काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबार बिहानदेखि मनमोहन कार्डियोथोरासिक भाष्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ। उनलाई अस्पतालको सिसियुमा राखेको खबर सुन्नेबित्तिकै नेकपाका नेता–कार्यकर्ता अस्पताल पुगे।
सिसियुमा राखिएकाले ठूला नेता र मन्त्रीहरु बाहेकले भेट्न पाएनन्। त्यसैले उनीहरु प्रधानमन्त्रीलाई भेटेर फर्किने ठूला नेता र मन्त्रीलाई सोध्थे– कस्तो छ उहाँलाई ?
सवैको उत्तर हुन्थ्यो– सामान्य नै छ। डराउनुपर्दैन।
उपचारमा संलग्न चिकित्सकहरुले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था डराउनुपर्ने गरी नबिग्रिएको बताइरहेका थिए।
प्रधानमन्त्री ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएकाले त्यसको उपचार भइरहेको जानकारी आइसकेको थियो। स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी पाइरहँदा पनि उपस्थित नेता–कार्यकर्तामा आशंकाको बादल मडारिरहेकै थियो।
तत्कालिन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका एक केन्द्रीय स्तरका नेताले आफ्नो आशंका लुकाउन सकेनन्, ‘अवस्था त्यति गम्भीर नभए किन सिसियुमा राखेर उपचार गर्नुपर्यो?’
केहीले त्यसमा ‘हो, हो’ मिसाए।
केहीले ‘देशको ठूलो मान्छे’ भएकाले सामान्य अवस्थामा पनि उच्च शतर्कता अपनाइएको बताए।
चिकित्सकका अनुसार ओली देशको प्रधानमन्त्री भएका कारणले नभइ मिर्गौला प्रत्यारोपित व्यक्ति भएकाले सामान्य स्वास्थ्य समस्या आउँदा पनि विशेष ‘केयर’ जरुरी हुन्छ।
उच्च शतर्कता अपनाउनुपर्छ।
मिर्गौला प्रत्यारोपित व्यक्तिलाई अरुलाई भन्दा ८० प्रतिशत बढी विभिन्न संक्रमणको जोखिम हुने उनको निजी चिकित्सकका रुपमा कार्यरत मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह बताउँछिन्।
उनले भनिन्, ‘नियमित सेवन गर्नुपर्ने औषधिका कारण मिर्गौला प्रत्यारोपित बिरामीको रोग प्रतिरोधात्मक क्षमता घटेको हुन्छ। त्यसैले अरुलाई भन्दा बढी संक्रमणको जोखिम हुन्छ।’
उनका अनुसार प्रत्यारोपण गरिएका बिरामीलाइ विशेष गरी निमोनिया, पिसाबको इन्फेक्सन, छातीको इन्फेक्सन भइरहने सम्भावना उच्च रहन्छ। सामान्य रुघाखोकीले पनि गम्भिर समस्या निम्त्याउन सक्छ।
त्यसकारण विशेष हेरचाह र उपचार आवश्यक हुन्छ।
मिर्गाैला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य प्रति सचेत नै छन्।
तर, कामको चाप र नेता कार्यकर्ताको मायाले गर्दा कहिलेकाहिँ आफ्नै स्वास्थ्यको ख्याल गर्न चुक्छन्।
यो दसैंमा पनि त्यही भएको चिकित्सकको अनुमान छ। किनभने दसैंमा प्रधानमन्त्रीको हातबाट टीका लगाउन नेता कार्यकर्तादेखि सर्वसाधरणको भीड लाग्यो।
यही क्रममा रुघाखोकीको संक्रमण भएको आशंका प्रधानमन्त्रीकी निजी चिकित्सक डा सिंहको छ।
विगत ६ वर्षदेखि प्रधानमन्त्री ओलीको निजी चिकित्सकका रुपमा स्वास्थ्य सल्लाह दिइरहेकी डा दिव्या सिंह भने यही बेला अमेरिकामा थिइन्।
त्यसैले उनले फोनमा प्रधानमन्त्री अस्वस्थ रहेको जानकारी पाइन्। मौसम परिवर्तनको समयमा प्रधानमन्त्री ओलीमा देखिएको हल्का ज्वरो र खोकीलाई उनका सल्लाहकार र सहयोगीले मौसमी रुघाखोकीका रुपमा बुझे। त्यही रुपमा जानकारी दिए।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समस्या आएको खबर पाउने वित्तिकै क्याबिनेट चिकित्सक डा दिलिप शर्मालगायतका चिकित्सकले सार्वजनिक कार्यक्रममा नजान र भेटघाट नगर्न सल्लाह दियो।
सोही सुझाव अनुसार शनिवार भृकुटीमण्डपमा आयोजित नेकपाको चियापान कार्यक्रममा उनी सहभागी भएनन्। अस्वस्थ रहेका कारण उपस्थित हुन नसक्ने जानकारी कार्यक्रममा पठाइयो भने प्रधानमन्त्री निवास बालुवाटारमै चिकित्सक बोलाएर उनको स्वास्थ्य परीक्षण तथा उपचार प्रक्रिया थालियो।
प्रधानमन्त्री अस्वस्थ रहेको समाचार बढी आइतबार फैलियो। प्रधानमन्त्री स्वास्थ्य अवस्था बारे चासो प्रकट हुन थालेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले मौसमी रुघाखोकी र हल्का ज्वरो मात्रै आएको उल्लेख गर्दै स्वास्थ्यमा ‘क्रमिक सुधार’ आइरहेको बेहोराका बिज्ञप्ति जारी गरे।
सोही विज्ञप्ति अनुसार प्रधानमन्त्री स्वास्थ्यमा खास समस्या नरहेको बुझेकाहरुले सोमबार बिहानै ओली अस्पताल भर्ना भएको खबर सुने।
सोमबार बिहान ४ः३० बजे नै प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक एन्ड भाष्कुलर सेन्टरको सिसियुमा भर्ना गरेर उपचार थालेको खबरले धेरैको मनमा सन्देह सिर्जना ग¥यो।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा जटिलता आएका कारण भर्ना गरिएको आशंका धेरैले गरे। तर, प्रधानमन्त्रीलाई सम्भावित जोखिबाट जोगाउन शतर्कता अपनाउँदै भर्ना गर्ने निर्णय लिइएको थियो।
प्रधानमन्त्रीकी निजी चिकित्सक डा सिंह सोमबार राति २ : ०० बजे नेपाल आइपुग्नेबित्तिकै स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री निवास बालुवाटार पुगिन्।
प्रधानमन्त्री स्वास्थ्य अवस्था बुझेपछि उनले मिर्गौला प्रत्यरोपित व्यक्तिमा आउन सक्ने जोखिमलाई मध्येनजर गर्दै ‘विशेष केयर’ जरुरी रहेको महशुस गरिन्। यही अनुसार उपचारमा संलग्न चिकित्सकसँग सल्लाह गरेर अस्पताल पुर्याइएको थियो।
मनमोहन सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको उपचारका लागि अहिले डा अरुण सायमीको संयोजकत्वमा डा सिंह र डा सन्तकुमार दासलगायतको चिकित्सक टोली खटिएको छ।
उनको अवस्था निरन्तर सुधारोन्मुख रहेको बताइएको छ। तर, पूर्ण निको नहुन्जेल अस्पतालको सिसियुमै राख्ने चिकित्सकहरुको तयारी छ। कम्तिमा तीन दिन प्रधानमन्त्री ओली अस्पतालमा रहनेछन्।
मिर्गौल प्रत्यारोपित बिरामीले स्वास्थ्यमा जोखिम आउन नदिन खानपान, सरसफाई र नियमित औषधि सेवनमा विशेष ख्याल राख्नुपर्ने हुन्छ।
विभिन्न संक्रमणबाट जोगिन उमालेको शुद्ध पानी पिउने, सन्तुलित भोजन गर्ने र व्यक्तिगत र वरिपरीको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। औषधिको मात्रा निश्चित समयको अन्तरालमा मिलाएर खानुपर्ने हुन्छ।
औषधिका केही साइड इफेक्ट हुने भएकाले त्यसमा पनि विशेष ख्याल पु¥याउनुपर्छ। चिकित्सहरुका अनुसार प्रत्यारोपण पछि कुनै कारण केही दिनमात्रै औषधी सेवन टुटेमा फेरी पुरानै समस्या दोहोरिन सक्छ।