विचार/ब्लग

डेंगु संक्रमणबाट बचौं

 खिम लामिछाने काजी

डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ।

डेंगु रोग डेंगु भाइरसका कारणले हुने गर्दछ। डेंगु रोग इन्डियन सबकन्टिनेन्ट, साउथ एसिया, साउथर्न चाइन, ताइवान, पेसिफिन आइल्यान्ड, मेक्सिको, अफ्रिका, सेन्ट्रल र साउथ अमेरिका जस्ता ठाउँहरुमा बढी पाइने गरेको छ। सबैभन्दा धेरै साउथ इस्ट एसिया र वेष्टर्न पेसिफिक आइल्यान्डमा देखिएको छ।

२०१५ को सेप्टेम्बर महिनामा भारतको नयाँदिल्लीमा मात्रै १ हजार ८ सय ७२ जना बिरामी डेंगु रोगले सक्रमित भएको पाहिएको थियो। केही दिनअगाडि पोखराकै एक आस्पातलमा २८ जना बिरामी डेंगु रोगले संक्रमित भएको समाचार आएको थियो।

नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी पत्ता लागेको थियो। सन २००६ मा चितवनमा डेंगुका रोगीहरु भ्ेटिएका थिए। सन् २०१० मा ९ सयभन्दा धेरै बिरामी देशका विभिन्न ठाउँमा भेटिएका थिए। तीमध्ये पाँच जनाको मृत्यु भएको थियो।

२०७३ मंसिरमा झापाको दमकमा डेंगुको संक्रमणबाट एक जना भारतीय नागरिकको मृत्यु भएको थियो। सन् २०१२ ओक्टुबरमा भारतीय सिनेमा उद्योगका चर्चित व्यक्तित्व यस चोपडाको डेंगु रोगको कारणले मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार केही दशकयता डेंगु संक्रमण नाटकीय ढंगले निरन्तर बृद्धि भइरहेको छ।

२०१६ मा वर्ड हेल्थ अर्गनाइजेसनले डेंगुको लागि ‘सनोफी पास्चर डेङभ्याक्सीय’ नामको भ्याक्सिन बनाएको थियो। यो भ्याक्सिन ९ देखि ४५ वर्ष उमेर समूहका बिरामीलाई दिने गरिन्छ। तर यो भ्याक्सिन त्यति प्रभावकारी नदेखिएको हुँदा वर्ड हेल्थ अर्गनाइजेसनले नै लामुखुट्टेबाट बच्ने र लामखुट्टे मार्नुलाई नै बढी प्रथामिकता दिएको छ।

अहिलेसम्म डेंगु मनिसबाट मनिसमा सरेको छैन। डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा डेंगु रोग सर्दछ। लामखुट्टेको अलावा मनिसहरुको तिब्र बसाइँसराई र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको छ।

भारतका केही ठाउँमा लामखुट्टे बढाउने वातावरण बनाउने घरधनीलाई ५० हजारसम्म जरिवाना लगायत दन्डसजाय दिने भनिएको थियो।  डा. सुधिर अधिकारीका अनुसार डेंगुको खास उपचार छैन। यसले संक्रमित व्यक्तिको शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित बनाइदिन्छ। गम्भीर अवस्थाका डेंगुुका बिरामीको सम्पूर्ण शरीरमा रक्तस्राव गराइदिन्छ।

डेंगुुले बिरामीको शरीरमा हुने प्लेटलेट्सको मात्रा घटाइदिन्छ। जब प्लेटलेट्स काउन्ट १० हजारबाट कम हुँदै जान्छ तब शरीरका विभिन्न भागमा रक्तश्राव हुन सुरु हुन्छ। यस्तो अवस्थामा रगत दिनुपर्ने पनि हुनसक्छ। यसको साथै रक्तचाप (ब्लड प्रेसर) कम हुने तथा फोक्सोमा पानी जम्ने जस्ता खतरा पनि हुनसक्छ।

धादिङ जिल्लामा एक साताको अवधिमा २० भन्दा बढी बिरामी जिल्लामा उपचार हुन नसकी काठमाडौँ पठाइएको र केही बिरामी जिल्लामै उपचारका क्रममा रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय, धादिङले जिल्ला सदरमुकाम, धादिङबेसी र आसपासका क्षेत्रमा डेंगु फैलिएर महामारीको रुप लिएपछि नियन्त्रण गर्न २० वटा टोली परिचालन गर्ने भएको छ।

त्यसैगरी  झापामा डेंगु रोग भदौ, असोज र कात्तिक महिनामा बढी भेटिने भएकाले यसको रोकथामका लागि प्रभावित क्षेत्रमा अभियान सुरू भएको छ। झापाका शिवसताक्षी, दमक, भद्रपुर, मेचीनगरलगायत स्थानीय तहका सबै वडामा लामखुट्टे बस्ने र त्यसको लार्भा नस्ट गर्ने अभियान सुरु भइसकेको छ।

चितवनको रत्ननगरमा गरिएको अनुगमनमा ज्वरोका बिरामी प्रशस्तै देखिएको र उनीहरुमध्ये अस्पताल आएका धेरैलाई डेंगु भएको पुष्टि भएपछि अहिले डेंगु नियन्त्रण अभियान थालिएको छ।

डेंगु एक भाइरसको कारणले हुने रोग हो। ट्रपिकल र सबट्रपिकल क्षेत्रहरुमा अधिक रुपमा यो रोग देखा पर्दछ। वर्षातको मौसममा डेंगु फिवरको प्रकोप धेरै बढ्ने गर्दछ। डेंगु रोग फैलाउने लामखुट्टेले विशेषगरी दिनको समयमा टोक्ने गरेको पाइन्छ। डेंगु सार्ने लाम्खुट्टेहरु जमेको पानीको वरपर हुने गर्दछन्।

डेंगु एक प्रकारको भइरल इन्फेक्सन हो। जसलाई ४ प्रकारमा वर्गीकरण गरिएको छ। जस्तै डेनवी १, डेनवी २, डेनवी ३ र डेनवी ४। यो रोगका लक्षणहरु लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि मात्र देखा पर्दछन्। यो रोगको बिरामीलाई समय मै अस्पातल पु¥याउन सकेको खण्डमा नियन्त्रण गर्न सकिन्छ।

हालसम्म डेंगु रोगको लागि कुनै विशेष औषधि बनिसकेको छैन। यद्यपि डेंगु रोगले ग्रस्त पारेर सिकिस्त बनाइसकेको बिरामीको लागि भने विविध उपचार गरिन्छ। डेंगु रोगले सक्रमित व्यक्तिहरुमा रुघाखोकी र तिब्र ज्वरो आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खलखली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरुमा दुखाइ हुने, बान्ता हुने, रिङ्गटा लाग्ने हुन्छ।

त्यस्तै स्वास फेर्न अप्ठ्यारो हुने, पेट दुख्ने, शरीर सुन्निने, छालामा राता बिमिरा देखिने, शरीरका अंगहरुबाट रक्तश्राव हुने, (विशेषगरी नाक, मुख र मांसपेशी (डेंगु हेमोरेज फेबर), पिसाब रातो आउने, दिसा कालो हुने, बेहोस हुने, ब्लड प्रेसर कम (लो) हुने, रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगमा रक्तसंचार सुचारु रुपले हुन नसक्ने जस्ता लक्षणहरु हुने गर्दछन्।

डेंगु रोगका लक्षणहरु लेप्टोस्पाइरोसिस, टाइफाइड, एलो फेवर, स्कारलेट फिवर, रकी माउन्टेन फिवर, मेनिन्जोकोक्सेमिया, मलेरिया, चिकनगुनिया, फुड पोइजनिङ तथा अन्य रोगका लक्षणसँग पनि मिल्दाजुल्दा हुन्छन्।

डेंगु रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर जमेको पानी छ भने तुरुन्त पुरिदिने, लामखुट्टे भएको ठाउँमा जाँदा शरीर पुरै ढाकिने गरी कपडा लगाउने, डेंगु लागेको लक्षण देखापरेको अवस्थामा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्रमा जाने, डेंगु लागेको शंका हुनासाथ अत्यधिक तरल पदार्थ सेवन गर्ने, अस्पताल वा स्वास्थ्य केन्द्र पुगेपछि डाक्टर तथा स्वास्थ्यकर्मीले भनेअनुसार गर्ने गर्नुपर्छ।

यो रोग लागेपछि लाक्षणिक उपचार गर्दै जाने हो। डेंगुुका बिरामीले मेवाको पातको जुस पिउँदा राम्रो हुन्छ भनिन्छ। डेंगुको बिरामीले एस्पिरिन, आइब्रुफिन जस्ता दुखाइ कम गर्ने औषधि सेवन गर्नु हुँदैन। यस्ता औषधिले रक्तश्राव बढाउने गर्दछ। पारासिटामोल तथा कोडिन जस्ता औषधिको प्रयोग गर्ने गरिन्छ।

गम्भीर बिरामीलाई अस्पातलमा राखेर फ्लुड हाइड्रेसन, ब्लड ट्रान्सफ्युजन, प्लेटलेट्स ट्रान्सफ्युजन, ब्लड प्रेसर सपोर्ट तथा अन्य इन्टेन्सिभ केयरको आवश्यकता पर्न सक्छ। १० वर्षभन्दा कम उमेर समूहका बाल बालिकामा यो रोग सर्ने प्रबल सम्भाबना हुन्छ। यो रोगको कारण ६ देखि ३० प्रतिशतसम्म बालबालिकाको मृत्यु दर रहेको छ। एक वर्षभन्दा कम उमेरका बालबालिकालाई डेंगु रोग लागेको खण्डमा मृत्यु हुने सम्भावना बढी हुन्छ।

लामखुट्टेलाई वातावरणबाट नै हटाउन सक्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो। त्यसैले वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु जरुरी देखिन्छ। लामखुट्टेले खुला ट्यांकी, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेका सिसा वा भाँडामा जम्मा भएको पानी तथा खाल्टाखुल्टीमा जम्मा भएको पानीमा फूल पार्ने हुँदा यस्ता ठाउँमा पानी जम्न नदिनु र जमेको पानीलाई पुर्ने व्यवस्था गरिनु पर्दछ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने