विशेषज्ञ चिकित्सकहरुले आफ्नो क्षमता र दक्षताबमोजिम गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेका छन् तर पनि विकसित देशहरुमा एनेस्थेसियाका क्षेत्रमा प्रयोग हुने आधुनिक उपकरणको तुलना गरी हेर्ने हो भने नेपाल केही पछाडि परेको देखिन्छ। 

स्वास्थ्य क्षेत्रको केन्द्रीकृत संरचना र योजनालाई नेपालले बल्लतल्ल विकेन्द्रीकृत गर्दै दुर्गम स्थानहरुमा स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीको स्थापनादेखि लिएर जिल्ला अस्पतालहरु सञ्चालन गर्दै आएको छ। नेपालका दुर्गम जिल्लाका अस्पतालहरुको शल्यक्रियाका लागि आवश्यक पर्ने उपकरण र जनशक्ति समेत पर्याप्त मात्रामा पुग्न सकेको छैन। अझ त्यसमा पनि एनेस्थेसियाका क्षेत्रमा काम गर्ने चिकित्सकहरुको दरबन्दी अपुग भएको विद्यमान अवस्था छ।

क्रमिक रुपमा उत्पादन भएको एनेस्थेसिया क्षेत्रको दक्ष जनशक्ति सहरकेन्द्रित हुन बाध्य हुनु, शल्यचिकित्सकहरुको तुलनामा यस क्षेत्रका विशेषज्ञहरुको पारिश्रमिकमा असन्तुलन, विशेषज्ञ समाजले तयार पारेको आफ्नै पारिश्रमिक मापदण्ड कार्यान्वयन हुन नसक्नु तथा शल्यक्रियाका लागि बल्लतल्ल तयार भएका स्वास्थ्य संस्थाहरुमा समेत एनेस्थेसियाका उपकरणहरुको न्यून उपलब्धता र पुराना उपकरणहरुको सहयोगमा काम गर्नुपर्ने बाध्यात्मक परिस्थितिले स्वास्थ्य क्षेत्रको आशातित प्रतिफललाई सहज मापन गर्न नसकिएको यथार्थ हो। 

एनेस्थेसियाका क्षेत्रमा प्रयोग हुने औषधि र उपकरणहरुका सम्बन्धमा सरोकारवाला निकायबाट स्तरीय मापदण्ड निर्धारण गरी कम्तीमा सहरकेन्द्रित एनेस्थेसियाका उपकरणहरुलाई ग्रामीण स्तरसम्म पुर्‍याउने र सहरमा सुविधा सम्पन्न उपकरणहरु जस्तै फोक्सोले फालेको ग्यासलाई मापन गर्ने इटिसिओटू, मसल रिल्याक्ससेनको अनुगमनका लागि टिओएफ मेसिन, सुताइको गहिराइ मापन गर्ने बाई स्प्रेक्टल इन्डेक्स मोनिटर, दिमागमा अक्सिजनको मात्रा एकिन गर्ने सेरेबल नियर इन्फ्रारेट स्पेक्ट्रोस्कोपी मोनिटर, महत्वपूर्ण औषधिहरु दिनका लागि अटोमेटिक सिरिन्ज पम्प र टार्गेट कन्ट्रोल इनफिउजन पम्प, विभिन्न नशा पत्ता लगाउनका लागि आधुनिक अल्ट्रासाउन्ड, मुटु र रक्तचापको विशेष स्थिति अवलोकनका लागि कार्डियाक आउटपुट मनिटरिङ डिभाइस, शल्यक्रियापश्चात् दुखाइको आवश्यकताअनुसार बिरामी आफैंले दिन मिल्ने पेसेन्ट कन्ट्रोल एनलजेसिया (पिसिए) मेसिन र बिरामीको सम्पूर्ण रिपोर्ट राख्नसक्ने इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम (इएमआर) जस्ता उपकरणहरुको सहज व्यवस्थापन गर्न सकेको खण्डमा अझ बढी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने र स्वास्थ्य सेवाग्राहीहरुले समेत विशेष राहत महसुस गर्न सक्दछन् भन्ने सन्देशलाई नेपालले पनि आत्मसात गर्न सकेको खण्डमा नेपालको स्वास्थ्य क्षेत्रले सहज रुपमा काँचुली फेर्न कुरामा कुनै द्विविधा छैन। 

त्यसले यस क्षेत्रमा प्रयोग हुने स्तरीय मापदण्ड र आधुनिक उच्चस्तरीय उपकरणहरुलाई स्वास्थ्य संस्थाहरुले प्रयोगमा ल्याई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ठूलो योगदान पुर्‍याउन सकिने र विद्यमान बिरामी, चिकित्सक तथा अस्पतालबीचको असमनजस्य न्यूनीकरण गर्न ठूलो मद्दत पुग्ने र एनेस्थेसिओलोजिस्टहरुको अटुट मेहनतको कदर हुनसक्ने सन्देश प्रवाह गर्नसक्नु नै यस दिवसको सान्दर्भिकता रहन्छ। 

(लेखक जापानमा एडभान्स लेभल एनेस्थेसियाबाट प्रशिक्षित भएका एनेस्थेसियोलोजिस्ट हुन्।)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Gehendra लेख्नुहुन्छ असोज २९, २०७५ सोमवार ०७:३२:४४
Importance of anesthesia and role of practitioners including history of the subject in our country has been fairly pointed out in this article and thus dr. bista is thankful. Hope, Insufficiencies in this service sector would be attentively corrected.

यसमा तपाइको मत




पढ्नै पर्ने