टिप्स/जानकारी

दसैंमा मासु खानु अघि जान्नै पर्ने यी कुरा

 

मासुको चर्चा गर्नुअघि फ्याट अर्थात् चिल्लो पदार्थको वर्गीकरणवारे बुझ्न जरुरी छ। फ्याट दुई प्रकारका हुन्छन्, स्याचुरेटेड र अनस्याचुरेटेड । रसायनको मात्रा (केमिकल कम्पोजिसन) ले नै यसको निर्धारण गर्छ । स्याचुरेटेड फ्याट स्वास्थ्यका लागि हानिकारक हो भने अनस्याचुरेटेडले स्वास्थ्यलाई फाइदा गर्छ।

खसी र राँगाको रातो मासुमा स्याचुरेटेड फ्याट बढी हुन्छ । बोसोलाई स्याचुरेटेड फ्याटको उदाहरण मान्न सकिन्छ। त्यसमा प्रोटिन पनि बढी हुन्छ। जनावरजन्य उत्पादन अर्थात् मासु, दूध लगायतमा यसको मात्रा ज्यादा हुन्छ । एउटा सामान्य व्यक्तिले पनि स्याचुरेटेड फ्याट भएको खाना धेरै प्रयोग गर्नु हुँदैन। बिरामीका लागि त यो झन् घातक हुन्छ।

 स्याचुरेटेड फ्याटयुक्त खानाले कोलेस्टेरोलको मात्रा बढाउँछ । कोलेस्टेरोलले मुटु तथा रक्तप्रवाहमा अवरोधलगायत समस्या हुन सक्छन् । खानामा स्याचुरेटेड फ्याटको मात्रा १० प्रतिशतभन्दा कम हुनुपर्छ।

जुन खानामा स्याचुरेटेड फ्याट बढी छ, त्यसलाई सकेसम्म जोड नदिनु नै राम्रो विकल्प हो। मासुमा स्याचुरेटेड फ्याट बढी हुन्छ, तर सामान्य मानिसले त्यसकै आधारमा मासु खाँदिन भन्नु व्यावहारिक कुरा होइन।

सर्वप्रथम व्यक्तिले आफ्नो स्वास्थ्यमा कोलेस्टेरोलको मात्रा कस्तो छ, त्यसबारे ध्यान पुर्‍याउन जरुरी छ।

कोलेस्टेरोलको मात्रा नियन्त्रणमा छ भने केही बढी खान सकिन्छ तर यसको मात्रा बढेको छ भने मासुजन्य परिकारमा आफूलाई नियन्त्रित गर्न सक्नुपर्छ । जसले आफ्नो कोलेस्टेरोल परीक्षण गरेकै छैन, उसले आफ्नो कोलेस्टेरोल उच्च भएको अनुमान गरी सोही अनुसार खानाको योजना बनाउनुपर्छ।

मासु खाँदा स्याचुरेटेड फ्याटलाई कसरी घटाउने ? त्यसतर्फ पनि ध्यान दिन जरुरी हुन्छ।

एक, यसमा फ्याट र प्रोटिन बढी हुने कारणले क्यालोरी पनि बढी हुन्छ । क्यालोरी बढी भएकै कारण मोटोपन बढ्ने हो।

दुई, फ्याटकै कारण कोलेस्टेरोल बढ्ने समस्या पनि उत्तिकै रहन्छ। युरिक एसिडको समस्या हुनेका लागि मासुमा पाइने प्रोटिन पनि समस्या हुन सक्छ। मिर्गौलासम्बन्धी रोगीले पनि बढी प्रोटिन हुने परिकार खान मिल्दैन।

यीबाहेक सामान्य मानिसका लागि भने उच्च प्रोटिनयुक्त खाना राम्रो कुरा हो । क्यालोरी अनुसारको शारीरिक परिश्रम गर्ने व्यक्तिले मासु सहजै पचाउन सक्छन् । तर, मासुका कारण शरिरमा जाने स्याचुरेटेड फ्याटले खराब कोलेस्टेरोल बढाउँछ।

हाम्रो खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ हुन्छन् । सँगसँगै भिटामिन, लवण र फाइबर पनि जोडिन आउछन् । मासुमा कार्बोहाइड्रेट कम हुन्छ, तर प्रोटिन बढी हुन्छ । स्याचुरेटेड फ्याटले खराब कोलेस्टेरोल बनाउँछ भने अनस्याचुरेटेडले राम्रो कोलेस्टेरोल बनाउँछ।

खसी र माछाको मासु तुलना गरौँ। माछामा अनस्याचुरेटेड फ्याट बढी र स्याचुरेटेड फ्याट एकदमै कम हुन्छ । खसीमा भने ठीक उल्टो हुन्छ। खसीले ब्याड र माछाले गुड कोलेस्टेरोल बढाउँछ।

त्यसैले हामी खराब कोलेस्टेरोल बढाउने खानाप्रति निकै सचेत हुनुपर्छ। माछा र खसीमै तुलना गर्दा स्वास्थ्यका लागि माछा उपयुक्त देखिन्छ । तर, स्वादका लागि सबैले खसी नै छान्ने गर्छन्। यसमा हाम्रो खाद्य बानीले पनि भूमिका खेलेको हुन्छ।

कोलेस्टेरोल, मोटोपन, युरिक एसिड र ग्यास्ट्रिकको समस्या हुनेले मासुको प्रयोग कम र ज्यादा होसियारीपूर्वक गर्नुपर्छ।

खसी वा अरू रातो मासुभन्दा कुखुराको मासु राम्रो हो । धेरैमा यसले कोलेस्टेरोल बढाउँदैन भन्ने भ्रम छ । तर, यथार्थमा जुनसुकै जनावरजन्य उत्पादनले कोलेस्टेरोल बढाउँछ।

खसीभन्दा माछा राम्रो हो। तर, त्यसलाई पनि तेलमा ज्यादा पकाएर खानुको साटो माइक्रोओभनमा ‘ग्रिल’ गरेर खानु राम्रो हो। स्वास्थ्यकर मासु पनि पकाउने विधि सही भएन भने अस्वास्थ्यकर हुने खतरा रहन्छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने