धनगढी- सेती अञ्चल अस्पतालमा उपचारका क्रममा शनिबार एक सुत्केरीको मृत्यु भएको छ। कञ्चनपुरको झलारी बस्ने २३ वर्षीया तुलसी धामीको मृत्यु भएको हो। अस्पतालका डाक्टरहरुको लापरबाहीका कारण उनको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।
गत कार्तिक १५ गते सिजरिङबाट ती महिलाले बच्चा जन्माएकी थिईन्। ‘बच्चा जन्माएको करीब दुई घन्टापछि रक्तश्राव भएपछि अस्पतालको आईसियुमा भर्ना गरिएको थियो’ महिलाका श्रीमान् दीपक धामीले भने, ‘चार बजेतिर उनी बोल्न सक्ने भएकी थिईन। तर, शनिबार अचानक मृत्यु भयो।’ उनले डाक्टरले बिरामीलाई समय नदिँदा मृत्यु भएको आरोप लगाए।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बिरामीको मृत्युको कारण जटिल रहेको बताए। ‘मृत्यु के कति कारणले भएको हो त्यो रिपोर्ट हेर्न पाएको छैन’ उनले भने।