टिप्स/जानकारी

धेरैलाई सताउने पाइल्स, फिस्टुला र फिसर के हो?

 डा सर्वेश्वर सौरभ

पाइल्स, फिस्टुला र फिसर यी रोगहरुसँग प्रायः मानिसहरु परिचित हुन्छन्। किनकि धेरै मान्छेले आफू स्वयं, परिवारका सदस्य, साथीभाइ वा छर–छिमेकमा कोही न कोही यो रोगबाट आक्रान्त भएको देखेकै हुन्छन्। अझ सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थित जीवनशैलीले यो रोग बढ्दो छ।

यी तीनवटै रोग मलद्वारसम्बन्धी रोग हुन्। हुन त धेरै मानिस यी सबैलाई पाइल्स भन्दै झुक्किरहेका पनि हुन्छन्। तर यी तीन रोगमा  भिन्नता छ। आयुर्वेदमा पाइल्स वा हेमोरहोइडलाई अर्स, फिस्टुला–इन–एनोलाई भंगन्दर र फिसर–इन–एनोलाई परिकर्तिका भनिन्छ।

विभिन्न कारणले यी रोग हुने भए तापनि कब्जियत अर्थात् दिसा कडा हुनु नै यसका मुख्य कारण हुन्। रोग बल्झिने र निको नहुने कारण पनि यही हो। आम मानिसमा यी रोगसम्बन्धी व्यापक भ्रम, डर र जानकारीको कमी देखिन्छ। मानिसहरुले मलद्वारमा केही पनि समस्या हुँदा पाइल्स, क्यान्सर भयो भन्दै अस्पताल धाउँदै गरेका भेटिन्छन्।

मलद्वारभित्र र वरिपरि रक्तसिराहरु हुन्छन्। यी रक्तसिराहरु सुन्निने, मासु पलाएझैं ठूलो हुने समस्यालाई अर्स अर्थात् पाइल्स भनिन्छ। यो भित्री र बाहिरी गरी दुई प्रकारको हुन्छ। मलद्वारभित्र हुने अर्समा दिसा कडा हुँदा घाउ भई दुखाइरहित मलद्वारबाट रगत जाने हुन्छ। ठूलो हुदै जाँदा दिसा बस्दा त्यो मासु बाहिर आउने, सुरुसुरुमा आफैं भित्र जाने, पछिपछि औंलाले धकेल्नुपर्ने वा बाहिर नै बसीराख्ने पनि हुन्छ। बाहिरी अर्स÷पाइल्स भने मलद्वार वरिपरिका सिराहरु सुन्निएर हुने गर्दछ।

भगन्दर अर्थात् फिस्टुला–इन–एनो भनेको दुई मुख भएको बाटो जस्तो हो, जसको भित्री मुख मलद्वार भित्र वा पक्वासयमा हुन्छ भने बाहिरी मुख मलद्वारको बाहिरी भागमा हुन्छ। पटकपटक संक्रमण भई बाहिरी मुखबाट पिप, रगत, दिसा आदि आउने हुन्छ। संक्रमण हुँदा अत्यन्त कष्टकर हुने र पिप निस्किसकेपछि केही दिन आराम हुने हुन्छ। तर पछि फेरि संक्रमण भई यो प्रक्रिया लगातार चलिरहने हुन्छ।

परिकर्तिका अर्थात् फिसर–इन–एनो भनेको दिसा कडा भई निस्किँदा मलद्वारको छाला च्यातिनु हो। यसमा अत्यन्त पीडा हुनुका साथै जलन, चिलाउने, दिसामा धर्को जस्तो रगत देखिने हुन्छ। यस्तो धेरै लामो समयसम्म भइरहँदा त्यहाँ मासु पनि पलाउने हुन्छ, जसलाई सेंटिनल टैग भनिन्छ।

लेखक डा सर्वेश्वर सौरभ

नेपालको मौलिक चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेद चिकित्सामा यी रोगहरुको अत्यन्त प्रभावकारी, सरल, सस्तो, भरपर्दो र उपद्रवरहित उपचार उपलब्ध छ। पेट सफा राख्ने, दिसा नरम, खुलस्त र नियमित बनाउने जड़ीबुटीयुक्त औषधिहरु एकदम प्रभावकारी र दुष्प्रभाव (साइडइफेक्ट) रहित छन्।

त्यस्तै स्नेहन, स्वेदन, लेप, विरेचन, वस्ति, घृत, लेप आदिको पनि प्रयोग गरिन्छ। आवश्यक परे शस्त्र कर्मअन्तर्गत क्षारसूत्र विधिको प्रयोग अर्स, भंगन्दर र परिकर्तिकाको सेंटिनल टैगमा गरिन्छ। रोगीलाई पूरै बेहोस गर्नु नपर्ने, घाउ कम हुने, कम दिन अस्पताल भर्ना भई बस्नुपर्ने, कम समयसम्म औषधि खानुपर्ने, फेरि बल्झिने वा रोग पुनः हुने अवस्था अत्यन्त न्यून हुने भएकाले आजकल यो विधि एकदम प्रचलित छ। 

स्वस्थ मानिसलाई स्वस्थ राख्ने र रोगीको रोग समन गर्ने यी दुई मुख्य उद्देश्य रहेको आयुर्वेदमा हरेक रोगको उपचारमा कारण परित्याग प्रथम चिकित्सा सूत्र विधान रहेको छ। तसर्थ रोगको मुख्य कारणका रुपमा रहेको कब्जियत हटाउने उपाय गर्नुका साथै मलद्वारको सरसफाइमा विशेष ध्यानदिनु पर्छ।

विशेषगरी माछा, मासु, अण्डा, जाँडरक्सी, चुरोट, मर मसला, गुरु भोजनको अत्यधिक सेवनका कारण कब्जियत हुन सक्छ। त्यसैले कब्जियत गराउने यी खानेकुराका साथै मरिच, अदुवा, खुर्सानी, चिल्लो पिरो, मैदा परिकारहरु जस्तै मम, चाउमिन, बिस्कुट, दही, केरा, पिंडालु, अनार, चिउरा, कालो दाल, सुपारी, पान, बाहिरी खानेकुरा, तैलीय पदार्थ, चिसो पेय पदार्थ, चिया कफी आदिको सेवन नगर्ने वा गर्नै परे एकदम कम मात्रामा गर्नुपर्छ।

त्यस्तै प्रशस्त पानी, झोलपदार्थ, हरियो सागपात, सलाद (काँक्रो, मुला, गाजर आदि), आटाको रोटी, रहर, मुँगको दाल, तररहित दूध, फलफूल आदि सेवन गर्नुपर्छ। कदाचित कब्जियत भइहाले त्रिफला चूर्ण, पंचसकार चूर्ण, त्रिवृत्त चूर्ण, अभयारिस्ट आदि औषधिको प्रयोग अल्प समयसम्म गर्न सकिन्छ। केही समस्या भए चिकित्सकलाई देखाई अरु औषधि–उपचार गराउनुपर्छ। 

(लेखक त्रिभुवन विश्वविद्यालय, आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा इन्टर्न डाक्टरका रुपमा कार्यरत छन्)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

babu krishna maharjan लेख्नुहुन्छ कात्तिक ९, २०७५ शुक्रवार ०६:२१:३०
At I nai saral ra upayogi lekh

यसमा तपाइको मत




पढ्नै पर्ने