जीवनशैली

दसैंका दुई घटना : पिङबाट लडेर साथी गुम्यो, कापीको पाना च्यातेर तास खेल्यौँ

 रमेश न्यौपाने

रोग र दुर्घटनाले भनेको बाजा बजाएर आउँदैन। कहिले कतिबेला कसलाई यस्तो समस्या पर्छ थाहानै हुँदैन। त्यसैले स्वास्थ्यकर्मीहरु हरदम तयार अवस्थामा बस्नु पर्ने हुन्छ। 

स्वास्थ्यकर्मीले आज चाडबाड हो बिदा बस्छु भनेर घरमा बस्न मिल्दैन। बिदामा नै बसेको छ भने पनि अस्पतालबाट फोन आएपछि दौडिएर पुग्नुपर्छ। २४ घन्टामा जुनसुकै बेलामा पनि आकस्मिक अवस्था आउनसक्छ। त्यस्तो बेलामा काममा जान तयार हुनुपर्छ।

स्वास्थ्यकर्मीले चाडबाड त हो भनेर अस्पताल बन्द गरेर पनि बस्न मिल्दैन। सामान्यतया दसैंमा बिरामीको चाप कम हुन्छ। त्यही भएर स्वास्थ्यकर्मीलाई पालो मिलाएर बिदा दिइएको हुन्छ। तर, दसैंको समयमा भने अरु समयमा भन्दा बढी दुर्घटना हुन्छ र आकस्मिक अवस्थामा ल्याउनुपर्ने हुन्छ। 

स्वास्थ्यकर्मीका रुपमा काम गर्न थालेको १२ वर्षको अवधिमा ४÷५ वर्षको दसैं मात्र परिवारसँग बसेर मनाएको छु। 

००
दसैंको रमाइलो सानो बेलामा नै बढी हुन्छ। सानो बेलाको दसैं कहिले पनि भुल्न सकिँदैन। दसैं आउन लाग्दा गाउँमा सहर तथा लाहुरबाट मानिसहरु आउँथे। खुब रमाइलो हुन्थ्यो। दसैंमा टोल टोलमा पिङ हुन्थ्यो। गाउँका साथीहरु मिलेर पिङ खेल्थ्यौँ। 

तर, दसैंको समयको एउटा दुखद घटना छ। जुन घटना म कहिले पनि भुल्न सक्दिनँ। हामी १०÷११ वर्षको हुँदाको कुरा हो। हामी साथीहरु मिलेर पिङ खेलिरहेका थियौँ। अचनाक उक जना साथी पिङबाट लड्यो र गहिरो चोट लाग्यो। हामी सबै आत्तियौँ। मिल्ने साथी पिङबाट लडेपछि हामी सबै डराइरहेका थियौँ। 

हाम्रो घर सिन्धुली हो। त्यतीबेला त्यहाँ नजिकै अस्पताल पनि थिएन। साथीको आफन्तहरु र अरु सहयोगी मिलेर उसलाई उपचारका लागि काठमाडौं लगियो। तर, दुःखको कुरा उपचारका लागि काठमाडौं ल्याउँदा ल्याउँदै त्यो साथीको बाटोमा नै मृत्यु भयो। त्यो दिनदेखि मलाई पिङ खेल्न डर लाग्छ। दसैं आयो कि त्यही घटना आँखा अगाडि आउँछ।

००
दसैंको समयमा सम्झिरहने अर्को घटना मकै बारीमा तास खेलेको छ। दसैंको समयमा अरु ठूला मानिसहरु तास खेलेको देखेपछि हामीलाई पनि खेल्न मान लाग्थ्यो। तर, हामीलाई पसलेले समेत तास किन्न खोज्दा पनि बेच्दैनथ्यो। अनि घरमा पनि आमा बुबुबाले तास खेलेको थाहाँ पाउनु भयो भने गाली गर्नुहुन्थ्यो। त्यसैले हामी साथीहरु सबै जम्मा भएर कापीका पाना च्यातेर मकै बारीमा गएर तास खेलेका थियौँ। अहिले त हामी साथीहरु सबै आ–आफ्नो ठाँउमा व्यस्त छौं। 

००
सानो बेलामा दसैंको समयमा नयाँ लुगा लगाउन पाइन्थ्यो। त्यही भएर पनि दसैं आयो कि असाध्यै खुसी लाग्थ्यो। घरमा पनि घटस्थापनादेखि चहलपहल हुन्थ्यो। घरलाई पनि सिंगारेर चिटिक्कको बनाइन्थ्यो। तर, आजकाल अस्पतालको ड्यूटीले त्यती फुर्सद हुन्न।

एक पटकको दसैंमा तीन दिनको बिदा लिएर गाउँमा गएको थिए। तर, आकस्मिक पर्यो भनेर अस्पतालमा बोलावट भयो। त्यसपछि हतार हतार टीका लगाएर काठमाडौं फर्किएँ। त्यही वर्षदेखि दसैंमा घर जान मन लाग्दैन। बरु तिहारमा भने बिदा लिएर बस्छु। तिहारमा बिदा लिने अरु साथी निकै कम हुन्छ। अस्पतालमा जनशक्ति पनि पर्याप्त हुन्छ। 

-(मेडिसिटी अस्पतालमा कार्यरत इमरजेन्सी मेडिकल टेक्नीसियन रमेश न्यौपानेसँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने