काठमाडौं- आयुर्वेद उपचार सेवा दिँदै आएको केन्द्रीय आयुर्वेद चिकित्सालय, नरदेवीले सय वर्ष पूरा गरेको छ।
आयुर्वेदिक उपचार पद्धतिबाट जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले आयुर्वेद चिकित्सालय नरदेवीको स्थापना वि. सं. १९७४ को वैशाखमा स्थापना भएको थियो।
चार शैय्याबाट सुरु भएको आयुर्वेद अस्पताल अहिले १ सय १८ शैय्यामा विस्तार भएको छ। तर स्थापनादेखि आजसम्म आइपुग्दा चिकित्सालयको विकास अपेक्षाकृत रुपमा हुन भने सकेको छैन।
आयुर्वेदका माध्यमबाट उपचार गरी जनताको भरोसाको केन्द्र बनेको यो चिकित्सालयले सेवासुविधा र उपकरणसँगै विशेषज्ञ सेवा प्रभावकारी बनाउन नसक्दा यसको लोकप्रियता कम हुँदै गएको हो कि भन्ने बहस पनि हुन थालेका छन्।
लामो समयदेखि नरदेवीमा उपचार गराउँदै आएका सेवाग्राहीहरु पनि समय अनुसार अस्पतालले उपचार सेवामा नयाँपन ल्याउन नसकेको बताउँछन्।
नानुमैयाँ शाक्य ७० वर्ष पुग्न लागिन्। काठमाडौंकी बासिन्दा उनले सानैबाट नरदेवीमा उपचार गराउँदै आएकी छिन्। ‘अस्पताल त पहिलेभन्दा झन् बिग्रियो नि, भवन मात्र ठूलो बनेर के गर्नु? पहिलेका जस्ता चिकित्सक पनि हुँदैनन्। सरसफाई कम छ।’
लामो समय अस्पतालमा विभिन्न जिम्मेवारीमा रही काम गरेका पूर्वमहानिर्देशक डा. शेषराज आचार्यका अनुसार चिकित्सालयले स्थायी नेतृत्व नपाउँदा अस्पताल खस्कँदै गएको बताउछन्।
समक्ष र स्थायी नेतृत्वभन्दा राजनीतिक चलखेल बढी भएको र बाहिर खुलेका आयुर्वेद क्लिनिकसँग चिकित्सालयको प्रतिस्पर्धा क्षमता कम भएका कारणले बिरामीको चाप कम हुँदा अपेक्षाकृत विकास हुन नसकेको उनको ठम्याई छ। सरकारले पनि आधुनिक उपचार पद्धतिलाई नै बढी प्राथमिकता दिएकोे र मन्त्रालयमा आधुनिक चिकित्सक नै सचिव हुने व्यवस्थालगायतका कारण अस्पताल पछि परको उनको विश्लेषण छ।
स्वास्थ्यमन्त्री भन्छन्, ‘आयुर्वेद विश्वविद्यालय, सात प्रदेशमा आयुर्वेद औषालय बनाउछौं’
यसैबीच, अस्पतालले धन्वन्तरी जयन्ती तथा आरोग्य दिवस पारेर एक कार्यक्रम आयोजना गरी शतवार्षिकी मनाएको छ।
औपचारिक कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उप्रेन्द्र यादवले प्राचीन पृष्ठिभूमि बोकेको आयुर्वेद चिकित्सालयले आफूलाई समयानुसार विकास गर्न नसकेको बताए।
उनले भने, ‘आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन जडिबुटीलाई व्यवस्थित बनाउँदै आयुर्वेद शिक्षालाई स्तरीय बनाउन आयुर्वेदको छुट्टै विश्वविद्यालय बनाउन गृहकार्य भइरहेको छ। सातै प्रदेशमा प्रादेशिकस्तरीय आयुर्वेद चिकित्सा प्रशिक्षण केन्द्र स्थापना गरिनेछ।’
आयुर्वेदको केन्द्र जटिबुटीको व्यवस्थापन, अध्ययन तथा अनुसन्धानमा काम गर्ने र नसर्ने रोगको न्यूनीकरणमा समेत प्रभावकारी काम गर्ने उनले बताए। उनले आयुर्वेद विश्वविद्यालयको विधेयक ल्याउन तयारी भइररहेको जानकारीसमेत दिए। ‘जसरी नेपालमा विभिन्न क्षेत्रमा अध्ययन, अनुसन्धान भई अत्याधुनिक सेवासुविधा उपलब्ध हुँदै आएको छ, त्यसको दाँजोमा आयुर्वेद क्षेत्र पछाडि परेको छ,’ उनले भने।
'अायुर्वेदको विकासमा मास्टरप्लान बनाउनुपर्छ'
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले आयुर्वेदका क्षेत्रमा नयाँ अनुसन्धान हुन नसकेको बताए।
आयुर्वेद अस्पताल नरदेवीले केही रोगको उपचार आधुनिक उपचार पद्धतिभन्दा पनि राम्रो गर्ने भएपनि व्यवस्थापन पक्ष कमजोर हुँदा केन्द्रीय अस्पतालका रुपमा विकास गर्न नसकेको बताए। यसका लागि बृहत् ‘मास्टरप्लान’ बनाई अघि बढ्नुपर्ने राज्यमन्त्री यादवको भनाइ छ।
आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले वीर अस्पताल र नरदेवी अस्पतालको इतिहास समयमा सुरु भएपनि वीरलाई जस्तो आयुर्वेद अस्पताललाई महत्व नदिँदा पछि परेको धारणा राखे। सरकारले आवश्यक बजेट पनि आयुर्वेदमा लगानी नगरेको उनको धारणा छ।
आयुर्वेद चिकित्सालय, नरदेवीका निमित्त निर्देशक डा. श्यामबाबु यादवले केन्द्रीय अस्पतालमा हुनुपर्ने न्यूनतम मापदण्ड पनि सरकारले उपलब्ध नगराएको गुनासो गरे। उनले भने, ‘हामीलाई न्यूनतम सुविधा समेत दिइएको छैन, अस्पतालका उपकरणसमेत निकै पुराना भइसके। नयाँ प्रविधि र उपकरणसँगै आवश्यक जनशक्ति पनि व्यवस्थापन सरकारले गरिदिनुपर्छ।’
अस्पतालले बहिरङ्ग विभाग, अन्तरङ्ग विभाग, पञ्चकर्म, क्षारसूत्रलगायतका आयुर्वेदका विभिन्न विधाका साथै अक्युपञ्चर, फिजियोथेरापी, रेडियोलोजी लगायतका सेवा दिँदै आएको छ।
शतवार्षिकीमा सम्मान
शतवार्षिकीको अवसर पारेर अस्पतालले आयुर्वेदको विकासमा उल्लेख्य भूमिका खेलेका अस्पतालमा कार्यरत पूर्व निर्देशकहरुलाई सम्मान गरेको छ। सो अवसरमा धनिकलाल भरखेर, डा. शेषराज आचार्य, कृष्णराज पराजुली, डा. ठाकुरराज अधिकारी र डा. देवकला भण्डारीलाई सम्मान गरिएको हो।