विचार/ब्लग

क्यान्सरलाई जिते पछि मोडिएको मेरो बाटो

 बन्दना खाँड, अधिकारकर्मी तथा क्यान्सर रोकथाम अभियन्ता

२०७२ साल भदौ महिना। एक्कासी छाती चस्किएर दुखेझैं महसुस भयो। सुरुमा सामान्य नै होला भनेर खासै चासो दिइनँ। 

तर, दुखाई घटेन। दुखाई सुरु भएको त्यस्तै १५ दिन जति भएको थियो, नुहाउँदा स्तन छामेँ।

दाहिने स्तनको मुन्टोको माथिपट्टी डल्लो जस्तो महशुस भयो।  

मनमा चिसो पस्यो। 

एकाएक डर पलायो।

तुरुन्तै चेकअपक लागि भरतपूर अस्पताल गएँ। 

चेकअपका क्रममा थाहा भयो, स्तनमा क्यान्सर भइसकेको रहेछ।

म छांगाबाट खसेजस्तै भएँ।

तर, सँगसँगै अर्को खुसीको कुरा पनि सुन्न पाइयो कि क्यान्सर धेरै फैलिन पाएको रहनेछ।

धन्न... मनमनै भनेँ।

डाक्टरले भने, ‘पहिलो स्टेजको क्यान्सर हो, आत्तिनु पर्दैन।’

तर, पनि रोग लागेपछि मनमा डर त हुने नै रहेछ।

मैले नेटमा पनि आफ्नो रोगको बारेमा धेरै सोधखोज गरेर हेरँे।

सुरुमा थाहा पाउँदा नराम्रो लागेको थियो तर मैले तनाव लिइनँ।

काम गर्दा व्यस्त भइने हुनाले मन मोडिने हुन्थ्यो। आफूलाई त्यस्तो भएको छ भनेर मैले ख्याल गर्दिनथें। सामान्य दैनिक काम गर्थें पहिलाको जस्तै।

बिपी मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा उपचारको क्रममा क्यान्सर बिरामी महिलाहरुसँग मेरो कुरा साटासाट हुन्थ्यो। उनीहरुको दुःख पीडा मैले नजिकबाट नियाल्ने मौका पाएँ। उनीहरुले विभिन्न समस्याबाट गुज्रिरहेका थिए। 

म आफू बिरामी भए पनि कसरी उनीहरुलाई सहयोग गर्न सक्छु भन्ने मनमा लाग्यो। मैले मनोसामाजिक सहयोगको भावनाले क्यान्सर रोकथाम अभियान थालनी गर्ने भित्रदेखि नै आवश्यकता महसुस गरें। 

मेरो उपचार सफल भयो।

मैँले क्यान्सरमाथि विजय हासिल गरें।

यो रोगमाथि मैले त विजयी हासिल गरें। तर, धेरैले समयमा रोगका बारेमा जानकारी नपाउँदा ज्यान गुमाइरहेको खबर उपचारका क्रममा मैले पाएको थिएँ।

त्यसकारण म जस्तै धेरै महिलाहरुले पनि समयमा नै रोग पहिचान गरेर यो रोगमाथि विजय हासिल गर्न सक्छन् भनेर सचेतना अभियानमा लागें।

मेरो मुमाको सामाजिक सेवाको भावना र श्रीमानको हौसलाले अभियानको सोचलाई झन् उत्प्रेरणा थप्यो। 

यही साहस र उत्साहका साथ मैले २०७३ मा महिलाहरुको महान पर्व तिजको अवसरमा क्यान्सर रोकथाम अभियानको शुरुवात गरें।

स्तन तथा पाठेघर क्यान्सर सम्बन्धि जानकारी नभएर, संकोच मानेर, डराएर अकालमा ज्यान जानबाट बचाउनु, क्यान्सर हुनै नदिने रोकथामका सचेतना फैलाउनु, भइ हालेपनि बिरामीलाई क्यान्सर पनि अन्य रोग सरह नै हो भन्ने दृढ मनोबलका साथ आवश्यक उपचार गर्न प्रोत्साहन दिनु, मनोसामाजिक सहयोग गर्नु नै क्यान्सर जितेपछिको मेरो नयाँ जिवनको लक्ष्य रहेको छ । 

पहिला आफ्ना लागि मात्र बाँचे जस्तो लाग्थ्यो, अहिले केहि गर्न अरुको लागि पनि बाँचेकी छु जस्तो लाग्छ। 

क्यान्सर जितेर नयाँ जीवन पाएसँगै साहस र सक्रियता अझ बढेको अनुभव मैले गरेकी छु।(स्तन तथा पाठेघर) सम्बन्धि सचेतनामुलक अन्तरक्रिया गरी अभियानको थालनी भयो। यसको मुख्य सन्देश भनेको  महिलाहरुले आफ्नो स्वास्थ्य प्रति सदैव सजग एवम् सचेत रही कुनै समस्या आइहाले संयमता अपनाई अगाडी बढ्नुपर्छ भन्ने थियो।

क्यान्सर रोकथाम अभियान अन्तर्गत स्थानीय स्तरमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम तथा तालिम, ग्रामीण भेगमा केन्द्रित रही महिला स्वास्थ्य शिविर परिक्षण तथा क्यान्सर परीक्षण शिविर, स्तन तथा पाठेघर क्यान्सर बिरामीहरुसँग अन्तरक्रिया सहित मनोसामाजिक सहयोग, बिद्यालयमा सचेतना, नेपाल सरकारको स्वास्थ्य सेवा सुबिधा, नितीगत जानकारी, सञ्चारकर्मीहरुसँगको छलफल, विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय दिवसका अवसरमा सचेतनामूलक ¥याली, गोष्ठि आदि सञ्चालन गरिरहेका छौँ। 

त्यसैगरी हाम्रो फेसबुक पेज क्यान्सर प्रिभेन्सन क्यामपिएन  मार्फत विभिन्न जनचेतनामूलक जानकारीहरु दिने गरेका छाँै।

त्यसका साथै बिपी कोइरला मेमोरियल क्यान्सर अस्पताल र आशा अस्पताल चितवनको प्राबिधिक सहयोगमा नियमित रुपमा महिला स्वास्थ्य शिबिर तथा क्यान्सर परिक्षण शिबिर, क्यान्सर बिजेताहरुको सञ्जाल तथा परिचय संस्थाको टोलीको प्रयासमा सचेतनामूलक तथा रोकथामका कार्यक्रमहरु गर्न सफल भएका छाँै।

हामीले क्यान्सर रोकथाम अभियानका लागि एउटा कोषको स्थापना गरेका छौ। जसमा परिवार, साथीहरु, आफन्तहरुले सहयोग गरिरहनु भएको छ भने विभिन्न क्लब एवं सरोकार राख्ने संस्थाहरुसँग पनि सहकार्य हुने गरेको छ।  

अभियानका लागि बजेट अपुग छ।

दुर्गम क्षेत्रको माग र आवश्कता अनुसारको कार्यक्रम गर्न सकेका छैनौँ। यसको प्रभावकारीताको लागी स्थानिय सरकार, सरकारी निकाय, अस्पताल, सम्बन्धित सरोकारवालाहरुबिच अझ समन्वय र सहकार्यको खाँचो रहेको छ । 

मैले क्यान्सर सम्बन्धी जानकारीमा अपडेट हुने गरेको छु। साथै अरुले समस्या बारेमा बुझ्न चाहेमा सकेसम्म जानेको कुरा भन्ने गरेकी छु।

निराश महिला बिरामीहरुलाई बेडमै गएर आत्मबल बढाउने, बिरामी लगायत परिवारलाई मनोसामाजिक सहयोग गर्ने, ग्रामिण भेगका महिलाहरुलाई अस्पतालमै गएर लाईनमा बसेर सम्बन्धित डाक्टरहरुसँगको उपचारमा सहयोग गर्ने, उपचारका क्रममा घर फर्किने गाडी भाडा समेत नरहेका बिरामीलाई सम्बन्धित ब्यक्ति सस्ंथाहरुसँगको समन्वयमा आर्थिक सहयोग जुटाउने कार्यमा पनि लागि परेकी छु।

यो अभियानलाई कसरी ब्यापक गराउन सकिन्छ भनेर संचारकर्मी, डाक्टर, विज्ञ, साथीहरुसँग रणनीतिक योजना बनाउनमा पनि व्यस्त छु।

यो दैनिकी मैले अन्य जिम्मेवारीका साथ आफनो समय मिलाएर स्वयम्सेवकको रुपमा गरिरहेको छु जसमा मलाई आत्मसन्तुष्टी मिल्ने गर्दछ।

म जस्ता स्तन क्यान्सर विजेताहरुलाई यो अभियानमा डो¥याउने लक्ष्य अनुरुप सञ्जालिकरण गरी बिभिन्न सचेतनामूलक तथा रोकथामका कार्यक्रमहरु गर्दै आएको छु। 

नेपालमा समग्रमा क्यान्सरको अवस्था हेर्दा एक नम्बरमा फोक्सोको क्यान्सर, दुईमा पाठेघरको मुखको क्यान्सर र तेस्रोमा स्तन क्यान्सर रहेको पाइन्छ। 

अहिले आएर युवतीहरुमा स्तनको समस्या बढदै गएको छ। मद्यपान, धुमपान, ढिलो विवाह, ढिलो बच्चा जन्माउने, हर्माेनल औषधीको धेरै प्रयोग स्तन क्यान्सरका प्रमुख कारण मान्निछन्।

अक्टोबर महिनालाई विश्वभर ‘स्तन क्यान्सर सचेतना महिना’ को रुपमा हरेक वर्ष मनाउने गरिन्छ। स्तन क्यान्सर, यसका सम्भावित कारण, जोखिम एवं रोकथाम र उपचारको बारेमा जनचेतना जगाउनु तथा क्यान्सर पिडितलाई आत्मबल र प्रोत्साहन प्रदान गर्नु यसको उदेश्य रहेको छ। 

स्तन क्यान्सरको प्रभावकारी उपचार एवम् रोकथामका लागी सम्भावित जोखिमलाई समयमै गर्नु सबैभन्दा  बुझ्नु तथा शुरुवाती चरणमा नै स्तन क्यान्सरको पहिचान भई आवश्यक उपचार भएमा पूर्ण रुपमा निको हुन सक्छ । नेपालमै सहज, सुलभ तरिकाले उपचार सम्भव छ र भइरहेको पनि छ।

म सम्पूर्णलाई के भन्छु भने क्यान्सरको पर्यावाची मृत्यु होइन, आफुभित्र रहेको सकारात्मक उर्जाको पहिचान, दृढ आत्मबल, सकारात्मक सोच नै क्यान्सर पूर्ण रुपमा निको हुने बलियो आधार हो। 

क्यान्सर रोकथाम हामी सबैको साझा अभियान हो र यसको ब्यापकताको लागी सबैले हातेमालो गरौं।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने