डक्टर्स आर्टिकल

पेट र आन्द्रा सफा गर्ने घरायसी विधि

 डा. विनोद घिमिरे

सामाजिक, आर्थिक, संस्कृतिक, धार्मिक तथा आध्यात्मिक हिसाबले दसैँको ठूलो महत्व रहिआएको छ। वातावरणीय दृष्टिकोणले पनि दसैंको समयलाई उपयुक्त मान्न सकिन्छ। वर्षात् सकिएपछि र जाडो आउनुभन्दा पहिलेको उमंगमय समयमा पर्छ दसैं। खेतीपातीबाट पनि फुर्सद हुने भएकोले दसैँ निकै उल्लासका साथ मनाउने गरिन्छ।

उमंगको चाड हुँदाहुँदै पनि आहार–बिहारमा ध्यान दिन सकिएन भने दसैँ दशामा परिणत हुन पनि सक्छ। खानपिनको चाड पनि भएकोले अरु समयमा भन्दा दसैँमा खानपिन बढी गर्ने चलन छ। र, दसैँमा स्वास्थ्यकर आहार–बिहारमा त्यति ध्यान नदिएको पाइन्छ।

दसैँमा मात्र होइन, अन्य समयमा पनि अस्वस्थकर आहार–बिहारले गर्दा धेरै मानिसहरु नसर्ने रोगबाट पीडित हुँदैगएका छन्। सामाजिक तथा आर्थिक परिवर्तनसँगै अहिले जीवनशैलीजन्य रोग निकै बढेको छ।

दसैँ मनाउने क्रममा यस्ता रोगहरु सकेसम्म लाग्नै नदिनु नै उचित हुन्छ। यदि  रोग लगिसकेको छ भने पनि उचित आहार–बिहार गरेमा नियन्त्रण गर्न सकिन्छ। पूर्वीय विधामा आधारित आयुर्वेद शास्त्रले निश्चित ऋतु तथा समयअनुसार गर्नुपर्ने आहार–बिहारको प्रशस्त विश्लेषण गरेको पाइन्छ। जुन अहिलेको समयमा निकै उपयोगी छ। हामीमा वातावरणको प्रत्यक्ष प्रभाव रहन्छ। त्यसैले वातावरणीय प्रभाव तथा मौसमअनुसार आहार–बिहार गर्नुपर्दछ।

आयुर्वेदका अनुसार दसैँ शरद ऋतुमा पर्दछ। यो समयमा वर्षात् सकिएपछि बादलले छेकिएका सूर्यका किरणको प्रभाव बढेर वर्षात्मा संचित भएको पित्तको प्रकोप भई शरीरमा पोल्ने, मुखमा अमिलो पानी आउने, अम्लपित्त बढ्ने, पेट फुल्ने, कब्जियत हुने, बढी रिस उठ्ने  हुन्छ। 

यस्तो अवस्थामा धेरै पिरो, अमिलो, चिल्लो आहार खानु हुँदैन। साथै नियमित चिसोपानीले नुहाउने तथा तितो, टर्रो र गुलियो चिजहरु रोगको अवस्थाअनुसार खानु पर्दछ।

गर्मी र जाडोबीचको समय भएकाले दसैँको बेलामा शरीरमा धेरै रासायनिक तथा मानसिक परिवर्तन हुन्छन्। त्यसैले यो समयमा शरीरलाई शुद्ध पार्ने तथा मनलाई शान्त पार्ने विधिहरुको प्रयोग गर्नु उपयुक्त मानिन्छ।

दसैँको समयमा योगमा वर्णन गरिएका विधिहरु जस्तै वमन धौती (नुनपानी खाई पेट सफा गर्ने), शंख प्रक्षालन ( नुनपानी खाई पखाला लगाई सम्पूर्ण पेट र आन्द्रा सफा गर्ने) गर्नु पर्दछ।

यसबाट शरीरको शोधन हुनुका साथै मन शान्त भई जीवनमा उच्चतम लाभ शान्ति मिल्दछ। दसैँको समापनसँगै आयुर्वेदमा वर्णित शुद्धीकरण विधि जस्तै बिरेचन (औषधि खुवाई पखाला लगाउने विधि), चन्दन, नरिवल, निम जस्ता वनस्पतियुक्त तेल वा घ्यूले मालिस गर्नु उपयुक्त हुन्छ।

स्वस्थ्यकर आहार–बिहार
    तातोपानी प्रशस्त मात्रामा पटकपटक पिउने
    पेट धेरै भरिनेगरी खानेकुरा नखाने
    बोतल तथा बट्टामा भरिएका पेयपदार्थ जस्तै कोक, फ्यान्टा आदि नपिउने  
    धेरै चिल्लो तथा तारेका, भुटेका खानेकुरा नखाने
    रातो मासुको कम सेवन गर्ने
    पूजा गर्ने क्रममा धेरै लामो समय भोकै नबस्ने
    नियमित व्यायाम गर्ने
    बजारबाट प्राप्त खानेकुराभन्दा आफ्नै घरमा बनाएको खाना खाने
    जाँडरक्सीको सेवन नगर्ने
    नियमित योग अभ्यास गर्ने 
    रातभर जाग्राम बसेर जुवातास नखेल्ने 
    तरकारी तथा फलफूल प्रशस्त मात्रामा खाने
    निम, घ्यूकुमारी, अंगुर, धनियाँ, दुध जस्ता पदार्थको सेवन गर्ने
    शितल खानेकुरा खाने
    धेरै चिया तथा कफी नखाने

दसैँलाई उत्सवमय बनाउने क्रममा गरिने अस्वस्थकर आहार–बिहारले स्वास्थ्यमा  नकारात्मक प्रभाव पार्दछ र त्यसैले दसैँ मनाउँदा स्वास्थ्यकर आहार–बिहार अपनाउनु पर्दछ ।
दसैँ सबैका लागि उमंग, प्रेम र आनन्दको अनुभूत गर्ने विशिष्ट समय होस् भन्ने कामनाका साथ सबैको आरोग्यको शुभकामना ।

(डा घिमिरे योग तथा पुनःस्थापना विशेषज्ञ हुन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Jiblal ghimire लेख्नुहुन्छ कात्तिक ३, २०७५ शनिवार १२:२८:१४
Ramro xa vai

यसमा तपाइको मत




पढ्नै पर्ने