विचार/ब्लग

कविताः नाप

 निरज अनुपम

मानिस जिन्दगीमा
सबै कुरो नाप्छ
सबै कुरो छाम्छ
सबै कुरो चाख्छ
र सबै सबै कुरो गर्छ
तर
सबैभन्दा ठूलो कुरो बिर्सिएको छ
खानेकुरा कहिल्यै नाप्दैन


मानिस फित्ता तन्काइ तन्काइ
जग्गा नाप्छ
बस्ने घर नाप्छ
आफ्नो तौल नाप्छ
उचाई नाप्छ
तर सबैभन्दा ठूलो थोक बिर्सिएको छ
उमेर कहिल्यै नाप्दैन
मानिस आभूषणले सजिने 
बस्त्र नाप्छ
अस्त्र नाप्छ
गहना नाप्छ
अंगप्रत्यङ्ग नाप्छ
तर सबैभन्दा ठूलो कुरा बिर्सिएको छ
स्वास्थ्य कहिल्यै नाप्दैन


यो युगको मानिस 
मोबाइलको चार्ज नाप्छ
मोबाइलको ब्यालेन्स नाप्छ
फेसबुकको च्याट नाप्छ
साथीभाइको गफ नाप्छ
तर 
सबैभन्दा ठूलो कुरा बिर्सिएको छ
निन्द्रा कहिल्यै नाप्दैन
व्यस्त मानिस 
गाडीको गति नाप्छ
घडीको सुई नाप्छ
दिन नाप्छ
रात नाप्छ
पैसा नाप्छ
तर 
सबैभन्दा ठूलो कुरा बिर्सिएको छ
आफ्नो गति कहिल्यै नाप्दैन


प्रतिष्पर्धी ऊ मानिस
अरुको प्रगति नाप्छ
इज्जत नाप्छ
प्रतिष्ठा नाप्छ
खुसी नाप्छ
सुविधा नाप्छ
तर सबैभन्दा ठूला कुरा बिर्सिएको छ
आफ्ना् खुशी र सन्तुष्टि कहिल्यै नाप्दैन


हो त्यसैले आफ्नो 
स्वास्थ्य नापौं
निद्रा नापौं
खानेकुरा नापौं
आफ्नो जीवनको गति नापौं
खुसी र सन्तुष्टि नापौं
आयु बढाऔ
र 
स्वस्थ बनौं 


 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Sitti sap bista लेख्नुहुन्छ कात्तिक १४, २०७५ बुधवार २०:३५:३९
सन्देशमुलक छ।बधाई तथा शुभकामना

यसमा तपाइको मत




पढ्नै पर्ने