काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयमा बिहान ११.३० बजे तिर पुग्दा कर्मचारी र सेवाग्राही अलमल देखिन्थे।
कारण थियो कामको फाइल बोकेर कुन सचिवको कार्यकक्षमा जाने? मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी पाएका डा सुशील प्याकुरेलको कार्यकक्षमा जाने कि सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएकी डा पुष्पा चौधरी आउने समयसम्म पर्खने?
मन्त्रालयमा यस प्रकृतिको घटना पहिलो पटक भएकोले अनौठो अनुभव भइरहेको भन्दै मानिसहरु गफिइरहेका भेटिए।
अदालतबाट अन्तरिम आदेश पाएपछि स्वास्थ्य सचिव चौधरी मन्त्रालय पुगी कामकाज सुरु गरिसकेकी छन्।
गत असोज २८ गतेको मन्त्रीपरिषद्ले डा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तान्ने निर्णय गरेको थियो। उक्त निर्णय गैरकानुनी भएको भन्दै डा चौधरीले बिहिबार सर्वोच्चमा शरणमा पुगेकी थिइन्।
विवादित काम गरेपछि डा चौधरीलाई मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेपछि उनी सर्वोच्च अदालतको शरणमा पुगेकी थिइन्।
सर्वोच्च अदालतका प्रधान न्यायधीश ओमप्रकाश मिश्रले शुक्रबार सचिव डा पुष्पा चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णय कायान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि उनी आज करिव १२ बजे प्रफूलित मुद्रामा मन्त्रालयमा पुगेकी थिइन् ।
अदालतले सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तान्ने निर्णय कार्यान्वयनमा नगर्न र सरकारले उक्त निर्णय किन गरेको हो भन्नेमा कारण देखाउ आदेश जारी गरेको हो।