काठमाडौं— काठमाडौंका ठूला सरकारी अस्पताल लामो समयदेखि निर्देशक विहीन छन् । अस्पतालमा निर्देशक नहुँदा अस्पतालका महत्वपूर्ण काम रोकिएका छन् ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर निर्देशक विहीन छन्।
त्रिभुवन विश्वविद्यालय चिकिस्साशास्त्र अध्ययन संस्थान ( आइओएम) शिक्षण अस्पताल कार्यकारी निर्देशक विहीन भएको तीन महिनाभन्दा बढी भयो।
कार्यकारी निर्देशक नहुँदा अस्पतालका महत्वपूर्ण काम हुन सकेका छैनन्।
अस्पतालको निर्देशक नियुक्ती राजनीतिक भागवन्डाका आधारमा गर्नका लागि ढिलाइ भइरहेको छ।
निर्देशकका लागि योग्य व्यक्तिको नाम सिफारिस गर्ने भन्दा पनि राजनीतिक आस्थाका आधारमा नाम सिफारिस गर्ने र त्यसको बाहिरी विरोध बढेपछि ढिलाई हुँदै आएको छ।
त्रिविले केही महिनाअघि बनाएको सर्च कमिटीले काम गर्न नसकेपछि पुनः नयाँ सर्च कमिटी बनाएको पत्र दुई दिनअघि मात्रै कमिटीका सदस्यले पाएका छन्।
तर, उक्त सर्च कमिटीले नयाँ निर्देशक छान्न सक्ने अवस्था भने कमजोर छ । शिक्षण अस्पतालको सुधारका विषयलाई समेत आन्दोलनको एजेन्डा बनाइरहेको डा गोविन्द केसीले सर्च कमिटीको सदस्यको छनोटमा असहमति प्रकट गरेका छन् । राजनीतिक भागबन्डमा कमिटी सदस्य छानिएको भन्दै उनीहरुले छनोट गरेको निर्देशक आफूहरुका लागि मान्य नहुने संकेत गरेका छन्।
त्रिविले नेकपानिकट भनेर चिनिएका डा प्रदीप ज्ञवाली र नेपाली कांग्रेस निकटका रुपमा चिनिएका डा अभिमन्यु झालाई कमिटीको सदस्य नयाँ समिति बनाएको हो।
राजनीतिक विवादका कारण लामो समय कार्यकारी निर्देशक नहँुदा महत्वपूर्ण निर्णयहरु प्रभावित भएको एक कर्मचारीले बताए।
उनले भने, ‘कार्यकारी निर्देशक नियुक्त गर्न त्रिवि मात्र होइन, डिनको पनि खासै चासो देखिँदैन । आफ्नै हालीमुहाली कायम राख्न उहाँले पनि रत्तिभर अग्रसरता लिनुभएको छैन।’
‘दीर्घकालिन योजना त बनेको छैन नै, नियमित काम समेत प्रभावित भएको छ,’ ती कर्मचारीले भने, ‘औषधि उपकरण खरीद, नयाँ कार्यक्रम सञ्चालन गर्ने काम निर्देशक नहुँदा हुन सकेका छैनन्।’
त्रिविले निर्देशकको नाम सिफारिस गर्न यसअघि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा जगदिश प्रसाद अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको थियो ।
तर उक्त कमिटीले नाम सिफारिस गर्ने क्रममा विवाद आएपछि निर्देशकको नाम सिफारिस गर्न नसकेको भन्दै उक्त कमिटी खारेज भएको थियो।
अस्पतालका निर्देशक डा दीपक महराको कार्यकाल सकिएपछि सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि पुन निर्देशकको जिम्मेवारी दिएको थियो।
उनले गत साउन ४ गतेबाट लागू हुने गरी राजीनामा दिएपछि अस्पताल कार्यकारी निर्देशक विहीन भएको हो।
हाल निमित्त निर्देशकको जिम्मेवारी आइओएमकी सहायक डिन मन्दिरा वन्तलाई दिइएपनि पूर्ण अधिकार नहुँदा महत्वपूर्ण काम हुन नसकेको बताइएको छ।
यता, वीर अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतको दुईवर्षे समयावधि सकिएको छ । अर्र्को व्यवस्था नभएसम्म उनी निमित्त निर्देशकका रुपमा जिम्मेवारी लिइरहेका छन्। सँगै रहेको ट्रमा सेन्टरका निर्देशक डा प्रमोद उपाध्यायको समय सकिएपछि डा विनोद शेरचनलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।
यी दुवै अस्पतालमा तत्काल निर्देशक बन्ने सम्भावना पनि कमजोर छ । किनभने निर्देशक नियुक्तीका लागि उपकुलपतिको सिफारिस चाहिन्छ । तर, यी दुई अस्पतालको छाता संस्था चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान उपकुलपति विहीन छ। केही समयदेखि चलिरहेको उपकुलपति छनोट प्रक्रियालाई मन्त्रीपरिषद्ले पूर्णता दिनुपर्ने हुन्छ । प्रक्रियाबाट तीन जना छानिएका छन्।