काठमाडौं– दसैंको सबैभन्दा महत्वपूर्ण दिन दसमीमा टीका लगाउने दिन सकिसकेको छ। तर, त्यसपछि पनि पूर्णीमाको दिनसम्म टीका लगाउने चलन भने छ। नेपाली हिन्दुको सबैभन्दा ठूलो चाड दसैं दसैभर मनाइँदै छ।
यही सेरोफेरोमा स्वास्थ्यखबरले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले दसैं कसरी मनाए भन्ने विषयमा जिज्ञासा राखेका थियौँ। स्वास्थ्यमन्त्री यादवको प्रेस सल्लाहाकार महेश चौरसियाले दिएको जानकारी अनुसार मन्त्री यादवले यो पटकको दसैं अध्ययनमा नै बढी बिताएका छन्।
‘मन्त्री यादवले दसैंको यो विदामा विभिन्न राजनीतिक, सामाजिक तथा अन्य केही पुस्तक पढेर नै बिताउनुभयो,’ चौरसियाले भने, ‘अध्ययनसँगै उहाँले केही समान्य भेटघाट र आरामलाई पनि प्राथमिकता दिनभएको छ।’
अध्ययनका क्रममा मन्त्री यादवले विभिन्न महत्वपूर्ण बुँदा, भनाई त कुराहरु डायरीमा समेत टिपेर राखेको चौरसियाले जानकारी दिए। ‘अध्ययनका क्रममा उहाँ सधैं डायरी राखेर पढ्न थाल्नुहुन्छ र केही महत्वपूर्ण कुरा छ भने डायरीमा राखिहाल्नुहुन्छ। यसपटक पनि त्यस्तै भयो’ चौरसियाले भने।
चौरसियाका अनुसार मन्त्री यादवको घर परिवार तथा टोलमा दसैंको समयमा पहाडमा जस्तै जमारा राख्ने, टीका लगाउने चलन छैन। तर, यो अवधिमा उनकी श्रीमतीले भने नवरात्रीको ९ दिन नै व्रत बसेकी छिन्।
‘जमरा राख्ने र टीका लगाउने चलन नभएका कारण उहाँले यो पटकको दसैं अध्ययन र आरामलाई नै बढी जोड दिनुभयो,’ चौरसियाले भने। एनका अनुसार यो बीचमा मन्त्री यादवले स्वास्थ्य मन्त्रालयका केही महत्वपूर्ण नीति, कानुन तथा फाइलहरुको समेत अध्ययन गरेका छन्।