काठमाडौं– प्रदेश १ सरकारले कर्मचारीलाई तह घटाएर काममा खटाएको पाइएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयले साविक जिल्ला जनस्वास्थ्य कार्यालय संखुवासभामा नेपाल स्वास्थ्य सेवा सातौं तहअन्तर्गत जनस्वास्थ्य निर्देशकमा कार्यरत दिलिप कुमार श्रेष्ठलाई तह घटाएर काममा जना निर्देशन दिएको हो।
गत असोज २९ गते बसेको प्रदेशको प्रमुख सचिवस्तरीय बैठकले श्रेष्ठलाई तेह्रथुमको स्वास्थ्य कार्यालयमा नेपाल स्वास्थ्य सेवा ५/६औं तहमा स्वास्थ्य सहायक वा सो सरह रही काजमा खटिन निर्देशन दिएको छ। निर्देशनमा अर्को व्यवस्था नभएसम्म खटाइएकै निकायबाट तलब भत्ता भुक्तानी हुने उल्लेख छ।
नेपाल सरकारको निर्णयअनुसार तह घटाएर कर्मचारी समायोजन तथा सरुवा गर्न पाइँदैन। तर, केन्द्रीय मन्त्रिपरिषद्को निर्णयलाई लत्याउँदै प्रदेश १ ले कर्मचारी समायोजन गरेको हो।
यसैगरी, प्रदेश १ सरकारले ओखलढुंगा र मोरङमा पनि कर्मचारीलाई तह घटाएर काममा खटिन निर्देशन दिएको पाइएको छ।
प्रदेश १ का कायममुकायम प्रमुख सचिव केदार न्यौपानेले भने तह घटुवा गरेर कर्मचारी समायोजन नगरिएको दाबी गरे। उनले प्रदेश सरकारले केन्द्रीय मन्त्रिपरिषद्को निर्णय बमोजिम नै कर्मचारी समायोजन गरेको बताए। भने, ‘प्रदेश सरकारले केन्द्र सरकारको निर्णय कार्यान्वयन नगरी अटेरी गरेको भन्न मिल्दैन। निर्देशनका हकमा केही कमीकमजोरी भएको हुनसक्छ। त्यसलाई सच्याएर लगिने छ।’
प्रमुख सचिव न्यौपानेले तह मिलान पछि मात्रै कर्मचारीलाई सो क्षेत्रमा खटाइने पनि स्पष्ट पारे। ‘तह घटुवा हुनेगरी कर्मचारी खटाइएको छैन। त्यस्तो अवस्था सच्याएपछि मात्रै कर्मचारीलाई काजमा खटाइने छ।’
मन्त्रालयकाे निर्देशन: