डक्टर्स आर्टिकल

नेपालगन्जका अस्पतालमा आइपुग्ने छालाका बिरामीमध्ये ६० प्रतिशतमा फंगस

 डा कुमार पोखरेल

भनिन्छ, छाला भित्री रोगको दर्पण हो। कुनै पनि भित्री रोग लागेको छ भने त्यसको संकेत कुनै न कुनै रुपमा छालामा देखापर्न सक्छ। चाहे त्यो रोग लाग्नुअघि होस् या त रोग लागेको समयमा। रोग लागिसकेपछि पनि कतिपयमा यो समस्या रहन सक्छ।

छाला शरीरको महत्पूर्ण अंग हो। सामान्य अवस्थादेखि यसले निकै ठूलो जटिलता पनि निम्त्याउन सक्छ। यसलाई यत्तिकै बेवास्ता नगरी छाला चिलाउनुको कारण पत्ता लगाई उपचार गराइहाल्नुपर्छ। कहिलेकाहीँ त्यस्तो सामान्य समस्याले भित्री गम्भीर रोगको संकेत पनि गरिरहेको हुन्छ।

नेपालगन्ज वरपरका जिल्ला र सुदूरपश्चिमका जिल्लाबाट उपचारका लागि छालाका बिरामीहरु आउँछन्। पछिल्लो यसखाले समस्या लिएर आउने बिरामीको संख्या पनि बढ्दो छ। 

स्वास्थ्यमा जनचतेना नभएकाले, सरसफाईमा ध्यान नदिँदा संक्रमणबाट हुने रोग धेरै हुन्छ। ढुसी (फंगस) बढी देखापर्ने रोग हो। यो बच्चादेखि बूढाबूढीसम्मलाई यो रोग देखापर्छ। मेडिकल भाषामा ढुसीलाई ‘टिनिया’ भनिन्छ। गर्मी मौसममा छालासम्बन्धी समस्या लिएर आउने बिरामीमध्ये लगभग ६० प्रतिशतलाई टिनिया भएको पाइन्छ। यसमा दुबी, दाद लगायतका सबै रोग पर्छन्।

सात–आठ महिनासम्म गर्मी हुने ठाउँ भएकाले टिनियाको संक्रमण उच्च छ। अर्को भनेको ब्याक्टेरियल इन्फेक्सन हो। 

नेपालमा कुष्ठरोग छैन भनी सरकारी भनाइ आइरहे पनि पश्चिम क्षेत्रमा कुष्ठरोग अत्यधिक देखिएको छ। यसबारे सरकारलाई धेरै पटक रिपोर्ट पनि गरेका छौँ। जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य विभागको कुष्ठरोग महाशाखाबाट विज्ञ व्यक्तिहरु आई छलफल तथा शिविरहरु गर्नुहुन्छ। ती शिविरमा कुष्ठरोगको बिरामी कम मात्रा भेटिन्छन् तर नेपालगन्जका ठूला भनिएका अस्पतालमा कुष्ठरोगका बिरामी अहिले पनि आइरहेका हुन्छन्। 

कुष्ठरोग अरु छालाको रोगसँग मिल्दोजुल्दो देखिने भएकाले अरु सामान्य संक्रमण हो भनेर आफै औषधि प्रयोग गरिरहेको पाइन्छ। 

छालाका विशेषज्ञ चिकित्सकको अभावमा आफूखुसी मेडिकलमा गई मल्हम किनेर लगाउने गर्छन्। बिरामी निको हुने रोगमा पनि यसकै कारण दु:ख पाउँछन्। लामो समय बितेपछि जब हातखुट्टा झमझम गर्छ, नसा दुख्छ, लुलो हुन्छ तब अस्पतालमा आउने गर्छन्। 

फुस्रो, लाटो दाग देखिए मात्र कुष्ठरोग हो भन्ने सरकारले सुरुमा गरेको अपुरो प्रचारले कुष्ठरोग समाजमा लुकेर बसेको थियो। तर लाटो फुस्रो र सेतो दाग मात्र कुष्ठरोग होइन। कुष्ठरोगको पछिसम्म उपचार हुन नसकेमा अपांग हुने जोखिम बढ्छ। 

आजकाल स्वास्थ्यको पहुँच, कुष्ठरोग महाशाखाको चासो र ध्यान गएकाले बिरामी अपाङ्ग हुनबाट धेरै हदसम्म कम भएको छ। यहाँ उपचार गराउन आउने कुष्ठरोगका बिरामी धेरै थारु समुदायको पाइएको छ। त्यसमा पनि पुरुषमा बढी देखिएको छ। 

हाम्रो समाजमा अझै पनि कुष्ठरोगीलाई घृणित भावले हेर्ने प्रचलन हराएको छैन।

केही वर्षअघि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत छँदा उपचारका लागि आएकी एक महिलामा कुष्ठरोग देखियो। हामीले उनलाई एक वर्ष औषधि नबिराई खानुपर्छ भन्यौँ। ती महिलाले आफूलाई भएको रोगबारे श्रीमान्‌लाई समेत नभन्न आग्रह गरिन्। 

श्रीमान्‌ले थाहा पाए डिर्भास दिन्छन् भन्ने डर रहेछ उनमा। उनले एक वर्षसम्म परिवारका कुनै सदस्यलाई थाहा नै नदिई औषधि खाइन्। 

महिला घरबाट कम निस्कने, उपचारमा सजिलै पहुँच राख्न नसक्ने भएकाले पनि अस्पतालमा आउने पुरुष नै बढी हुन्छन्।

नसा सम्बन्धी समस्या देखिन थालेपछि बिरामी नसा रोग विशेषज्ञकहाँ पुग्छन्। त्यहाँ रोगको कारण पत्ता नलागेपछि बल्ल हामीकहाँ रिफर हुन्छन्। त्यो बेलासम्म निकै ढिलो भइसकेको हुन्छ। 

नेपालगन्जका अस्पतालमा कुष्ठरोगबाहेक अन्य छालाका संक्रमणबाट हुने रोगीहरु पनि आउँछन्। गर्मी ठाउँ भएकाले अल्ट्राभ्वाइलेट लाइटद्धारा उत्पन्न हुने रोगहरु जस्तो चाया-पोतो, फोटो एलर्जीका रोगहरुको साथै गर्मीका कारणले निस्कने विभिन्न किसिमका घमौरा, बिबिरा, जटिल खालका डन्डीफोर भएर पनि बिरामी आउँछन्। 

त्यसैले गर्मी ठाउँमा भएका मानिसहरुले छाता ओढेर हिड्ने, अनुहारका साथै घाम पर्ने भागमा राम्रो खालको सनस्क्रिन लगाउने गर्नुपर्छ। 

पहिलेभन्दा अहिले छालासम्बन्धी चासो लिएर जाँच गराउनेहरुको संख्या बढेको छ। अहिले त नेपालगन्जमा भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा छालाका विशेषज्ञ चिकित्सकहरु पनि छन्।

धेरै अस्पतालमा अहिले छालाकै विशेषज्ञहरु उपलब्ध भएकाले कुनै पनि छालाका रोग देखिएमा विशेषज्ञलाई देखाई उपचार गराउँदा समयमै रोगको निदान गर्न सकिन्छ।

(छालारोग विशेषज्ञ पोखरेल नेपालगन्ज मेडिकल कलेजमा सह–प्राध्यापकको रुपमा कार्यरत छन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने