फिचर

सम्भव छ भरतपुर मेडिकल सिटी ?

 प्रवीण ढकाल\बुनु थारू

सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, प्रदेश ३ का मुख्यमन्त्री पौडेल र भरतपुर महानगरपालिकाकी मेयर दाहालले भरतपुरलाई मेडिकल सिटी बनाउने विषयमा धारणा सार्वजनिक गरेपछि स्वास्थ्य खबरपत्रिकाले भरतपुरको स्थलगत अध्ययन गरेको थियो। 

हालसम्म मेडिकल सिटीको आधिकारिक परिभाषा कसैले पनि गरेको छैन । तर, सामान्यतः मेडिकल सिटी भन्नाले त्यस्तो क्षेत्रलाई बुझिन्छ, जहाँ बिरामीको उपचारका सबै सुविधा उपलब्ध हुन्छन् । मेडिकल सिटीमा पुगेका कोही पनि बिरामी उपचारका लागि अन्य क्षेत्रमा रेफर हुनुपर्दैन। 

मेडिकल सिटीको विषयमा बहस बाहिर आएपछि स्वास्थ्यखबरले यही परिभाषाअनुसार नै भरतपुरमा स्थलगत अध्ययन गरेको हो । अध्ययनका क्रममा भरतपुरमा करिब ५ किलोमिटरको परिधिभित्र दुईवटा ठूला सरकारी अस्पताल, दुईवटा मेडिकल कलेज र साना–ठूला गरी ३० वटा निजी अस्पताल रहेको पाइयो। 

सरकारी अस्पतालमा क्यान्सरको मात्र उपचार हुने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र काठमाडौं, थापाथलीमा रहेको प्रसूति गृहपछि नेपालमै धेरै गर्भवती र सुत्केरीको उपचार गर्ने भरतपुर अस्पताल भरतपुरमै छन् । ६ सय शय्याको भरतपुर अस्पताल, ४ सय ५० शय्याको क्यान्सर अस्पताल र दुई मेडिकल कलेज स्कुल अफ मेडिकल साइन्सेस भरतपुर र चितवन मेडिकल कलेजको गरी १५ सय र निजी अस्पतालको १ हजार ५ सय हाराहारीको शय्या गरी करिब ४ हजार शय्या भरतपुरमा रहेका छन्।

स्वास्थ्य खबरपत्रिकाको टोलीले साउनको पहिलो र दोस्रो सातामा मेडिकल सिटीका रुपमा चर्चामा आएको भरतपुरका सबै स्वास्थ्य संस्थामा पुगेर स्थलगत अध्ययन गरेको थियो। 

चितवनको नारायणगढस्थित पुल्चोकबजारबाट पूर्व–पश्चिम राजमार्गहुँदै पूर्वतर्फ अगाडि बढ्दा करिब डेढ किलोमिटरको दूरीमा दाहिनेतर्फ सानो बाटो छ । उक्त सडकबाट २० मिटरजति भित्र छिरेपछि पुगिन्छ, अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर । ५० शय्याको उक्त अस्पताल चारतले क्रिम रङको छ । आवासका लागि बनाइएको भवनमा अस्पताल चलाइएका कारण उपचार गर्ने कोठाहरु भने साँघुरा र बिरामीमैत्री छैनन् । हामी अस्पतालमा पुग्दा धेरैजसो दुर्घटना र हाडजोर्नीका बिरामी उपचारका लागि पुगिसकेका थिए।

उक्त अस्पतालबाट बाहिर निस्केर पुनः पूर्वतर्फ लाग्दा करिब एक मिनेटको पैदल यात्रामा नै दायाँतर्फ भेटिन्छ, निको चिल्ड्रेन्स हस्पिटल प्रालि । उक्त अस्पताल चितवनमा नै बालबालिकालाई विशेषज्ञ सेवा दिने उद्देश्यले खोलिएको पहिलो अस्पताल हो । पाँचतले भवनमा रहेको उक्त अस्पतालमा दैनिक एक सय हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेको अस्पतालका अध्यक्ष डा. रविन बानियाँले जानकारी दिए । अस्पतालले नवजात शिशुलाई सघन उपचार सेवा दिन नवजात सघन उपचार कक्ष, सघन उपचार कक्ष, बालमैत्री वार्डहरु बनाएको छ। 

उपचारमा आउने बालबालिका उपचार कक्षमा रमाउन सकून् भनेर उनीहरुलाई आकर्षण गर्ने कक्षाहरु बनाइएको बानियाँले बताए। 

उक्त अस्पतालबाट ठिक अगाडि राजमार्गपारि छ, चितवन मेडिकल कलेजको शिक्षण अस्पताल । पर्याप्त भौतिक पूर्वाधार र खुला स्थान भएको उक्त अस्पतालमा बिरामीको चाप अत्यधिक हुने गर्छ । ७ सय ५० शय्याको उक्त शिक्षण अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि बिरामीको सहजतालाई ख्याल गर्दै पैसा तिर्ने तथा टिकट काट्ने काउन्टर थप्ने काम भइरहेको थियो।

अस्पतालका लागि नै भनेर बनाइएको भवनमा ठूला र फराकिला बिरामीमैत्री कोठा र खुला स्थान छन् । राजमार्गबाट नै ठूलो र भव्य अस्पताल भवन सजिलै चिन्न सकिन्छ । दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए। 

चितवन मेडिकल कलेजबाट करिब ५ सय मिटर अगाडि पूर्वतर्फ लागेपछि चौबीसकोठी चोक पुगिन्छ । उक्त चोकमा नपुग्दै २० मिटर अगाडि नै दायाँतर्फ भेटिन्छ अर्को निजी अस्पताल, पुष्पाञ्जली अस्पताल। 

पुरानो तीनवटा भवनमा सञ्चालित अस्पतालमा दैनिक एक सय बिरामी उपचारका लागि ओपिडीमा आउने गरेको अस्पतालको तथ्यांकबाट देखिएको छ । ७ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा आइसियूका लागि छुट्टै भवन नै छुट्टाइएको छ । आइसियूमा रहेका बिरामीलाई विशेष उपचार र हेरचाह गर्नुपर्ने भएकाले अलग्गै भवनमा राखिएको अस्पतालमा कार्यरत डा. भोजराज अधिकारीले जानकारी दिए । 

चौबीसकोठीमा २४ अस्पताल 
पुष्पाञ्जली अस्पतालबाट अगाडि बढेलगत्तै पुगिन्छ, चौबिसकोठी चोक । यो चोकबाट करिब एक किलोमिटर परिधिभित्र नै छन् साना–ठूला गरी २४ वटा अस्पताल । सबैभन्दा धेरै अस्पताल चोकबाट उत्तरतर्फको सडकमा रहेका छन् । चौबीसकोठी चोकबाट उत्तरतर्फको ५ सय मिटरको क्षेत्रफलमा घरैपिच्छे अस्पताल छन् । एक घर, एक अस्पताल भएका कारण उक्त सडकको नाम नै ‘हस्पिटल रोड’ राखिएको छ। 

चौबीसकोठी चोकबाट उत्तरतर्फ लाग्दा दाहिनेतर्फको सबैभन्दा पहिलो भवन हो, चितवन अस्पतालको । कालो सिसा राखेर बनाइएको उक्त चारतले अस्पताल भवनमा अस्पताल मात्र छैन, बैंक, किराना पसल, चस्मा तथा घडी पसल समेत छ । एलोपेथिक औषधिसहितको आधुनिक उपचार सेवा दिने उक्त अस्पताल रहेको भवनमा आयुर्वेदिक औषधालय पनि छ । अस्पतालको ठिक अगाडि सडक भन्दा पारि एकतले लामो भवन छ । त्यो भवनमा पनि लहरै क्लिनिक, पोलिक्लिनिक, डेण्टल क्लिनिकहरु छन्। 

चितवन अस्पतालसँगै जोडिएको सानो सेतो घरमा दुईवटा पोलिक्लिनिक छन् । नवल र भरतपुर पोलिक्निक रहेको उक्त भवनमा बिरामीको उपचार गर्ने किसिमको कोठा समेत छैन । तर, बिरामीहरु भने फाट्टफुट्ट उपचारका लागि आएकै हुन्छन् । स्वास्थ्यखबरको टोली यी दुई पोलिक्लिनक पुग्दा चितवन माडीबाट आएका दुईजना बिरामी डाक्टरले झुलाउने मात्र काम गरेको भन्दै सरकारी अस्पतालमा उपचारका लागि जान लागेका थिए । ‘उपचारभन्दा पनि पैसा सिध्याउने काम मात्र भयो,’ एक बिरामीले भने, ‘यहाँभन्दा सरकारी अस्पतालमा राम्रो उपचार हुन्छ भनेर जान लागेका हौं।’

यी दुई पोलिक्लिनिकसँगै जोडिएको पाँचतले अग्लो भवनमा छ, नेसनल सिटी अस्पताल । तुलानात्मक रुपमा यो अस्पताल राम्रो अस्पतालका रुपमा चिनिन्छ । अग्लो भवनको पछाडि रहेका स–साना भवनमा समेत अस्पतालका वार्ड तथा कक्षहरु छन् । बिरामीको चाप पनि उक्त अस्पतालमा राम्रै देखिन्छ । अस्पतालले सरकारले तोकेको मापदण्डअनुसार नयाँ भवन बनाउन आवश्यक जग्गा समेत किनेको रहेछ। 

नेशनल सिटी अस्पतालपछि लहरै जयबुद्ध, शान्ति, रक्षा, एड्भान्स कम्युनिटी अस्पताल छन् । त्यसपछि टाँसिएर रहेका दुईवटा घरमा क्यापिटल रिफरेन्स ल्याबरोटरी र चितवन प्याथोलोजी गरी दुईवटा छुट्टाछुट्टै प्रयोगशाला छन् । प्रयोगशालापछि सँगै टाँसिएको घरमा आउँछ, ओम अस्पताल । ओम अस्पतालपछिको आउने घरमा चितवन आँखा अस्पताल र एनआरल नाम गरेको प्रयोगशाला छ । यी दुवै सेवा एउटै घरमा छ। 

त्यसपछिको घरमा एभरेष्ट अस्पताल र आइआरल नाम गरेको प्रयोगशाला छ । त्यसपछि लक्ष्मी पोलिक्लिनिक, आशा अस्पताल, भरतपुर सामुदायिक अस्पताल र त्यसपछि केही साना क्लिनिकहरु छन्।

चौबीसकोठीबाट उत्तरतर्फको दायाँपट्टि घरैपिच्छे अस्पताल छन् भने बायाँतर्फ नारायणी सामुदायिक अस्पताल मात्र छ । भौतिक पूर्वाधार र सेवा–सुविधाको हिसाबले यो अस्पताल अरु भन्दा ठूलो छ । ३ सय शय्या क्षमताको यो अस्पतालमा बिरामीको चाप पनि बढी नै छ । अस्पतालले उपलब्ध गराएको जानकारीअनुसार अस्पतालमा दैनिक ५ सय भन्दा बढी बिरामी ओपिडीमा उपचारका लागि आउने गरेका छन्।

यी अस्पतालबाट केही मिटर अगाडि बढेर पश्चिमतर्फको बाटो लागेपछि आउँछ काठमाडौंभन्दा बाहिर रहेको सबैभन्दा ठूलो सरकारी अस्पताल, भरतपुर अस्पताल । भरतपुर अस्पतालको ठिक पछाडिपट्टी छ, पुरानो मेडिकल कलेजको नाममा चिनिने कलेज अफ मेडिकल साइन्सेस भरतपुर । चौबीसकोठी चोकबाट पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ छन्, मौलाकालिका, चितवन मोडल, सेन्ट्रल, मनकामना र नेशनल आँखा अस्पताल । अस्पताल रोडमा रहेका अस्पतालको तुलनामा यी अस्पताल केही राम्रा छन् ।

विशिष्टिकृत सेवा विस्तार हुँदै
भरतपुरमा आकस्मिक र रोगहरुको सामान्य विशेषज्ञ उपचार सेवासँगै विभिन्न विधामा विशिष्टिकृत सेवा समेत विस्तार हुँदै गइरहेको छ । केही वर्ष अघिसम्म क्यान्सरका लागि मात्र छुट्टै विशिष्टिकृत सेवा पाइने भरतपुरमा अहिले बालबालिका, प्रसूति तथा स्त्री, हाडजोर्नी, मुटु, मिर्गौला, छाती तथा फोक्सोलगायतका विधामा विशिष्टिकृत सेवा विस्तार भइसकेको छ। 

भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले देशकै मध्यक्षेत्रमा रहेको र सबै जिल्लासँग सडक सञ्जाल जोडिएको भरतपुरमा दुर्घटना तथा ट्रमाको उपचार गर्ने छुट्टै विशिष्टिकृत उपचार सेवा दिने संस्था आवश्यक रहेको बताए । उनका अनुसार भरतपुर अस्पतालमा बनाउने भनिएको मदन भण्डारी ट्रमा सेन्टरको काम तत्कालै अगाडि बढाउन आवश्यक छ।

चितवन मेडिकल कलेजका प्राध्यापक डा. शितल अधिकारी काठमाडौंपछि विशिष्टिकृत सेवा दिने स्थानका रुपमा चितवन अगाडि बढिरहेको बताउँछन् । ‘सबै विभाग तथा विधामा विशिष्टिकृत सेवा विस्तार गर्दै काठमाडौं तथा बाहिर रेफर हुने अवस्थाको अन्त्य गर्ने हिसाबमा चितवनलाई विकास गर्दै लैजानुपर्छ,’ उनले भने, ‘उपचारात्मक सेवासँगै चितवनमा चिकित्सा शिक्षाका क्षेत्रमा उल्लेख्य प्रगति भएको छ ।’ उनका अनुसार चितवनका मेडिकल कलेजमा विभिन्न रोगभित्रका पनि विशिष्टिकृत विधामा अध्यापनको काम अगाडि बढिरहेको छ। 

अधिकांश अस्पताल मापदण्डविपरीत 
संख्याका हिसाबले भरतपुरमा उल्लेख्य अस्पतालहरु छन् । तर, गुणस्तरीय उपचारका लागि सरकारले तोकेको मापदण्डलाई आधार मानेर हेर्दा अधिकांश अस्पताल मापदण्डविपरीत सञ्चालित छन् । स्वास्थ्य मन्त्रालयको ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७३ (दोस्रो संशोधन)’ अनुसार चितवनका अधिकांश अस्पताल सञ्चालनमा नरहेको पाइएको हो। 
घरैपिच्छे अस्पताल भए पनि अधिकांश अस्पताल भाडाका घरमा चलेका छन् । अस्पतालको मापदण्डअनुसार नबनेका यी भवनका कोठाहरु साँघुरा र अँध्यारा छन् । अस्पतालका कोठाकै कारण उपचारका लागि आएका बिरामीमा थप समस्या र संक्रमण बढ्ने खतरा छ।

घरका सटरैपिच्छे अस्पताल भए पनि जनशक्तिका हिसाबले पनि अधिकांश अस्पतालमा पर्याप्त जनशक्ति छैनन् । धेरै अस्पताल सरकारी अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीको भरमा चलेका छन्। 
मापदण्डअनुसार अस्पताल रहने स्थानमा पर्याप्त मात्रामा खुला जग्गा हुनुपर्छ । अर्थात् अस्पताल सञ्चालन हुने जग्गामा कुल जग्गाको ४० प्रतिशत भागमा भूकम्पप्रतिरोधी र भवन आचारसंहिताअनुसार भवन बनेको हुनुपर्छ । तर, भरतपुरमा रहेका निजी अस्पतालले यो मापदण्ड पूरा गरेका छैनन् । सरकारले उक्त मापदण्डअनुसारको पूर्वाधार र अन्य व्यवस्था गर्न देशभरका निजी अस्पताललाई अझै दुई वर्षको समय दिएको छ । चितवनका निजी अस्पतालले पनि उक्त समयमा ती मापदण्ड पूरा गर्ने बताएका छन्। 

निजी अस्पताल मर्जमा जान तयार
निजी अस्पतालको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन (अफिन) चितवनका उपाध्यक्ष ओमप्रकाश दवाडीले सरकारले लिजमा जग्गा दिने हो भने भरतपुरका सबै अस्पताल त्यहाँ गएर अस्पताल चलाउन तयार रहेको बताए। 

‘देशको केन्द्रीय संसद् त भाडाको घरमा चलेको छ,’ उनले भने, ‘हामीलाई पनि सरकारले निश्चित समयसम्मका लागि लिजमा जग्गा दिने हो भने अस्पतालहरु मर्ज भएर पनि चलाउन तयार छन् ।’
अफिनका सचिव विक्रम अधिकारीले पनि भरतपुरका निजी अस्पतालहरु मर्ज हुन तयार रहेको बताए । ‘सरकारले मेडिकल सिटीको काम आधिकारिक रुपमा अगाडि बढाउँदा निजी अस्पतालले पनि साथ दिन्छन्,’ उनले भने, ‘हामी सबै निजी अस्पताल सरकारलाई सहयोग गर्न तयार छौं । सरकारले पनि हाम्रो समस्या बुझेर समाधान गर्नुपर्छ ।’ अधिकारीका अनुसार भरतपुरमा फोहोरमैला व्यवस्थापन सबैभन्दा ठूलो समस्या रहेको छ । ‘सरकारी अस्पतालमा पनि मापदण्डअनुसारको फोहोरमैला व्यवस्थापन हुन सकेको छैन’ उनले भने, ‘अस्पतालजन्य फोहोरको वैज्ञानिक रुपमा व्यवस्थापन गर्न महानगरपालिकाले सहयोग गर्नुपर्छ ।’ उनले महानगरले केन्द्रीय रुपमा फोहोरमैला व्यवस्थापन केन्द्र र जग्गाको व्यवस्था गर्नुपर्ने बताए। 

ल्याबमा पनि समस्या
अस्पतालको संख्या बढेसँगै चितवनमा रोग तथा समस्या पहिचान गर्ने ल्याबहरु खुल्ने क्रम पनि बढिरहेको छ । तर, चितवनमा रहेका अधिकांश ल्याब मापदण्डअनुसारका छैनन् । बिरामीको रोग पहिचान गर्दै डाक्टरलाई उपचारको लागि बाटो पहिचान गर्ने प्रयोगशाला बिना दर्ता खुलेको, प्रयोगशालामा गुणस्तरहीन केमिकल प्रयोग हुने, बिरामीको परीक्षण रिपोर्ट गलत दिने, 
बिरामीसँग महँगो शुल्क लिने जस्ता विकृति फेला परेको छ। 

मापदण्डविपरीत खुलेका साँघुरा र भ¥याङमुनि सञ्चालित प्रयोगशालाले राम्रो सेवा दिने ल्याबलाई समेत बदनाम गराइरहेको भरतपुर अस्पतालकी प्रयोगशाला विभाग प्रमुख लिली श्रेष्ठले बताइन् । उनका अनुसार पछिल्लो समयमा चितवनमा पनि केही ठूला र राम्रा ल्याबहरु खुल्ने क्रम भने बढ्दै गएको छ।

सरकारले ल्याबलाई व्यवस्थित र मर्यादित बनाउन ‘प्रयोगशाला स्थापना, सञ्चालन तथा मापदण्डसम्बन्धी निर्देशिका २०७३’ ल्याएको छ । उक्त निर्देशिकाअनुसार प्रयोगशाला सञ्चालन गर्ने स्थानमा सबैको सजिलै पहुँच हुने पूर्वाधार हुनुपर्ने छ । यसका साथै पर्याप्त हावा आवात–जावत गर्ने, पर्याप्त मात्रामा उज्यालो भएको, प्रयोगशालाको तापक्रम र वातावरण नियन्त्रण गर्न मिल्ने, पानी र बिजुलीको नियमित आपूर्ति हुने, फराकिलो कोठा तथा कोठामा जिवाणुरहित बनाउन सक्ने सुविधालगायतका मापदण्ड पूरा हुनुपर्ने छ । हाल चितवनमा रहेका अधिकांश ल्याबले यी मापदण्ड पूरा गरेका छैनन् ।

शक्तिशाली बोर्ड बनाउन आवश्यक
भरतपुरलाई मेडिकल सिटी बनाउन शक्तिशाली मेडिकल बोर्ड बनाउन आवश्यक रहेको सरोकारवालाहरुले औंल्याएका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल केन्द्रीय सरकारबाट नै मेडिकल बोर्ड बनाएर काम अगाडि बढाउन सहयोग गर्नुपर्ने बताउँछिन्। 

‘मेडिकल सिटी बनाउने विषयमा आवश्यक गृहकार्य हामीले गरिरहेका छौं,’ उनले भनिन्, ‘तर यो भरतपुरको मात्र विषय नभएकाले केन्द्रीय सरकारले नै शक्तिशाली बोर्ड बनाएर काम गर्नुपर्छ । यसका लागि हामी प्रक्रिया अगाडि बढाउन तयार छौं।’

भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ भन्ने अभियानमा लामो समयदेखि लाग्दै आएका डा. भोजराज अधिकारी पनि केन्द्रीय सरकारले मन्त्रिपरिषद्बाटै पास गरेर शक्तिशाली बोर्ड बनाउन आवश्यक रहेको बताउँछन्।

‘मेडिकल सिटी भनेको राष्ट्रिय गौरवको विषय हो,’ उनले भने, ‘त्यसकारण यो काममा भरतपुर महानगरले गृहकार्य गरिरहेको समयमा केन्द्रीय सरकारले भरतपुरलाई मेडिकल सिटीका रुपमा घोषणा गर्दै बोर्ड बनाउनुपर्छ ।’ उनले भरतपुर मेडिकल सिटीको काम एकद्वार प्रणालीबाट गर्न पनि बोर्डको आवश्यकता रहेको बताए।

भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष तथा हाल प्रदेश ३ का सांसद विजय सुवेदी पनि अधिकारसम्पन्न बोर्ड बनाउनुपर्ने पक्षमा छन् । भन्छन्, ‘छलफल धेरै भएका छन् तर संस्थागत रुपमा काम गर्न सकिएको छैन । त्यसकारण यो कामलाई अगाडि बढाउन अधिकारसम्पन्न बोर्ड वा अन्य कुनै निकाय नै चाहिन्छ।’

निजी अस्पताल सञ्चालकहरु समेत बोर्ड बनाउनुपर्छ भन्ने अभियानमा छन् । सेन्ट्रल अस्पतालका प्रबन्ध निर्देशक शोभाकर घिमिरे भन्छन्, ‘मेडिकल सिटीको कुरा छलफल र बहसमा मात्र सीमित भइरहेको छ । त्यसकारण अब छलफल भन्दा पनि काम गर्ने बेला आएकाले संस्थागत रुपमा काम हुनुपर्छ ।’

प्रतिवेदन कार्यान्वयन आवश्यक
चितवनलाई ‘मेडिकल सिटी’ बनाउने विषयमा एक वर्षअघि कार्ययोजनासहितको प्रतिवेदन सार्वजनिक गरिएको थियो । तर, उक्त प्रतिवेदनले सुझाएका विषय भने अझै पनि कार्यान्वयनमा आउन सकेको छैन। 

प्रदेश सांसद सुवेदीको संयोजकत्वमा गठित ‘चितवनको स्वास्थ्य क्षेत्र सुधार सुझाव कार्यदल’ ले चितवनमा सबै खालका रोगको उपचार सम्भव हुने स्वास्थ्य निकायको केन्द्र बनाउनुका साथै मेडिकल शिक्षाको नमुना जिल्ला बनाउन सकिने सुझावसहितको प्रतिवेदन बुझाएको थियो । ‘उपचार नपाए चितवन जानू’ भन्ने मान्यता स्थापित हुनेगरी तयार पारिएको प्रतिवेदन कार्यान्वयनका लागि शक्तिशाली बोर्ड आवश्यक रहेको सुवेदी बताउँछन्। 

‘उक्त प्रतिवेदन कार्यान्वयन गर्ने हो भने मेडिकल सिटीको वर्षौंदेखिको सपना पूरा हुन्छ,’ उनले भने, ‘तर यो विषय महानगर र प्रदेशको मात्र नभई संघीय सरकारको पनि भएकाले यसमा संघीय सरकारको ठूलो सहयोग चाहिन्छ।’

प्रतिवेदनमा चितवनका स्वास्थ्य क्षेत्रमा देखिएका कमी–कमजोरीलाई सच्याउँदै गुणस्तरीय र सर्वसुलभ उपचार सेवा विस्तारमा नीतिगत व्यवस्था गर्ने सुझाव रहेको सुवेदीले जानकारी दिए । 
उनका अनुसार सो प्रतिवेदनमा मेडिकल बोर्डको समेत प्रस्ताव गरिएको छ । बोर्डमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विशेषज्ञ चिकित्सकका प्रतिनिधि, निजी क्षेत्र र उपभोक्ता समेतका प्रतिनिधि रहने सुझाव छ। 

प्रतिवेदनमा उपचार सेवा, चिकित्सा शिक्षा, स्वास्थ्य पर्यटन, सरसफाइको नमुना सहर, दुर्घटना र प्राकृतिक प्रकोप जस्ता आपतकालीन समस्यामा परेकाको उद्धार गरी तत्काल उपचार सेवा दिनेलगायतका सुझाव छन्।

भरतपुरमा सबैभन्दा  पहिला भरतपुर अस्पतालको स्थापना भएको थियो । त्यसपछि २०४४ सालमा आँखा अस्पताल स्थापना भयो । भरतपुरमा २०५३ सालमा पहिलो पटक निजी मेडिकल कलेजका रुपमा कलेज अफ मेडिकल साइन्सेस खुलेको थियो। 

०५७ साल बिपी कोइराला मेमिरियल क्यान्सर अस्पताल र ०६३ सालमा अर्को मेडिकल कलेजको रुपमा चितवन मेडिकल कलेजको स्थापना भयो । यो बीचमा भरतपुरमा साना–ठूला गरी झण्डै ३० वटा अस्पताल खुलिसकेका छन् । 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

organicsanu लेख्नुहुन्छ कात्तिक ९, २०७५ शुक्रवार १६:१५:४३
चितवनलाई मेडिकल सिटी बनाउने सोचकर्ता र प्रचण्डजिलाई घोषणा गर्ने उत्प्रेरणा दिने समाजसेवि, पर्यटन व्यवसायि, पर्यावरणविद कर्ण शाक्यजिको विचारपनी समेटन सकेको भए यो लेख अज्ज ओजपुर्ण हुन्थ्यो कि ।

यसमा तपाइको मत




पढ्नै पर्ने