क्यालिफोर्निया- खतरनाक रोगसँग लड्न सजिलो छैन। त्यो पनि ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सरसँग। हामी एउटी गर्भवती महिला जो ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर पीडित भइन्, उनले कसरी डरलाग्दो रोग र उत्पन्न परिस्थितिको सामना गरिन् भन्ने एउटा अविश्वसनीय कथा प्रस्तुत गर्न चाहन्छौं।
भयो के भने, सेप्टेम्बर २००७ मा ३७ वर्षीया स्टेफेनी हसफोर्डले आफ्नो स्तनमा केराउको दाना जत्रो डल्लो पलाएको भेउ पाइन्। त्यतिबेला उनी र उनका पति ग्रान्ट आफ्नो एउटा छोरा हुर्काउँदै थिए। र, उनीहरु परिवारलाई विस्तार गर्ने क्रममा पनि थिए।
जोडी पारिवारिक योजनाको खास अवस्थामा थियो। तर हसफोर्डको स्वास्थ्य चेकजाँचपछि अवस्था अर्कै भयो। अल्ट्रासाउण्डसँगै गरिएको मेमोग्राम र बायोप्सी रिपोर्टले दिमागै खल्बलाउने परिणाम देखाइदियो। उनलाई त ट्रिपल नेगेटिभ बे्रस्ट क्यान्सर पो भएको पत्ता लाग्यो।
हसफोर्ड परामर्शको लागि दौडधुपमा थिइन्। उनले आफ्नो स्तनमा दुःखाइ महसुस भएको र आफ्नो महिनावारी पनि ढिलो भएको महसुस गर्न थालिन्। यो जोडीले पाँच वर्षदेखि बच्चाको तयारी गरिरहेको थियो। यसपटक स्टेफेनीको गर्भ परिक्षण गरियो।
पेटमा त बच्चा पो रहेछ।
जीवन र मृत्युको निर्णय
‘म एकदमै त्रस्त थिएँ, के गर्ने कसो गर्ने भनेर सोच्न सकिरहेको थिइनँ, हसफोर्डले भनिन्, ‘मेरा पति र मेराे मिश्रित भावना थियो। हामी एक प्रकारले म गर्भवती भएको हुँदा खुसी पनि थियौँ र एकप्रकार त्यो सुन्दा पूरै उजाडिएको जस्तो पनि।’
उनीहरुले चेकअप गरेपछिको समाचार एकदम डरलाग्दो थियो। एकदम विरक्तलाग्दो।
एकातिर पेटमा बच्चा छ। र, अर्कोतिर डरलाग्दो स्तन क्यान्सर। बच्चा हुर्काउन जोडी लालयित थियो। हसफोर्डलाई गर्भपात गर्नुपर्छ भनेर भनियो। उनीहरुले विभिन्न ठाउँमा गएर कुरा बुझ्दा पनि सबैतिरबाट यस्तै निरशपूर्ण उत्तर नै पाए।
एकदिन उनलाई उनका पतिले क्यान्सर उपचार र रिसर्चको लागि चलेको ‘सिटी अफ होप’ बारेमा थाहा पाएको खबर सुनाए। त्यहाँ गएर अझै एकचोटी परामर्श लिन जाने हो कि भनेर पतिले आग्रह गरे। तर हसफोर्ड अर्को ‘अपोइन्मेन्ट’का लागि त्यति धेरै इच्छुक थिइनन् । उनलाई फेरि त्यही दुःखलाग्दो कुरा सुन्नु थिएन। तर पतिले पुनः आग्रह गरे।
उनीहरुले क्यालिफोर्नियामा अवस्थित सिटी अफ होपमा डा.बेन्जामिन पाजलाई भेटे र परामर्श लिए। आखिर कुरा अर्कै आयो। हसफोर्डको विरक्तिएको मनमा थोरै भए पनि अलग प्रकारको आशाले प्रवेश पायो।
हसफोर्डले सुनाइन्, ‘डा. पाज अहिलेसम्म मैले भेटेकाहरुमध्ये एक सच्चा व्यक्ति हुन्। जब हामीले गर्भपात गर्ने कुरा गर्यौँ उनले गर्नुपर्दैन भने। उनले गर्भावस्थासँगै उपचार पनि सँगै हुनसक्ने बताए।’
त्यसले त सबै परिवर्तन गरिदियो।
‘हामी रोगलाई फोकस गर्छौँ मान्छेलाई होइन’ डाक्टर पाज भन्छन्, ‘सुरुमा त यी सबै कुरा उनीहरुको जीवनमा कत्तिको महत्वपूर्ण छ भनेर बुझ्नुपर्छ। स्टेफेनी र ग्रान्टलाई एउटा असल जीवन बाँच्नु थियो, रोग त लाग्यो नै, उपचारसँगगै उनीहरु पारिवारिक खुशी पनि चाहन्थे। मैले उनीहरुलाई महसुस गर्नुपर्दथ्यो। गरेँ।’
डा. पाजलाई थाहा थियो क्यान्सरको बेला गर्भावस्थामा जहिल्यै पनि मानिस बचाइहाल्ने सम्भव हुँदैन। उनी भन्छन् ‘मलाई लाग्यो हसफार्डको केशमा कम जोखिम छ। पहिलो तीन महिनामा केमोथेरापीले भ्रूणलाई असर नगर्ने कुरा थाहा भयो ।’ किनकी उनको क्यान्सर हार्मोनले भएको थिएन, गर्भावस्थालाई प्रभाव पारेको थिएन।
क्यान्सर उपचार, गर्भावस्था र गर्भपात
हसफोर्डलाई पहिलो स्टेजको क्यान्सर भएको पत्ता लागेको थियो र ट्युमर सानो थियो। उनले पहिलो ३ महिनामा लम्पेकटोमीको सर्जरी गराइन्। जब उनी दोश्रो ‘ट्राइमेस्टर’मा पुग्थिन् अनि मात्र उनलाई केमोथेरापी दिन सकिन्थ्यो। जब उनले चार चरणको केमो लिइन्,उनलाई राम्रो महसुस हुँदै आयो।
‘अचम्मको कुरा त के भयो भने म बिरामी परिनँ। मैले हल्का रुपमा पीडा सहेँ। म अलि डराएको अवस्थामा थिएँ कि कतै मेरो बच्चालाई पोषक तत्व नुपग्ला भनेर तर म र मेरो बच्चा उच्च निगरानीमा थियौं’, हसफोर्डले अनुभव सुनाइन् ‘मलाई आफूले खान सक्नेजति खान भनिएको थियो। मेरो कपाल झरेपछि त्यसले काम गरेको थियो थिएन म छक्क पर्छु।’
धर्मसन्तानको लागि प्रोसेस भइरहेको थियो । र मार्चमा एक दिन लामोसमयसम्म प्रतिक्षारत फोन आयो। हसफोर्डका पति घरमा दोस्रो सन्तान ल्याउन चीन उडे र छोरी लिएर आए। मे महिना आयो र ठीक समयमा हसफोर्डले एक स्वस्थ्य छोरी जन्माइन्।
तर हसफोर्डको उपचार अझै सकिएको थिएन। उनी उपचारमै थिइन्। उनलाई अझ चार चरणको केमो दिनुपर्नेथियो। र यो पालि त उपचारको प्रभाव डरलाग्दो थियो। उनले विकिरण उपचारमा राम्रो प्रभावको लागि केमोथेरापीसँगै डबल मासटेक्टोमी रोजिन्।
उनले जीवन कसरी जिउने भनेर सोच्न डा. पाजको सल्लाह सुझाव पछ्याएकी गरेकी थिइन्। हसफोर्ड भन्छिन् ‘यो सबै नितान्त व्यक्तिगत रोजाइको विषय हो। तपाईलाई थाहा छ तपाईलाई आफ्नो जीवन कसरी सुन्दर बनाउनुपर्छ। मेरो केशमा सिटी अफ होप को हात थियो। ’
जोखिम मूल्यांकन गर्दै
क्यान्सर उपचाररत हसफोर्डले डबल मासटेक्टोमी गराउने निर्णय गरेकी थिइन्। डा. पाज भन्छन्, ‘त्यो क्यान्सर जित्नको लागि गरिएको थिएन, यो त उनको भविष्यमा जोखिम कम होस् भनेर गरिएको थियो।’ डाक्टर पाजको भनाइ के पनि छ भने, ‘धेरै मानिसहरु क्यान्सर उपचारले क्यान्सर रोक्छ भन्ने भ्रममा छन्। त्यसो होइन। डबल मासटेक्टोमीले तपाईले उपचार गरिरहेको जोखिम र प्रभाव घटाउँदैन। यसले नयाँ क्यान्सर हुन नदिन जोखिम मात्र घटाउँछ।’
त्यसैले डाक्टर पाजले उपचाररत अरु महिलाहरुलाई यस्तो सल्लाह नदिएका रहेछन्। तर हसफोड अझै जवान थिइन् र उनकोमा अर्को नयाँ क्यान्सरको सम्भावना थियो। उनले ‘बिआरसिए जिन’ बोकेकी थिइनन् तर उनमा फेरि क्यान्सर देखिन सक्ने सम्भावना चार भागमा एक भाग थियो। र, यसबारे उनी सोच्न पनि चाहँदैनथिन्।
सफल उपचारको लागि पाज यी दम्पत्तीको साहसलाई श्रेय दिन्छन्।
‘उनमा सबैभन्दा आक्रामक रुपको स्तन क्यान्सर थियो। क्यान्सरको सामना गर्न र उपचारका लागि असिमित साहस चाहिन्थ्यो र यो बुझ्न जरुरी थियो कि उनी मर्न सक्थिन् र आफ्नो सन्तानको स्याहार सुसारको लागि नहुन सक्थिन्’ डाक्टर पाजले मुस्कुराउँदै भने, ‘मैले सबै सम्भावनाबारे उनीहरुलाई भनेको थिएँ।’
विशेषज्ञको सुझावको महत्व
हसफोर्डले स्तन क्यान्सर भएका महिलाहरुलाई केही निर्णय गरिहाल्नु अगाडि विकल्पहरु खोज्नुपर्ने सल्लाह दिन्छिन्। यदि तपाई यो सिटी अफ होप जस्तोमा जान सक्नुहुन्न भने अर्को कुनै यस्तो स्थानमा जानुस् उनीहरुसँग ‘अपटुडेट रिसर्च’ र विशेषज्ञहरु छन्।
‘तपाईलाई कुन क्यान्सर छ त्यो अर्के विषयको कुरा हो। यदि तपाई गर्भवती हुनुहुन्छ या अरु कुनै केशमा फरकपन छ भने त्यो महत्वपूर्ण कुरा हो’ हसफोर्ड उपचारको निर्णयलाई लिएर फेरि पछाडि नफर्कन प्रोत्साहन गर्छिन्।
डाक्टर पाज महिलाहरुलाई भन्न चाहन्छन् स्तन क्यान्सर एउटा मात्रै रोग होइन। अवस्थाले फरक पार्छ। त्यसैले पहिल्यै क्यान्सर उपचार गराइसकेका साथीहरुको सुझावबाट उपचार गराउनु सही निर्णय होइन।
त्यहाँ धेरै तत्वहरु हुन्छन् जसले उपचार र गर्भावस्थालाई प्रभाव पार्न सक्छ। जो यो रोगका बारेमा राम्रो जानकार छ उसित सल्लाह लिनुपर्ने पाज सुझाउँछन्। भन्छन्, ‘ विविध कारणले गर्दा सबै उत्कृष्ट विज्ञकोमा जान सक्दैनन्। तर यो होइन की जसले क्यान्सर रोग भनेर पत्ता लगाएका छन् उनीहरुबाट सुझाव नपाउने होइन। तपाईले आफ्नो केशका लागि थोरै मात्र खर्चिन सक्नुभयो भयो भने विशेषज्ञसँग सल्लाह लिनु राम्रो हुन्छ।’
पाजको अर्को सुझाव पनि छ, क्यान्सर उपचारका लागि लामो समय लाग्न सक्छ त्यसैले सहनशीलता चाहिन्छ। ‘स्टेफेनीलाई आक्रामक रुपको क्यान्सर थियो र १०० प्रतिशत सम्भावना सुरुको तीन वर्षमा हुने गर्छ र त्यो डरलाग्दो छ।
अहिले उनी निको भएको ११ वर्ष पुगिसकेको छ। स्टेफेनीले क्यान्सरसँगको आफ्नो आश्चार्यलाग्दो उपचार यात्रा ‘बाल्ड, फ्याट र क्रेजी’मा समावेश गरेकी छिन्। उनी आशावादी छिन् की, उनको यो कथाले यस्ता अवस्थाबाट गुज्रिनेलाई मद्धत गर्नेछ ।
के हो ट्रिपल नेगेटिभ बे्रस्ट क्यान्सर?
यो क्यान्सरलाई टिएनबिसी पनि भनिन्छ। यो ब्रेस्ट क्यान्सरको स्टेज हो जुन एस्ट्रोजन, प्रोगेस्टोरोन र ह्यूमन ग्रोथ फ्याकटर रिसेप्टर २ को कमीको कारणले हुने गर्दछ।
यदि टेस्टमा तीनै पक्षहरु नेगेटिभ आउँछन् भने ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर हुने गर्दछ। जुन ब्रेस्ट क्यान्सरको एकदम खतरानाक स्टेज हो। ब्रेस्ट क्यान्सरका बिरामीमध्ये हरेक १० जनामा यो क्यान्सर लाग्ने सम्भावना हुन्छ।
टिएनबिसी एकदम खतरनाक हुनुका साथै स्तनबाहिर फैलिन सक्ने सम्भावना हुन्छ। यो उपचारपछि पनि केही वर्षपछि फेरि हुने सम्भावना हुन्छ। यो क्यान्सर विशेषतः युवतीहरुलाई र अफ्रिकन–अमेरिकन महिलाहरुमा देखिएको छ र ‘बिआरसिए जिन म्युटेशन’ बोकेकालाई देखिएको छ।
ब्रेस्ट क्यान्सर डट अरगनाइजेशनका अनुसार यो क्यान्सरबाट बच्ने सक्ने पाँच वर्षे अवधि सम्भावना ७७ प्रतिशत मात्र हुन्छ।
( हेल्थलाइन डटकमको यो सामग्री स्वास्थ्यखबरकर्मी बुनु थारुले अनुवाद गरेकी हुन्। )