विचार/ब्लग

बिना स्काल्पेलको सर्जरी र मेरो सपना

 डा अशोक चापागाईं

तनहुँमा कार्यरत रहँदा हामी भ्यासेक्टोमी (पुरुष बन्ध्याकरण) क्याम्प चलाउथ्यौं। त्यो शल्यक्रिया यति  हानीरहित थियो कि त्यसको नामै 'नो स्काल्पल भायासेक्टोमी' थियो अर्थात् नचिरिकन  सानो प्वालबाट गरिने बन्धायाकरण।

म सोच्थें– मेडिकल साइन्समा सबै अपरेशनहरु नचिरिकन सम्भव हुने भए बिरामीलार्इ कति राहत हुन्थ्यो। तर त्यसो हुन पूर्ण सम्भव पनि थिएन। विश्व जगतमा सानो प्वालको ठाउँमा ठुलो प्वाल पारेर दुरबिनबाट गरिने अपरेशनहरुले ख्याती पाइरहेका बेला भने नेपालमा अधिकांश ठाउमा धेरै चिरेर नै अपरेशन गरिने गरिन्छ। यो साधनस्रोतको अभावका कारण सिर्जित बाध्यता हो।

त्यसमाथि बाहिर छालामा सानो छेद पारेर मसिना पाइप र तार रेडियोलोजी प्रबिधी(भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआइ, एनजिओग्राम आदि)को सहायताले निश्चित अंगसम्म पुर्या इ, सो अंगको उपचार गरिने प्रबिधीले विश्व मेडिकल जगत लार्इनै उत्साहित बनाइरहेको छ तर नेपालमा भने यो प्रबिधीको विकासमा कम प्रयास भएको देखिन्छ। यो उपचार प्रबिधीलार्इ इन्टरभेन्सनल रेडियोलोजी भनिन्छ। 

आजको युगमा शरिर भित्रका ट्युमरलाई बिना चिरफार उपचार गर्न सकिन्छ। उदाहरणको लागि इमेजिङको सहायताले पाठेघरको फाइब्रोइड ट्युमरलाई काछमा सानो छेद पारेर काछको रक्तनलीमा तार र पाइप/क्याथेटर छिराएर पाठेघरको ट्युमर भएको रक्तनलीसम्म पुगिन्छ र ती रक्त नलिहरुलाई इम्बोलाइज गरेर बन्द गरिन्छ। अनि ट्युमर आफै मर्दै/सानो हुँदै जान्छ। 

मष्तिष्कघात, हृदयघात, मुटु, धमिनी र शिराका समस्याहरु यहि प्रबिधीको सहयोगले बिना चिरफार उपचार गर्न सम्भव छ। क्यान्सरको उपचारमा केमोथेरापीले पूरै शरिरलाई कत्तिको असर गर्छ? हामी धेरैलार्इ थाहा भएको कुरा हो तर इन्टरभेन्सनल रेडियोलोजीको मद्दतले निश्चित अंगमा मात्र केमोथेराफी दिन मिल्ने हुँदा नकारात्मक असर सबै कम हुन्छ र उपचार पनि थप प्रभाबकारी हुन्छ।

शरिरभित्र कतै रगत बगिरहेको छ भने त्यसको उपचार बिना चिरफार अन्यत्र असर नगरिकन रगत बग्न बन्द गर्न सकिन्छ। त्यस्तै भित्री अंगका ट्युमरहरुलार्इ इन्टरभेन्सनल रेडियोलोजीको सहायताले रेडियो फ्रिक्युन्सी तथा क्रायोथेरापीको प्रयोगबाट पूर्ण उपचार गर्न सकिन्छ। त्यस्तै भित्री अंगमा पिप जम्मा भएको छ भने पनि इमेजिङको सहायतामा पाइप/क्याथेटरद्वारा बिना चिरफार पिपलाई बाहिर निकाल्न सकिन्छ। 

इन्टरभेन्सनल रेडियोलोजी भनेको २१औं शताब्दीको नयाँ उपचार प्रबिधी हो। साँच्चै नै यो जादुमय छ। मलाई स्वास्थ्यकर्मी, नातेदार अनि साथीभाईहरु सबैले गुनासो सहितको प्रश्न गर्नुहुन्छ, 'तपाईंले एमडी/एमएस प्रवेश परीक्षामा उत्कृष्ट अंक प्राप्त गरेर पनि किन रेडियोलोजीष्ट अर्थात् बिरामीसँग प्रतक्ष साक्षात्कार नगर्ने चिकित्सक बन्ने बिषय रोज्नुभयो, अरु बिषय किन नलिनुभएको?'

जिज्ञासा स्वभाविकै हो, चिकित्सक हुनु केही अघिसम्म म पनि यही सोच्दथें। तर जतिबेला म दुर्गममा सेवा गरिरहेको थिएँ, मेरी आमा घरमा बिरामी पर्नुभयो, उहालाइ पेट दुख्ने, बान्ता हुने समस्या भएको थियो। टेलिफोनमै भरतपुर अस्पताल चेकजाँचमा लाग्न सल्लाह दिए। अस्पतालको चेकजाँच  र निदान पछि औषधी सहित आमा घर जानुभयो तर आमाको लक्षण सन्चो भएन।

तेस्रो दिन मलाई आफू धेरै आत्तिएको र जसरी भएपनि घर आउन भन्नुभयो। म उहाँलाई अस्पताल जाँदै गर्नु, म त्यतै आउँछु भन्दै चितवन हानिएँ। त्यहाँ चिकित्सकको सरसल्लाहले मेडिकल वार्डमा भर्ना गरिएको रहेछ। पछि आमाको अवस्था हेरेपछि कतै एपेन्डिसाइटिस पो हो कि जस्तो लाग्यो तर एकिन गर्न कठिन थियो किनकी भिडियो एक्सरे तथा रगत लगाएतका शुरुवाती रिपोर्टहरु सबै सामान्य थिए ।

त्यहाँ कार्यरत चिकित्सकहरुसँग सल्लाह गरियो , त्यसपछि सिटी स्क्यान गर्ने निर्णय भयो। नभन्दै सिटी स्क्यानमा एपेन्डिसाइटिस भएको र तत्पश्चात एपेन्डिक्स फुटेको देखियो।त्यसपछि तुरुन्त आमाको अपरेशन भयो। र सबै राम्रै भयो। यो घटनाले मलाई बेस्सरी हल्लायो।

उपचार गर्ने चिकित्सक हाम्रो शरिरको दिमाग हुन् भने आँखा त रेडियोलोजिष्ट हुन्। त्यसैले रेडियोलोजीष्टहरु बिरामीको प्रतक्ष साक्षत्कारमा आउन नपरे पनि जसरी आँखाले दिमागलाई  नियन्त्रण गर्छ, त्यसरी नै उपचार गर्ने चिकित्सकको उपचारलार्इ नियन्त्रण गरिरहेका हुन्छन् भन्ने कुरा मैले भन्दा बढी कसले बुझ्न सक्थ्यो र? उपचारमा सबैको उत्तिकै भूमिका हुन्छ। उपचार/अपरेसन गर्ने चिकित्सकदेखि नर्स, पारामेडिक्स, ल्याब कर्मचारी, रेडियोग्राफर सबै। त्यसैले कसैलाई सानो र ठूलो देख्नु दृष्टिभ्रम हो। तरपनि यो घटना पश्चात् एउटा कुशल रेडियोलोजिष्ट बनेर रोग निदान तथा उपचारलाई सबल बनाउने चाहना मेरो मनमा बिस्तारै पलाउन थाल्यो। फेरि आफू सर्जरीमा रुची भएको मान्छे। त्यसैले भबिष्यमा पछुताइन्छ कि भन्ने भय चाहिँ थियो।

तर  बुझ्दै जाँदा इन्टरभेन्सनल रेडियोलोजीमा फेलोसिप गर्न सकिने कुरा र इन्टरभेन्सनल रेडियोलोजिको विश्व मेडिकल जगतमा ब्याप्त क्रेजले मलार्इ सहजै रेडियोलोजी बिषयतिर आकर्षित गर्योक। अर्थात् रेडियोलोजीमा विशेषज्ञता गरेपछि मात्र इन्टरभेन्सनल रेडियोलोजीमा सुपरस्पेसियलाइजेसन गर्न सकिन्छ। त्यसैले बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा प्रथम पाइला स्वरुप रेडियोलोजी बिषय अध्ययन गर्ने निधो गरियो। 

विश्व मेडिकल जगतमा इन्टरभेन्सनल रेडियोलोजीले चमत्कारी आयाम थप्दै गइरहेको छ। नेपालमा यो सुरुवाती अवस्थामा छ। हाम्रो जेनेरेसन रेडियोलोजी अध्ययन सकेर बाहिर आउन्जेल आशा गरौं, यसको उल्लेख्य बिकास स्वदेसमै हुनेछ। र बिरामीले बिना उच्च जोखिमको गुणस्तरिय सेवा पाउन सक्नेछन्। 

- (डा चापागाईं विपी कोराइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेडियोलोजी प्रथम वर्षमा अध्ययनरत छन्)

 


 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने