डक्टर्स आर्टिकल

आयुर्वेदका बदलिंदा आयाम

 डा मदन भण्डारी, एमएस (आयु)

आयुर्वेद, योग जस्ता पूर्वीय चिकित्सा पद्धतिको उद्गम देश हो नेपाल।  हिमालयको काखमा पाइने जडिबुटी सदियौंदेखि रोगको निवारणार्थ उपयोगी भएका छन्। तर, यसो भनिरहँदा नेपालमा रहेको जडिबुटीको भण्डार इतिहासमै सीमित भइराख्ने त होइन भन्ने खुल्दुली र डर मनमा लागिरहन्छ।

दक्षिण एसियाकै पहिलो औषधि निर्माण गर्ने सिंहदरबार वैद्यखाना, हजारौं हस्तलिखित ग्रन्थहरु भएको देश, यार्सागुम्बा जस्ता दुर्लभ वनस्पतिहरु पाइने मेरो देश अझै स्वस्थ छैन, बिमार छ।

छिमेकी राष्ट्र भारतले आयुर्वेद, योग लगायतका चिकित्सा प्रणालीलाई भारतीय चिकित्सा प्रणाली भन्दै संसारभरि प्रचार गर्दैछ। जुन २१ को ‘विश्व योग दिवस’ त्यसमध्येको कोशेढुङ्गा हो।

यस आर्थिक वर्षदेखि भारतले विश्वकै ठूलो चिकित्सा योजना ‘आयुष्मान भारत—नेसनल हेल्थ प्रोटेक्सन स्किम’ सुरु गरेको छ। हेल्थ प्रोटेक्सन मिसनका निमित्त आयुर्वेद, योग लगायतका चिकित्सा पद्धतिको उचित समायोजन हुने कुरा पनि त्यसमा उल्लेख गरिएको छ।

यसै सिलसिलामा आयुष मन्त्रालयबाट निकासा गरिएको बढ्दो बजेट यसको स्पष्ट संकेत हो ।

सन् २०१७ मा दुबईमा आयोजित अन्तर्राष्ट्रिय आयुष कन्फरेन्सले भव्य सफलता र प्रशंसा पाएको थियो। त्यस्तै ब्राजिल सरकार, स्वास्थ्य मन्त्रालयले तेस्रो अन्तर्राष्ट्रिय कन्फरेन्स, रियो दि जेनेरियोमा मार्च २०१७ मा गर्‍यो। त्यसलगत्तै २०१७ जुनमा हावर्डमा तेस्रो अन्तर्राष्ट्रिय कन्फरेन्स इन्टिगे्रटिभ मेडिसिनमा भयो, जहाँ क्यान्सर एवं उपसमन चिकित्सामा आयुर्वेद एवं योगको महत्वबारे विशेष चर्चा गरिएको थियो।

बैङ्गलोरस्थित स्वामी विवेकानन्द योग अनुसन्धान केन्द्रमा ठूलो संख्यामा क्यान्सर एवं मधुमेह रोगमा एकीकृत चिकित्सा प्रणालीको असरबारे अध्ययन भइरहेको छ।

त्यति मात्रै नभएर  हावर्ड, क्यालिफोर्निया विश्वविद्यालयमा, मासाचुसेट जेनेरल हस्पिटलमा पनि योग एवं आयुर्वेदमा एकीकृत मोडलमा अध्ययन भइरहेको छ।

देशभित्र बाटाका खाल्डाहरु पुरिएका छैनन्। राजनीति काठमाडौंको धुलोभन्दा प्रदुषित छ। यही राजनीतिले भारतमा आयुष चिकित्सा पद्धतिलाई विश्वव्यापीकरण गर्दैछ भने त्यही राजनीतिले नेपालका बहुमुल्य जडिबुटी भारतमा पैठारी गर्दैछ। भएका संरचनामा घिनलाग्दो राजनीति गरी शिथिल पारिंदै छ।

पहिले देशमा पर्याप्त विशेषज्ञ जनशक्ति थिएनन्। यो समस्याको विस्तारै समाधान हुँदैछ। विशेषज्ञ जनशक्तिका लागि भारतमा ढोका खुलेपछि विस्तारै उच्च शिक्षा लिएर विशेषज्ञहरु देश फर्किंदै छन्।

तर देशका सरोकारवाल पक्षहरुसँग अब आउने दक्ष जनशक्तिहरुको कहाँकहाँ प्रतिस्थापन गर्ने, कस्तो सम्भावना खडा गर्ने भन्नेबारे स्पष्ट मानचित्र नभएको जस्तो देखिन्छ।

सरकारी संरचनाहरुमा प्रान्त, केन्द्रहरुमा कसरी नयाँ पद सिर्जना गर्ने, कसरी जनशक्तिको परिचालन गर्ने भन्ने कुरा अनिर्णित देखिन्छ।

सम्भावना  
- सर्वप्रथम हामीसँग रहेका पुराना ग्रन्थहरुको खोज, संरक्षण र पुनर्लेखन प्रकाशित गर्नुपर्दछ। ती ग्रन्थहरुमा नेपालले आफ्नो प्याटेन्ट अधिकार लिनुपर्दछ।
- विद्यालय स्तरदेखि नै आयुर्वेद र योग हाम्रो सभ्यता र सम्पत्ति हो भनेर बोध गराउनुपर्छ। त्यसका लागि त्यसै अनुसारको पाठ्यक्रम तयार पार्नुपर्दछ।
- गाउँगाउँमा व्यावसायिक जडिबुटी खेतीका लागि कृषकहरुलाई प्रोत्साहन र सहयोग गर्नुपर्दछ। साथै उत्पादित वस्तुको उचित बजारको पनि व्यवस्था गराउनु पर्दछ।
- सरकारद्वारा धेरैभन्दा धेरै जनशक्तिका लागि विभिन्न विषयमा उच्चशिक्षा हासिल गर्ने मौका सिर्जना गर्न पहल थाल्नुपर्दछ।
- भएका औषधि निर्माण गर्ने कम्पनीहरुको गुणस्तर विकास गर्न जिएमपी लागू गर्ने र सरकारी निकाय जस्तै सिंहदरबार वैद्यखाना अझै गुणस्तरीय र ठूलो परिमाणमा औषधि उत्पादन गर्न सक्नेगरी विकास गराउनु पर्दछ।
- आयुर्वेद चिकित्सा पद्धतिमा खोज एवं अनुसन्धानलाई बढावा दिन राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, आयुर्वेद क्याम्पस कीर्तिपुरलाई स्पष्ट खाकासहित अनुसन्धान गर्न सक्नेगरी विकास गराउनु पर्दछ।
- पञ्चकर्म, योग लगायतका विशेष चिकित्सासहितको अस्पताल स्थापना गरी विश्वबाट चिकित्सा लिन आउने बिरामीलाई आकर्षण गर्नेगरी ‘हेल्थ टुरिजम’ को विकास गर्नुपर्दछ।  

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने