मुख्य समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ६० प्रतिशत सुधार, तीन दिन अस्पतालमा रहने

दसैंमा टीका लगाउने क्रममा रुघाखोकी सरेको डाक्टरको अनुमान


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका क्रमिक रुपमा सुधार आएको छ। छातीमा संक्रमण र शरीरमा ग्लुकोजको मात्रा कम भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज बिहानै भर्ना गरिएको थियो। 

उनकी निजी चिकित्सक डा दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले ६० प्रतिशत सुधार आएको छ। ‘उहाँको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गइरहेको छ,’ उनले भनिन्, ‘औषधि र आवश्यक उपचारका कारण अहिले उहाँको समस्यामा ६० प्रतिशतभन्दा बढी सुधार भइसकेको छ। ज्वरो पनि घटेको छ।’

डा शाहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा तीन दिन अस्पतालमै राख्नुपर्ने हुन्छ। ‘त्यसपछि आराम गर्दा हुने अवस्था देखिएको छ,’ उनले भनिन्।

प्रधानमन्त्री ओलीको छातीमा निमोनिया भएर पानी जमेको अवस्था भने नरहेको उनले जानकारी दिइन्। 

दसैंमा टीका लगाउने क्रममा धेरै जनासँग सम्पर्कमा आएका कारण प्रधानमन्त्री ओलीलाई रुघाखोकी सरेको चिकित्सकहरुले अनुमान गरेका छन्। 

मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा रोगप्रतिरोधात्मक क्षमता कम हुने गर्छ। यस्तो अवस्थामा रुघाखोकीले सतायो भने संक्रमण चाँडै बढ्ने खतरा रहन्छ। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने