विचार/ब्लग

आयुर्वेदले बताउन सक्छ सबै रोगको कारण

 रविन्द्र श्रेष्ठ

उपनिवेश शब्द सुन्दा यहाँले के सोच्नुहुन्छ? युद्ध, बन्दुक, अशान्ति? तर उपनिवेशको अर्को पनि पाटो छ। 

मजस्तो आयुर्वेदको विद्यार्थीले हरदिन चिकित्सा विज्ञानमा भएको उपनिवेशीकरणको सामना गर्नुपरेको छ। आयुर्वेद चिकित्सा विज्ञानको विद्यार्थीको हैसियतले मैले चिकित्सा विज्ञान र सिद्धान्त दुवैमा देखिएको उपनिवेशीकरणबारे केही लेख्ने प्रयास गरेको छु। 

संसारमा यस्ता धेरै रोग छन्, जसको उपचार मात्र होइन, कारणसमेत चिकित्सा विज्ञानले पत्ता लगाउन सकेको छैन।

कारण पत्ता लाग्न नसकेका रोगहरूलाई इडियोप्याथिक भनिन्छ। इडियोप्याथिक ग्रिक शब्द हो। 

इडियोको अर्थ स्वयं आफंै हुन्छ र प्याथोसको अर्थ पीडा वा दःुख भन्ने हुन्छ। अर्थात् यसलाई आफैं उत्पन्न हुने रोग भनी बुझ्न सकिन्छ। आधुनिक चिकित्सा विज्ञानको कक्षा विशेषतः प्याथोलोजी (रोग तथा विकृति विज्ञान) मा यो शब्द निकै प्रचलित छ।

किनभने अधिकांश (विशेषत नसर्ने किसिमका) रोगको कारण पत्ता लागेका छैनन् र धेरैलाई इडियोप्याथिक भनिन्छ। जस्तैः प्याथोलोजीको प्रख्यात पुस्तक रोबिन्समा लेखिएको छ, ९५ प्रतिशत उच्च रक्तचाप इडियोप्याथिक हुन्छ, अर्थात् कारण थाहा हुँदैन।

धेरै रोगहरूको नामको अगाडि नै इडियोप्याथिक छ, जस्तै इडियोप्याथिक प्लमोनरी फाइब्रोसिस, इडियोप्याथिक प्यानक्रियाटाइटिस, जुभेनाइल इडियोप्याथिक अर्थाइटिस, इडियोप्याथिक कोरोनरी आर्टरी रोग आदि।

चिकित्साशास्त्रका विद्यार्थीलाई पनि सजिलो भएको छ, इडियोप्याथिक भनेपछि अध्ययन गर्ने भार पनि कम हुन्छ। चिकित्साका ‘बाइबल’ मानिने पुस्तक ह्यारीसन, डेभिडसनमा रोगको कारण पत्ता लागेको छैन भनेकै आधारमा रोगको कारण (निदान) हुँदैनन् भनेर अध्ययन–अध्यापन गरिंदैै आएको छ। 

तर के साँच्चै रोगहरूको कारण नै हुँदैनन् वा आधुनिक चिकित्सा विज्ञानले रोगको कारण पत्ता लगाउन नसकेको हो? 

वास्तवमा हाम्रो पूर्वीय दर्शन र यहाँको मौलिक चिकित्सा पद्धतिमाथिको उपनिवेशीकरणका कारण हामी ह्यारिसन, डेभिडसनभन्दा अगाडि हुन सकेका छैनौं।

आयुर्वेदको प्रमुख ग्रन्थ विशेषतः चरक संहिता, सुश्रुत संहिता, माधव निदानहरूको अध्ययन गर्ने हो भने ती ग्रन्थमा प्रत्येक रोगको कारण बताइएको छ।

आयुर्वेदमा रोग उत्पादक कारणलाई निदान वा हेतु भनिन्छ। मूलतः आयुर्वेदअनुसार त्रिदोष अर्थात् वात, पित्त र कफ प्रकुपित हुँदा शरीरमा रोग, विकारहरू उत्पन्न हुने भए तापनि प्रत्येक रोगको लागि छुट्टाछुट्टै कारण उल्लेख गरिएको पाइन्छ।

सहजताको लागि रोग उत्पादक कारणलाई वर्गीकरण पनि गर्न सकिन्छ। जस्तो ४ प्रकारको हेतुमा सन्निकृष्ट, विप्रकृष्ट, व्यभिचारी र प्राधनिक भनिएको छ। सन्निकृष्ट कारणले शरीरमा वात, पित्त वा कफ दोषहरूको सञ्चय नगरी रोगहरू उत्पन्न गराउँछ। आघातजन्य (ट्रमा) को अवस्थामा सन्निकृष्ट कारण हुन्छ। विप्रकृष्ट कारणबाट शरीरमा दोषहरू सञ्चय भएपश्चात् रोग उत्पन्न हुन्छ।

यसको उदाहरणमा हेमन्त ऋतुमा सञ्चित कफ दोष वसन्त ऋतुमा प्रकुपित भई रोग उत्पन्न गर्ने हुन्छ।

विषादी जसले शरीरमा शीघ्र नै दोषहरू प्रकुपित गर्छ। ती प्राधनिक कारणको उदाहरण हो। 

आयुर्वेदमा नै अन्य ३ किसिमका रोग उत्पादक कारणको समेत उल्लेख गरिएको छ। जस्तै असात्म्यन्द्रीयार्थ संयोग, प्रज्ञापराध र परिमाण। शरीरको इन्द्रीयहरूले आफ्नो विषय (जस्तो नेत्रको विषय दर्शन आदि) सँग बढी, कम वा अनावश्यक योग गरे भने त्यसको कारणले पनि रोग उत्पन्न हुन्छ, जसलाई असात्म्यन्द्रीयार्थ संयोग भनिन्छ। जस्तै धेरै ठूलोठूलो आवाजमा ध्वनी र संगीतहरू सुनिरहँदा कानसम्बन्धी विकारहरू उत्पन्न हुन सक्छन्।

बुद्धि, धैर्य र स्मृतिको भ्रंशबाट जुन अशुभ काम गर्दा शारीरिक एवं मानसिक दोषको वृद्धि हुन्छ। त्यसलाई प्रज्ञापराध भनिन्छ। जस्तै अधारणीय वेगहरू जस्तै आँशु, निद्रा, भोक, मलमुत्रको वेगलाई रोकियो भने त्यसले रोग निम्त्याउन सक्छ। 

मूत्रको वेग रोकेमा मूत्रकष्ट, पथ्थरी, मूत्रासयको क्रियाहीनता एवं शोथ हुन्छ। आँशुको वेग रोकेमा मानस रोग, छातीमा पीडा, चक्कर एवं पाचनमा समेत विकार हुनसक्छ।

परिणामको अर्थ काल वा समय हुन्छ। चिसो मौसममा चिसो खानपिन धेरै गरे त्यसले सोही अनुसारका रोग उत्पन्न गर्न सक्छ। यसरी आयुर्वेदमा अन्य पनि विभिन्न वर्गमा रोग उत्पादक कारणहरूको प्रशस्त व्याख्या गरेको पाइन्छ। 

आधुनिक चिकित्सा विज्ञानका अध्यापकहरूले आयुर्वेदको अध्ययन नगर्ने तर आयुर्वेदका विद्यार्थीहरूले आधुनिक चिकित्सा विज्ञानको अध्ययन गर्दा आयुर्वेदमा प्रष्ट रूपमा कारण बताइएका विभिन्न रोगलाई समेत इडियोप्याथिक भन्नुपर्ने दुर्भाग्य हाम्रो सामु छ। यो एउटा उदाहरण मात्र हो।

अर्को उदाहरण लिउँ, पिसाब फेर्दा पीडा वा पोलेको अनुभव हुने कष्टदायक अवस्थालाई मूत्रकृच्छ भनिन्छ। आधुनिक चिकित्सा विज्ञानमा संक्रमणजन्य रोगहरूमा यो अवस्था उत्पन्न हुन बताइएको छ। 

आयुर्वेदमा त्यसबाहेक अत्यधिक व्यायाम, तीक्ष्ण औषधिको सेवन, अत्यधिक रुखो खानपिन, मद्यपान, तीव्र गतिबाट दौडिने जनावर जस्तै घोडाको धेरै समयसम्म सवारी, आनूप मांस (हरिण, हात्ती, भैसी, सारस, हाँस) र माछाको अत्याधिक सेवन, खाना अजीर्ण भए तापनि खानाको सेवन गरिरहँदा मूत्रकृच्छ उत्पन्न हुने बताइएको छ।

आयुर्वेदमा आहार–बिहारलाई पनि प्रत्यक्ष रूपमा रोग वा विकारजन्य अवस्थाको कारण मानिएको छ। यस किसिमको स्कुलिङ आधुनिक चिकित्सा विज्ञानको छैन।

उपनिवेशीकरणमा फसेको आयुर्वेदका चिकित्सक÷विद्यार्थीहरूले आयुर्वेदलाई आयुर्वेदा र योगलाई योगा भन्न सुरु गरिसकेका छन्। अझ आफ्नो विधामा लुकेका विषयहरूलाई अन्वेषण गरी कहिले अगाडि ल्याउने खै?

- (श्रेष्ठ आयुर्वेद क्याम्पस, कीर्तिपुरमा बीएएमएस अध्ययनरत छन्)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने