टिप्स/जानकारी

'महान डाक्टर' धन्वन्तरी को हुन्? कसरी काम गर्छ आयुर्वेदले?


धन्वन्तरी हिन्दु धर्ममा देवताका वैद्य मानिन्छन्। उनी महान डाक्टर थिए, जसलाई देवपद प्राप्त भएको थियो। हिन्दु धार्मिक मान्यताका अनुसार धन्वन्तरीलाई भगवान विष्णुको अवतार मानिन्थ्यो।

पृथ्वी लोकमा धन्वन्तरीको अवतरण समुद्र मन्थनको समयमा भएको थियो। शरद पूर्णिमामा चन्द्रमा, कात्तिक द्वादशीमा कामधेनु गाई, त्रयोदशीमा धन्वन्तरी, चतुर्दशीमा कालीमाता र औंशीका दिन भगवती लक्ष्मीको समुद्रबाट प्रादुर्भाव भएको थियो। दीपावलीको दुई दिनपूर्व धनतेरसमा भगवान धन्वन्तरीको जन्म भएकाले यस दिनलाई धनतेरसको रुपमा पनि मनाइन्छ। यही दिन आयुर्वेदको पनि प्रादुर्भाव भएको थियो।

धन्वन्तरीका चार हात छन्। माथिको दुवै हातमा शंख र चक्र धारण गरेका छन् भने अन्य दुईमध्ये एक हातमा जलुका र औषधि तथा अर्को हातमा अमृत कलश लिएका छन्। धन्वन्तरीको प्रिय धातु पित्तल मानिन्छ। यहीकारण धनतेरसका दिन पित्तलको भाँडा किन्ने चलन छ। धन्वन्तरीलाई आरोग्यका देवता पनि भनिन्छ।

उनले अमृतमय औषधिको खोजी गरेका थिए। उनको वंशमा दिवोदास जन्मिए, जसले शल्य चिकित्साको पहिलो विश्वविद्यालयय काशीमा स्थापना गरे। उक्त विश्वविद्यालयका पहिलो  प्रधानाचार्य सुश्रुत बनाइएका थिए। सुश्रुत दिवोदासका शिष्य र ऋषि विश्वामित्रका पुत्र थिए। उनले नै सुश्रुत संहिता लेखे। सुश्रुत विश्वकै पहिलो शल्यचिकित्सक मानिन्छन्। भगवान शंकरले विषमान गरे र धन्वन्तरीले अमृत दिएको विश्वास गरिन्छ।  

आयुर्वेदको इतिहास
पुरातत्वविद्का अनुसार आयुर्वेदको रचना इशापूर्व ३ हजारदेखि ५० हजार वर्षमा भएको हो। सबैभन्दा पहिला ब्रम्हाबाट प्रजापतिले, प्रजापतिबाट अश्विनीकुमारले, अश्विनीकुमारबाट इन्द्रले र इन्द्रबाट भारद्वाजले आयुर्वेदको अध्ययन गरे।

च्यवन ऋषि र अश्विनीकुमार समकालिक मानिन्छन्। आयुर्वेदको विकासमा च्यवन ऋषिको अति महत्वपूर्ण योगदान छ। त्यसपछि भारद्वाजले आयुर्वेदको प्रभावबाट दीर्घजीवन प्राप्त गरे र अन्य ऋषिमाझ प्रचार गरे। त्यसपछि पुनर्वसु आत्रेयले अग्निवेश, भेल, जतू, पाराशर, हारीत र क्षारपाणीनामक ६ शिष्यलाई आयुर्र्वेदका उपदेश दिए। ती ६ शिष्यमध्ये सबैभन्दा बढी बुद्धिमान अग्निवेशले सर्वप्रथम एक संहिताको निर्माण गरे, अग्निवेशतन्त्र। जसलाई पछि चरकले ‘चरक संहिता’ नाम राखे, यही नै आयुर्वेदको आधारस्तम्भ मानिन्छ।

सुश्रुतका अनुसार महर्षीहरुकासाथ सुश्रुत भगवान धन्वन्तरीकहाँ आयुर्वेद अध्ययन गर्न गए। धन्वन्तरिले उनीहरुलाई उपदेश दिदैं भने, ‘ब्रह्माले सृष्टि सिर्जना गर्नुपूर्व नै अथर्ववेदको उपवेदम मानिएको आयुर्वेदको सहस्र अध्याय–शत सहस्र श्लोक प्रकाशित गरे । फेरि मानिसलाई अल्पमेधावी ठानेर आठ भागमा विभाजन गरे।

यसरी धन्वन्तरीले आयुर्वेदको प्रकाशन ब्रम्हद्वारा प्रतिपादित भएको मानेका छन् । ब्रम्हाबाट दक्षप्रजापति, उनीबाट अश्विनीकुमारद्वय तथा अश्विनीकुमारबाट इन्द्रले आयुर्वेदको अध्ययन गरेका हुन्। चरक संहिता तथा सुश्रुत संहितामा वर्णित इतिहास एवम् आयुर्वेदनको अवतरणका क्रममा क्रमशः आत्रेय सम्प्रदाय तथा धन्वन्तर सम्प्रदाय मान्य छ।

आयुर्वेदका आचार्यका अनुसार शरीर, इन्द्रीय, मन तथा आत्माको संयोगलाई आयु भनिन्छ । यो चार प्रकारको हुन्छ।

सुखायु : कुनै पनि प्रकारको शारीरिक या मानसिक विकासबाट वञ्चित भएपनि ज्ञान, विज्ञान, बल, पौरुष, यश, परिजनआदिबाट समृद्ध व्यक्तिलाई सुखायु भनिन्छ।

दुखायु : सबै साधनसम्पन्न भएपनि शारीरिक या मानसिक रोगबाट पीडित अथवा निरोग भएपनि साधनहीन या स्वास्थ्य तथा साधन दुवैबाट हीन व्यक्तिलाई दुखायु भनिन्छ।

हितायु : व्यक्तिगत रुपमा केही कमी भएपनि जो व्यक्ति विवेक, सदाचार, सुशीलता, उदारता, सत्य, अहिंसा, शान्ति, परोपकार आदि गुणयुक्त छ र समाज तथा लोककल्याणमा व्यस्त रहन्छ भने उसलाई हितायु भनिन्छ।

अहितायु : जो व्यक्ति अविवेक, दुराचार, क्रुरता, स्वार्थ, दम्भ, अत्याचार आदि दुर्गुणबाट युक्त तथा समाज तथा लोकका लागि अभिशाप हुन्छ भने उसलाई अहितायु भनिन्छ।

वेद शब्दको सत्ता, लाभ, गति, विचार, प्राप्ति र ज्ञानको साधनको यो अर्थ हुन्छ र आयुको वेदलाई आयुर्वेद भनिन्छ। अर्थात्, जुन शास्त्रमा आयुको स्वरुप, आयुको विविध भेद, आयुका लागि हितकारक र अप्रमाण शरीर, इन्द्रीय, मन, आत्मा, तिनमा सबै या कुनै एकको विकासका साथ हित, सुख र दीर्घायुको प्राप्तिको साधन तथा यसको बाधक विषयको निराकरणको उपायको विवेचना भएको छ भने त्यसलाई आयुर्वेद भनिन्छ।

कसरी काम गर्छ आयुर्वेदले ?
आयुर्वेद बम्हाण्ड (मानव शरीर) सहित पाँच महान तत्व– पृथ्वी, जल, अग्नी, वायु तथा आकाशमा आधारित छ । यी तत्व या शक्तिको मानिसले तीन दोषमार्फत् प्रतिनिधित्व गरिरहेको छ :

वात : वात हावा र आकाश तत्वसंग संबन्धित छ । यो शारीरिक गतिसंग संबन्धित छ । जस्तै, श्वास, रक्तसञ्चार, मुटुको धड्कन आदि।

पित्त : पित्त पानीसंगसंबन्धित छ । यो उर्जाले शरीरको तापमान, पाचन, अवशोषणसहित पाचनप्रणाली तथा पोषण नियन्त्रित गर्छ ।

कफ : कफ पानी र पृथ्वी तत्वसंग संबन्धित छ । यो विकास तथा सुरक्षाका लागि जिम्मेवार उर्जा मानिन्छ । यसले शरीरको सबै भागमा पानीको आपूर्ति, छालाको मोस्चराइज र प्रतिरक्षा प्रणालीलाई कायम राख्छ ।

उद्देश्य : आयुर्वेदको उद्देश्य हो– स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु । यसका लागि शरीर प्रकृतिको अनुकुल देश, काल आदिको विचार गर्नु नियमित आहार–बिहार, चेष्टा, व्यायाम, शौच, स्नान, शयन, जागरण आदि पर्छन्।

यस्तै, प्रत्येक कार्य विवेकपूर्वक गर्नु, मन तथा इन्द्रियलाई नियन्त्रित राख्नु, देश, काल आदि परिस्थितिको अनुसार आफ्नो–आफ्नो शरीर आदिको शक्ति र अशक्तिको विचार गरी कुनै कार्य गर्नु, मलमूत्र आदि उपस्थित वेगलाई  नरोक्नु, इष्र्या, द्वेष, लोभ,अहंकार आदिबाट बच्नु पनि आयुर्वेदको उद्देश्यभित्र पर्छ।

आयुर्वेदको अर्को उद्देश्य हो, रोगी व्यक्तिको रोग भगाएर उसलाई स्वस्थ बनाउनु । यसका लागि प्रत्येक रोगको कारण, लिंग–रोग परिचायक विषयजस्तै, पूर्वरुप, सम्प्राप्ति (प्याथाजेनिसिस) तथा उपशयानुपशय (थिराप्युटिकटेस्ट्स) औषधिको ज्ञान आवश्यक छ । यी तीन कुरालाई आयुर्वेदको त्रिस्कन्ध (तीन प्रमुख शाखा) मानिन्छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने