जीवनशैली

जब दसैंको टीका थाप्न लाग्दा अस्पतालबाट सिकिस्त बिरामी हेर्न फोन आयो...

मुम्बइबाट धागो किनेर ल्याएर पनि चंगा उडाएँ

 डा.राजेन्द्रप्रसाद बराल

कुरा सायद १५ –२० वर्ष अगाडीको हो। म परिवारसँग टीका लाउँदै थिएँ। टिका थाप्ने क्रममा मलाई एउटा सिकिस्त बिरामी छ भने फोन आयो। बच्चा एकदम क्रिटिकल छ भनेर फोन आयो। म टीका नथापिकन दोडैर त्यो अस्पताल पुगेँ। रक्त क्यान्सर भएका एक जना बालक सिकिस्त भएका रहेछन्। 

अस्पताल पुगे लगत्तै उनको उपचार सुरु भयो। अन्तत ती बालक बाँचे। म सायद टिका थापेर गएको भए त्यो बच्चा बाँच्दैनथ्यो होला। जीवनमरणको दोषाधमा रहेका बालकलाई टीका छाडेर भए पनि बचाउन पाउँदा निकै खुसी लाग्यो। अहिले ती बिरामीको बिबाह समेत भइसकेको छ। उनको छोराछोरी पनि छन्।

डाक्टरी सेवाका क्रममा दसैं लगायतका चाडबाडमा बिरामीको उपचार गरेका धेरै घटनाहरु छन्। हामी चिकित्सकको पहिलो प्राथमिकता भनेको नै बिरामी हो। जीवनमा यस्ता धेरै बिरामी हेरियो। तर, टीका नै लगाउन छाडेर ती बच्चा बचाउँदाको घटना भने म कहिले पनि बिर्सन सक्दिन।

००
दसैंमा नेपालीको खसी काट्ने चलन छ। हामी सानो हुँदा हाम्रो घरमा पनि खसी काटिन्थ्यो तर मैले अहिले यत्तिको उमेर भइसक्दा पनि खसी काटेको कहिले हेरेको छैन। 

म मांसाहारी हुँ, मासु खान्छु । तर मारकाट गरेको हेर्न सक्दिन। अहिले पनि म आफैँ मासु किन्न जाँदा काटिरहेको हेर्दिन सबै ठिक्क पारेर दिइसकेपछि लिएर आउने गरेको छ ।

८–१० वर्षको थिएँ होला, बाल्यकालमा खसीको धेरै माया लागेर मैले २ वर्षसम्म त नै खाइन। मासु खान नै छोडेको थिएँ। घरमा यसले खसी काटेको हेर्न सक्दैन रुन्छ भनेर बुवाले मलाई पशुपति पठाइदिनु भएको थिया। झन् पशुपति जाँदा त मान्छेलाई पोलेको पनि देखेँ झन् नराम्रो लाग्यो।

तर, मान्छेको मन न हो। मासुको लोभ लाग्ने। यो जिब्रोलाई स्वाद चाहिने। विस्तारै मासु खान फेरि सुरु भयो।

हुन त स्वस्थ हुनलाई त शाकाहारी भएकै राम्रो। 

युरोपतिर कुखुराको मासु किन्यो भने गरिब, सागसब्जी किन्यो भने धनी मान्छन्। माछा मासु खानुपर्छ तर ठिक्क मात्रामा खाने, रातो मासु नखाने, सेतो मासु खाने जस्तै कुखुरा वा माछा खान सकिन्छ। सकी नसकी खानु हुँदैन।

००
दसैं भनेको ठूलोबाट आर्शिवाद लिने हो। अहिले त मानिसहरु मासु अनि दक्षिणामा अड्केका छन्। मद्यपानमा  अड्केका छन्। यो त गलत चलन आयो।

दसैंलाइ स्वस्थ तरिकाले मनाऔँ विकृतिमा नलैजाऔँ। माछा मासु खानुस् तर ठिक्क मात्रामा खानुस्। स्वास्थ्यलाई नबिगार्नुस्। रातो मासु धेरै नखानुस्। हामी चाहिँ ढ्याउ, डकार आउन्जेल खान्छाँै, त्यो नराम्रो हो।

मासुमा सेकुवा सबैभन्दा खराब हो। पोलेको मासु खानाले क्यान्सर हुने सम्भावना अधिक मात्रामा रहन्छ। क्यान्सर मात्र होइन अरु धेरै रोग पनि लाग्न सक्छ। रातो मासु नै खाने भए उमालेर खाऔँ। मासुमा मात्र ध्यान नदिउँ तरकारी सागसब्जीमा पनि ध्यान दिऔँ। खसी नकाटेर घिरौँला काट्ने चलन पनि देखेको छु मैले।

००
पहिलाको जस्तो उत्साह त्यो रमाइलो अहिलेको दसैंमा छैन। 

पहिला चाहिँ म यति चंगा उडाउँथे म नक्सालको मान्छे सोल्टी होटेलसम्म चंगा समाउन जान्थेँ। म बच्चामा चंगा उडाउनको साहै्र सौखिन थिएँ। हातमा रुमाल बाँधेर कुनचाहिँ धागोमा माजा छ छैन हेर्ने गर्थे।

मलाई माजाको एक्सपर्ट भन्थे। चंगा बाल्यकालमा खुब उडाइयो। मैले मुम्बईमा रहँदा टाटा मेमोरियल अस्पतालमा पोस्ट ग्राजुएट पढ्दा पनि त्यहाँबाट धागो ल्याएर चंगा उडाएको छुँ। 
अहिले त चंगा उडाएको पनि देख्दनाँै, पिङ खेलेको पनि कमै देख्छु।

-(क्यान्सर रोग विशेषज्ञ डा बरालसँग बुनु थारुले गरेको कुराकानीमा अाधारित)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने