विचार/ब्लग

दसैंमा कस्तो आहार विहार?

 अच्युत शाली घिमिरे

हिन्दू नेपालीको महान् चाड वडादसैं सबैको घरघरमा भित्रिसकेको छ। पारिवारिक जमघट, सुखदुःख आदान प्रदान, मीठापरिकार बनाएर खाने, मान्यजनबाट टीका-आशीर्वाद ग्रहण जस्ता क्रियाकलापहरु गरेर मनाइने यो चाड निकै उल्लासमय रहन्छ। तर यहि अवसरमा अस्वस्थकर आहारले स्वास्थ्यमा आकास्मिक एवं दीर्घकालीन असर पुर्यादन सक्दछन्। त्यसैले हामी समयमा सजग हुनु आवश्यक छ।

आयुर्वेद
शरद ऋतु (आसोज र कार्तिक महिना) दुर्गा पूजालाई विशिष्ट मानेर वडादशैंको रुपमा धुमधाम मनाउने चलन छ। त्यसैले यस समयमा आयुर्वेद, चरक संहितामा वर्णन भए अनुसारको शरद ऋतुचर्या अपनाउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ। वर्षा ऋतुमा शरीर शीत भैराखेको हुन्छ र जब शरदमा सूर्यको ताप बढ्छ पित्त कुपित हुन्छ। त्यसैले शरदऋतु (दशैं,तिहार,छठ) भरि सात्म्य आहार जस्तै अन्नमा पित्त प्रशमक, यव, गोधुम, शालि, धृतपान आवश्यक पर्दछ भने औषधमा विरेचन र रक्तमोक्षण आवश्यक पर्दछ। यस अवधिका सात्म्य(हित) विहारमा स्वच्छ वस्त्र धारण, माल्यधारण, सायंकालमा चन्द्रकिरण सेवन आदि क्रियाकलापहरु पर्दछन्।  यस शरद ऋतु भरिका असात्म्य(अहित) आहारमा  वसा,तैल,क्षार, दधि र असात्म्य विहारमा दिवा स्वप्न, पूर्वीवायुको सेवन आदि पर्दछन्।

मांसहारी भोजन र व्यायाम
रातो मासु हुने पशुहरुमा खसी, बोका, भैंसी, राँगा, भेडा ,बाख्रा पर्दछन् भने पन्छीमा हाँस, परेवा आदि पर्दछन्। सेतो मासु हुनेहरुमा माछा र कुखुरा पर्दछन्।मायोग्लोबिनको बढी मात्रा भएकोलाई रातो मासु र कम मात्रा भएकोलाई सेतो मासु भनि वर्गिकरण गरिन्छ।

रातो मासुमा जिंक, फस्फोरस, लिपोइक एसिडको मात्रा बढि हुने हुनाले दैनिक रातो मासु सेवन गर्दा मुटु रोग र क्यान्सर हुने जोखिम १३ प्रतिशतले वृद्धि हुने कुरा अध्ययनले देखाउदछ। त्यसैले शरीरमा युरिकएसिडको मात्रा बढ्ने ,मुटु रक्तनलीमा गएर सम्स्या दिने हुदाँ मासु नखाई नहुने बाध्यकारी अवस्थामा बिकल्पको रुपमा सेतो मासु उपयोग गर्नु स्वास्थ्यका लागि हितकार रहन्छ। सम्भावित रोगहरुबाच बच्न दशैंमा मासु संगसंगै सागपात, फलफूल र रेसादार खानेकुरा समेत खानुपर्दछ।

ताजा एंव झिंगा नभन्किएको मासु मात्र किन्नु पर्दछ र राम्रसँग पकाएर मात्र सेवन गर्नु पर्दछ नत्र फुड पोइजनिन्गं, झाडापखला लाग्ने, ज्वरो आउने जस्ता समस्याहरु देखा पर्न सक्छन्।  हेभि प्रोटिन युक्त खानाहरुलाई पचाउन र शरीरलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्न नियमित व्यायाम आवश्यक पर्दछ।

अन्त्यमा,चाडपर्वका नाममा हुने अस्वस्थकर आहार विहारले आफ्नो स्वास्थ्यलाई बाधा पुग्नुको साथै परिवारमा नैराश्यता उत्पन्न गराई आर्थिक क्षति समेत व्यहोर्नु पर्ने हुन सक्छ। त्यसैले ग्यास्ट्रिक, मोटोना, मधुमेह, मुटुरोग, उच्च रक्तचाप, क्रोनिक किड्नी रोग आदि समस्या भएका रोगी एंव समस्या नै नभएका व्यक्तिहरुले समेत आफ्नो स्वास्थ्यको संवर्धन गर्नका निम्ति दशैंमा मात्र नभएर अरु बेलामा पनि ऋतुचर्या र उचित खानपान शैली अपनाउनु नितान्त आवश्यक छ।

-(अच्युत शाली घिमिरे, चिकित्सा शास्त्र अध्ययन संस्थान, व्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने