जीवनशैली

टीकाको दिन सिनियर दिदीले गल्ती नहुँदा पनि बिरामीको अगाडि गाली गर्नुभयो : नर्स पुष्पा केसी

 

नर्सिङ यस्तो पेसा हो जुन पेसामा दसैं, तिहार, परिवार अन्य चाडबाड भनेर घरमा बस्न पाइदैँन। नर्सको पहिलो प्राथमिकता नै बिरामीको सेवा हो। नर्स भएर काम गर्न सुरु गरेको ३३ वर्ष भइसकेको छ। ३३ वर्षको अनुभवमा कुनै पनि यस्तो दसैंमा परिवारसँग बसेर रमाइलो गरेर मनाउन पाएको छैन।

घरमा आनन्दसँग बस्न त कि आफैँ बिरामी हुनुपर्छ कि त अस्पतालको ड्यूटी मिलाएर पूर्ण रुपमा बिदा नै लिएर बसेको हुनुपर्छ। तर, बिदामा घर बसेको समयमा पनि अस्पतालबाट फोन गरेर बोलाउने गरिन्छ। मोबाइलको घन्टी बज्यो कि अस्पतालबाट बोलावट आयो भन्ने लाग्छ। म पनि त्यही अनुसार सतर्क भएर बसेको हुन्छु।

सुरुमा नर्स भएर अस्पताललमा काम गर्दा हामी जुनियरले नै दसैंको समयमा काम गर्नुपथ्र्यो। ड्यूटी हाम्रो मात्र मिलाइएको हुन्थ्यो। त्यो बेलामा काम सिक्ने समय भएकाले ड्यूटी गर्न निकै रमाइलो लाग्थ्यो। कममा अहिले पनि म रमाइलो नै मान्छु। हामीले कामलाई कहिले पनि बोझ वा दुःखको रुपमा लिनुहुँदैन। सिनियरहरु सँधै दसैंमा बिदा बस्ने अनि हामी जुनियरको मात्र सँधै ड्यूटी पार्ने गर्दा चाँही अलि खल्लो लाग्थ्यो।

घरमा बच्चाहरुले आमासँगै दसैं मनाउन पाए हुने भन्ने आश गरिरहँदा रहेछन्। उनीहरुले रमाइलोसँग दसैं मनाउन पाएका छैनन्। बच्चाहरु साना–साना हुँदा छिटो–छिटो टीका लगाएर बच्चालाई घरमै छोडेर अस्पतालमा ड्यूटी गर्न जानुपथ्र्यो। सुरुसुरुमा त नरमाइलो लाग्थ्यो तर साना केटाकेटीलाई नयाँ कपडा दिएपछि दङ्ग पर्थे। केही समय भुलिन्थे।

तर, अरु साथीहरुले परिवारसँग बसेर दसैं मनाएको देखेपछि उनीहरुलाई पनि मेरो आवश्यकता पथ्र्योँ। तर, म अस्पतालमा हुन्थेँ। घर आएपछि उनीहरुले गुनासो गर्थेँ। घरमा आमाबुबाहरुले नातीनातीनीसँग दसैं मनाउन पाइएन भनेर गुनासो गर्नुहुन्छ। कहिलेकाँहीको दसैंमा श्रीमान र बच्चाबच्चीलाई घर पठाएर आफू यता एक्लै दसैं मनाएको पनि छु।

एक पटकको दसैंमा मेरो छोरी जम्मा ६ महिनाको थिइन्। त्यो बेलाको दसैंमा सासुससुरा दुवै बिरामी परेका कारण श्रीमान् उता घर जानु भएको थियो। यता म बच्चाबच्चीसँग थिएँ। दसैंको दिन बच्चालाई टीका लगाएर मलाई अस्पताल पुग्नु थियो। अनि ६ महिने छोरीको जिम्मा घरका नजिकका आफन्तलाई लगाउनु पनि थियो। सबै काम सकेर हतारहार अस्पताल पुगेँ।

म ठिक मेरो ड्यूटी सुरु हुने समयमा पुगेको थिएँ। तर, अस्पताल भित्र पस्न नपाउँदै मलाई सिनियर दिदीले गाली गर्नुभयो। उहाँले त मलाई यति ढिला आउने भन्दै झर्कीफर्की गर्नुभयो। जबकी म समयमा नै पुगेको थिएँ। तर, उहाँले तिमीले गर्दा मलाई टीका लगाउन जान ढिला भयो भन्दै गाली गर्नुभयो। मेरो कुनै गल्ती नै नहुँदा पनि गाली खाँदा निकै चित्त दुखेको थियो। उहाँले त मलाई सबै बिरामीको अगाडि गाली गर्नुभएको थियो। सिनियर बोलेको बेलामा जुनियर बोल्ने चलन थिएन त्यतीबेला। त्यही भएर चुपचाप सहेर बसेँ। 

तर, पछि त्यो दिदीले मलाई बिनासित्ती गाली गरेकोमा पछुतो मान्नुभयो। त्यही घटनाले गर्दा मेरो श्रीमानसँग पनि झगडा भयो। हुनत त्यस्तो केही थिएन। तर, मैले उहाँलाई अब मलाई छाडेर कहीँ नजानुस। मलाई बच्चा सम्हाल्न र ड्यूटीमा जान समस्या भयो। अस्पतालमा गाली पनि खाएँ भनेर श्रीमान्सँग थोरै झगडा गरेको थिएँ। उहाँले सम्झाउनुभयो। 

दसैंको समयमा मैले निकै दुःख पाएका कारण म मेरा जुनियर बहिनीहरुलाई उनीहरुको आवश्यकता अनुसार नै छुट्टी मिलाइदिएको छु। टाढा जानुपर्नेलाई बिदा दिने नजिक भएकालाई पनि प्राथमिकताका आधारमा ड्यूटी मिलाएको छु। किनकी मेरो जस्तो दुःख अरुले नपाउन भन्ने मेरो चाहना हो। सबै बहिनीहरुले खुसीसँग दसैं मनाउनुपर्छ। 

-(मेडिसिटी अस्पतालमा कार्यरत नर्स पुष्पा केसीसँग सिर्जना खत्रीले गरेको कुराकानी)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने