विचार/ब्लग

आयुर्वेद चिकित्सा : सम्भावना र चुनौती

 अच्युत शाली घिमिरे

आयुर्वेद चिकित्सा पद्धति हाम्रो सभ्यता, संस्कृति एवं जीवनका परम साध्य धर्म, अर्थ, काम, मोक्षसँग सान्निध्य राख्ने पद्धति हो। मानवलगायत सम्पूर्ण प्राणीको स्वास्थ्यको सम्वर्द्धन एवं रोगहरुको निवारणका लागि निरन्तर प्रेरणा दिने, आफू पनि बाँच्ने अरुलाई पनि बचाउने शिक्षा दिने विद्या भनेको आयुर्वेद हो।

आयुर्वेदले प्राणी मात्रको स्वास्थ्यको सम्वर्द्धन लागि एकातिर अश्वायुर्वेद, हस्त्यायुर्वेद, वृक्षायुर्वेदको रुप लिएको छ। त्यस्तै कायचिकित्सा, शल्य, शालाक्य, कौमारभृत्य, रसायन, वाजीकरण, भूतविद्या, अगदतन्त्र  पहिलेदेखि प्रसिद्ध आठ अंगहरुका स्थानमा यसले द्रव्यगुण, रसशास्त्र, भैषज्यकल्पना आदि उप अंगहरुको पनि विकास गर्दै आएको छ।

आयुर्वेद चिकित्सा पद्धति प्राचीनकालदेखि नै स्वस्थ, सवल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त स्थापित छ। मंगलदायी प्रेरणाको मूलको रुपमा प्रसिद्ध दिव्यौषधिहरुको भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल यस निम्ति धन्य रहेको छ।

हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितम्। मानं च तच्च यत्रोक्तमायुर्वेदः स उच्यते।। च.सू.१।४१।।
जुन शास्त्रमा हितायु, अहितायु, सुखायु, दुःखायु यी ४ प्रकारका आयु र आयुका लागि हित अर्थात पथ्य, अहित अर्थात अपथ्य, आयुको मान (प्रमाण र अप्रमाण) र आयुको स्वरुप बताइएको हुन्छ त्यसलाई आयुर्वेद भनिन्छ।

यतश्चायुष्याणी अनायुष्याणि च द्रव्य गुणकर्माणि वेदयति अतोअपि आयुर्वेद:च.सं.सू.३०।२३

यस शास्त्रले आयुष्य (आयुको सुरक्षा र सम्वर्द्धन गर्ने) हित द्रव्य, गुण र कर्मका साथ अनायुष्य (आयुको ह्रास वा नाश गर्ने) अहित द्रव्य, गुण र कर्महरुको जानकारी दिन्छ, त्यसैले यसलाई आयुर्वेद भनिन्छ।

प्राचीनकालदेखि नै आयुर्वेद क्षेत्रसँग परिचित र त्यसका प्रयोगकर्ता ऋषिमुनिहरुको आश्रयस्थल नेपाल रहेको छ। आयुर्वेदीय चिकित्साअन्तर्गत प्रयोग हुने दैवव्यपाश्रय एवं युक्तिव्यपाश्राय औषधहरुको प्रयोगको परम्परा यहाँ आज पनि व्यापक रुपमा कायम रहेको पाइन्छ।

अतीतकालमा आयुर्वेद आप्तोपदेश तथा विद्वानहरुको चिन्तन एवं अनुभवको आधारमा विकसित हुँदै आएको हो। यसको प्रयोगात्मक परिपाटी निकै विस्तृत भए तापनि आजको वैज्ञानिक चिन्तन र प्रयोगको  परिपाटीबाट त्यसको स्पष्ट रुपरेखा विद्वानहरुले प्रस्तुत गर्न नसक्दा, आयुर्वेद क्षेत्रको जुन रुपमा विकास र विस्तार हुनुपर्ने हो, त्यो हुन सकेको छैन।

आयुर्वेद चिकित्सालाई नेपालको राष्ट्रिय चिकित्साअनुरुप विकास गर्न विषयगत अनुसन्धान तथा प्रयोगका साथै विज्ञहरुको सभामा संवाद, विचार विमर्श, संशोधन परिष्कारसहित विशिष्ट शोधग्रन्थहरुको प्रकाशन तथा वितरणसँगै सामाजिक तथा संस्थागत प्रतिबद्धता सहित कार्ययोजना, आर्थिक व्यवस्थापन समेत चाहिन्छ। साथसाथै सरोकार सम्पूर्णले गुणस्तर, व्यावसायिकता, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गर्ने उद्देश्य समेत बोक्नुपर्छ।

आयुर्वेद जीवनको ज्ञान हो र आयुर्वेदको उद्देश्य रोगको उपचार गर्नु मात्र नभई स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु पनि हो। नेपालमा वैज्ञानिक तवरबाट अध्ययन अध्यापन, सिप अभिवृद्धिको प्रशिक्षण हुने र विभिन्न विधामा विशेषज्ञ सेवा पनि उपलब्ध भएकाले तथा आयुर्वेदका औषधिहरु विभिन्न ट्राइल, रिसर्च, ल्याब्रोटरी इभ्यालुएसनसहित मानव जीवनको सुरक्षालाई ध्यानमा दिएर बनाइएको हुँदा, आयुर्वेदले रोगीको जीवनमा सकारात्मक भूमिका खेल्ने कुरामा दुईमत छैन।

जण्डिस, ग्यास्ट्राइटिस, पाइल्स, फिस्टुला आदिले मात्र नेपाली समाजमा चिनिएको आयुर्वेदमा अथाह रोगहरुको उपचार सजिलै हर्बल तथा हर्बो मिनरल औषधि र थेरापीहरुका माध्यमबाट हुने कुरा सबैले बुझ्नु जरुरी छ। जस्तै:हेपाटाइटिसको आयुर्वेद उपचार यसरी हुन्छ- आयुर्वेद वात, पित्त र कफको त्रिदोष सिद्धान्तमा आधारित छ र कलेजो पित्तको स्थान हो।
तसर्थ कलेजोको रोगहरुमा पित्तशामक औषधि(आरोग्यवर्धनी वटी, लोकनाथ रस, लिभ ५२, एम्लिकेएर आदि), पञ्चकर्म-विरेचन(दिशा पातालो बनाउने) र पित्तशामक आहारविहार(फलफूलको रस पर्याप्त खाने, आराम गर्ने) बाट उपचार गरिन्छ।
त्यस्तै नसर्ने रोगहरुका लागि जीवनशैली र खानपानमा समेत नियमन गर्न आयुर्वेदमा ऋतुचर्या, दिनचर्याको समेत वर्णन गरिएको छ। आयुर्वेदमा रोगका कारणहरुमा प्रज्ञापराध, असात्म्यइन्द्रियार्थसंयोग र परिणाम छन्। धी, धृति र स्मृति भंग भएर गरिने अशुभ कर्मलाई प्रज्ञापराध भनिन्छ र यसको निवारण यौगिक परामर्शबाट गर्न सकिन्छ।

त्यस्तै दीर्घकालीन रोगहरुमा बिरामीहरुमा नैराश्य, तनाव र मानसिक समस्याहरु थपिन्छन् र त्यसका लागि आयुर्वेदमा मनलाई नियन्त्रण गरेर गरिने उपचार पद्धति पनि छ जसलाई सत्वावजय भनिन्छ। अतः चारैतिरबाट उपचारमा हार खाएपछि मात्र अन्तिम विकल्पका रुपमा आयुर्वेद चिकित्सा अपनाउनुभन्दा प्रारम्भिक अवस्थामा नै यसको महत्व बुझ्न सके उपचार पद्धति प्रभावकारी बन्नुका साथै बिरामीले समेत कष्ट व्यहोर्नु पर्दैन।

समदोषः समाग्निश्च समधातुमलाक्रियः।
प्रसन्नात्मेन्द्रीयमनःस्वस्थ्य इत्यभिधियते।सुश्रुत।
शरीरका विभिन्न प्रक्रियाहरु जस्तै दोष, अग्नि, धातु, मल क्रियालाई, सम अवस्थामा राखी आत्मा, इन्द्रीय र मन प्रसन्न राख्नु वा आफ्नो सच्चिदानन्द स्वरुपमा फर्कनु नै स्वास्थ्य हो। जसका लागि पनि आयुर्वेद अपरिहार्य छ।

ऋषिमुनिहरुको शाश्वत चिन्तन र साधनाबाट मानवजातिकै आदिम सभ्यतासँगै विश्वभरि फैलिएको  सर्वप्राचीन जीवनविज्ञान वा चिकित्सा विधा आयुर्वेद, आजको आवश्यकता हो भन्ने कुरा नकार्न सकिदैन। आयुर्वेद क्षेत्रको समसामयिक र अपेक्षित सुदृढीकरणका लागि देशका संघीय संरचनाअनुसार स्थानीय निकायहरुले जडिबुटीलगायत आधिकारिक स्रोतसाधनको परिचालन गर्नु जरुरी छ।

मौलिक राष्ट्रिय चिकित्सा प्रणाली आयुर्वेदको अझ विकास र विस्तारका लागि सरकारी स्तर, दातृनिकाय, निजी क्षेत्र र आयुर्वेद सम्बद्ध सबै सरोकार वाला निकायहरु समयमै जवाफदेही हुनु नितान्त जरुरी छ।

(जुनियर इन्टर्न, चिकित्साशास्त्र अध्ययन संस्थान, ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने