टिप्स/जानकारी

बालबालिकामा कसरी उत्पन्न हुन्छ मानसिक समस्या?

 करुणा कुँवर, वरिष्ठ मनोविद्

बाल अवस्थामा पनि मानसिक समस्या वा रोग हुन्छ भन्ने धेरैजसो मानिसलाई थाहा नै हुँदैन। तर, युवावस्था तथा त्यो भन्दा बढी उमेरका व्यक्तिमा जति प्रकारको मानसिक रोग हुन्छ, त्यति प्रकारको मानसिक रोग बच्चाहरुमा पनि हुने गर्छ। 

मानिसलाई जन्मिनेबित्तिकैदेखि तनाव सुरु हुन्छ। बच्चा जन्मिसकेपछि उसको ध्यान आमाले दूध खुवाउँछिन्, खुवाउँदिनन् भन्नेमा हुन्छ। आमाले दूध दिइनन् भने बच्चालाई त्यही बेलादेखि तनाव सुरु हुन्छ। त्यस्तो बेलामा बच्चाले आफ्नो तनावलाई चिच्याएर, रोयर वा यस्तै प्रकारका अन्य क्रियाकलाप गरेर निकाल्ने गर्छ।  

बच्चाको उमेरसँगै तनाव पनि बढ्दै गएको हुन्छ। घरभित्र वा बाहिर, घरपरिवारको वा साथीभाइसँगको तनावलाई बच्चाले आफ्नै तरिकाले बुझ्ने गर्छ। स्कुलमा वा घरपरिवारमा तनावजन्य वातावरण छ भने बच्चामा चिन्ता, उदासीलगायतको समस्या देखिन्छ। 

बच्चाहरु चिन्तित छन् भने विद्यालय जान मन नपराउने, पेट दुख्ने, पखला भइरहने, रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने, खान मन नगर्ने, राति तर्सिएर उठ्ने, डराउने, दुःखी भएर बस्ने, साथीसँग खेल्न मन नपराउने, सुत्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन्।  यस्तो समस्या तीन÷चार वर्षको बच्चामा पनि देखिनसक्छ भने १५/१६ वर्षको बच्चामा पनि देखिनसक्छ। बच्चामा यस्ता खालका लक्षणहरु देखापर्‍यो भने आमाबुबाले अनुशासन र राम्रो संस्कार दिन नसकेर यस्तो समस्या देखिएको भन्ने हाम्रो समाजको बुझाइ छ। 

समयमा नै यस्ता समस्यालाई ध्यान नपुर्‍याएमा बच्चाहरुमा कडा खालका मानसिक रोगहरु पनि देखिने खतरा रहन्छ। ९/१० वर्षकै उमेरमा बच्चाहरुमा कडाखालका मानसिक समस्या (साइकोसिस) पनि देखिनसक्छ।

नेपालमा बालबालिकामा मास हिस्टेरिया भनेर चिनिने मास कन्भरजन डिसअर्डरको समस्या देखिने गरेको छ। यो समस्या एकैपटक धेरै बालबालिका विशेषगरी बालिकामा देखिने गर्छ। समूहमा मात्र नभई एकल बच्चामा पनि यो समस्या देखिन्छ। यो तनावसँग जोडिएको हुन्छ। तनावले गर्दा यस्ता खालका लक्षणहरु देखिइरहने हुनसक्छ। समयमा नै तनावबाट मुक्त बनाइएन भने यसले बच्चामा डिप्रेसन पनि गराउन सक्छ।

अहिले साना केटा–केटीले पनि आत्महत्या गरेको खबर आइरहेको छ। यो उमेरका बालबालिकाले चिन्ता र तनावले गर्दा आत्महत्या गरिरहेका हुन्छन् तर अभिभावकले यो कुरा बुझिरहेका हुँदैनन्। कहिलेकाहीं ६ देखि १० कक्षामा पढ्ने विद्यार्थीले लगातार रुपमा आत्महत्या गरेको सुन्ने गरिन्छ। त्यतिबेला अभिभावकले त्यो ठाउँमा भूतप्रेत छ भनेर वास्ता गर्दैनन्। त्यसैले यस्ता घटनाहरु बढ्ने सम्भावना हुन्छ। यस्ता खालका घटना बालबालिकामा हुने मानसिक रोगका कारण भइरहेको छ भन्ने बुझ्नु पर्छ। 

संयुक्त राष्ट्रसंघले ‘हामीले केटाकेटीलाई सुनौं, बालबालिकाको कुरा सुनौं र बुझौं’ भन्ने एउटा नारा नै निकालेको छ। उनीहरुको कुरा राम्ररी सुन्ने, उनीहरुसँग बसिदिने गर्नाले पनि बच्चाहरुको मानसिक समस्या कम हुँदै जान्छ। 

कतिपय अवस्थामा बालबालिकाका आवश्यकता सामान्य हुन्छन्। तर, त्यो कुरा विद्यालय वा घरले बुझिरहेको हुँदैन। जसले बुझेर आवश्यकता पूरा गर्छ बच्चाहरुको समस्या पनि समाधान भएर जान्छ। बच्चाहरुमा जहिले पनि आफ्ना कुरा ठूला मानिसले सुनिदिउन्, बुझिदिउन् भन्ने भावना हुन्छ। स्कुलले यस्ता कुराहरु बुझ्न जरुरी छ।

१०-११ वर्षपछि टिनएज प्रवेशको समयमा उनीहरुको मनमा विभिन्न शरीरिक परिवर्तनसँगसँगै मानसिक परिवर्तन आउने गर्छ। शारीरिक परिवर्तनसँगै बालबालिकाको मानसिक अवस्थामा परिवर्तन आउँछ। त्यो बेलामा भावनात्मक परिवर्तन, इरिटेसन, रिस जस्ता थुप्रै समस्या आएका हुन्छन्। यो समयमा उनीहरुलाई सम्झाउने, बुझाउने गर्नु आवश्यक हुन्छ।

टिनएजमा पुगेको समयमा साथी बनाउने, विपरीत लिङ्गीसँग आकर्षण बढ्ने हुन सक्छ। त्यस्ता शारीरिक विकासमा आउने परिवर्तनलाई अभिभावक र शिक्षकहरुले बच्चाको कुरा सुन्नु र बुझ्नु पर्छ। यदि त्यही समयमा उनीहरुलाई दवाव सिर्जना हुने काम गरियो र लान्छाना लगाउने गरियो भने उनीहरु अझ बढी तनाव लिने गर्छन्। त्यसले गर्दा डिप्रेसनमा जाने र आत्महत्यासम्म गर्ने समस्या आउन सक्छन्। 

घरपरिवारमा हुने तनाव, चिन्ता, झैझगडा, हिंसा या दुव्र्यवहारले बच्चामा डिप्रेसन निम्त्याउने गर्छ। अहिले बालबालिकामा बलात्कारका धेरै घटना बाहिर आएका छन्। त्यस्तो अवस्थाबाट गुज्रिएका बच्चामा पनि डिप्रेसनकोे समस्या देखिन सक्छ।

बच्चाको उमेर महत्वपूर्ण हुन्छ। बच्चाले जति कुरा सिक्छन् त्यो किताबका साथसाथै अभिभावक तथा शिक्षकबाट सिक्ने गर्छन्। यदि कसैले बच्चासँग कुरा गरिरहेको छ भने त्यो बच्चाले के सिकिरहेको छ भन्ने विषयमा ध्यान दिनुपर्छ।  

अभिभावक तथा शिक्षकले बच्चाहरु के गर्दैछन् हेर्ने र उनीहरुका कुरा सुन्ने गर्नुपर्छ। बालबालिकालाई ठूला मान्छेसरह व्यवहार गर्नुपर्छ। उनीहरुलाई सम्मानको अनुभुति हुनु आवश्यक छ, बालबालिकाको प्रशंसा गर्नुपर्छ। उनीहरु स्कुल वा घरका महत्वपूर्ण सदस्य हुन् भन्ने बुझाउन जरुरी हुन्छ। 

बालबालिकालाई नबुझ्दा, नसुन्दा सानै उमेरदेखि तनाव सुरु हुन्छ। कति अभिभावकले बालबच्चालाई नबुझ्दा उनीहरु यौन दुरुपयोगसम्म गर्न पुग्छन्। त्यसैले बच्चालाई यौन शिक्षाको बारेमा जानकारी गराउनुपर्छ। यति गर्न सकेमा धेरै सुधार हुन्छ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने