काठमाडौं – नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक)ले सरकारको निर्णय भन्दै आफूखुसी रगतको मुल्य बढाएको छ।
रक्तदाताबाट निशुल्क रुपमा पाइने रगतलाई ब्लड बैंकले प्रतियुनिट एक सय रुपैयाँ मुल्य बढाउने निर्णय गरेको हो। रगतको मुल्य बढाउने तथा अन्य नीतिगत निर्णय गर्ने अधिकार राष्ट्रिय रक्तसञ्चार ब्युरोलाई रहन्छ। ब्युरोले हालसम्म यस्तो कुनै पनि निर्णय गरेको छैन।
तर, ब्लब बैंकले ब्युरोको निर्णय भन्दै झुटो विवरण पेश गरी आफूखुसी मनलाग्दी रगतको मुल्य बढाएको हो। ब्लड बैंकले मुल्य बढाएको सूचना बालकुमारीस्थित ब्लड बैंकको कार्यालयमा टाँसेको छ। कात्तिक १५ गतेबाट लागू हुने गरी रिफ्रेसमेन्टर अन्य खर्च व्यवस्थाको लागि मुल्य बढाइएको सूचना ब्लड बैंकले टाँसेको भेटिएको हो। रक्तदानमा रिफ्रेसमेन्ट भनेको रगत दान गरेपछि रक्तदातालाई दिइने जुस तथा फलफुल खर्च हो।
ब्लड बैंकले ब्युरोको निर्णयअनुसार भने पनि ब्युरोकी प्रमुख कन्सलट्यान्ट डा मुकुन्दा शर्माले मूल्य बढाउने विषयमा कुनै पनि निर्णय नभएको जानकारी दिइन। उनले ब्यूरोको नाम जोडेर ब्लड बैंकले झुट बोलिरहेको बताइन्। 'यो विषयमा हाम्रो ध्यानाकर्षण भएको छ,' उनले भनिन्, 'आइतबार हामी यो विषयमा आवश्यक कारबाही अगाडि बढाउँछौं।'
ब्लड बैंकमा रगत लिन जाँदा बिरामीका आफन्तले प्रति युनिट सरकारी अस्पतालका लागि भए ५ सय २५ रुपैयाँ र निजी अस्पतालका लागि भए ६ सय ७५ रुपैयाँ तिर्नुपर्छ। ब्लड बैंकले १५ गतेपछि भने यी दुवै अस्पतालका लागि लिँदै आएको रकममा एक सय रुपैयाँ बढी लिन थालेको छ। मूल्य बृद्धिपछि अब सरकारी अस्पतालका बिरामीले ६ सय २५ र निजीका बिरामीले ७ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ।
दाताले निशुल्क दिएको रगतमा ब्लड बैंकले व्यापार गर्न नहुने नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्मचार्या बताउँछन्। उनले बिरामीलाई निशुल्क रगत उपलब्ध गराउनुको सट्टा उल्टै रिफ्रेसमेन्टका नाममा पैसा बढाएर ब्लड बैंकले बदमासी गरीरहेको पनि बताए।
उनले बढाइएको उक्त रकम तत्काल फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी पनि दिए।