काठमाडौं— त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगञ्जले मेरिटका आधारमा विद्यार्थी भर्ना नगरेको भन्दै विद्यार्थीहरुले धर्ना दिएका छन्।
मेरिटका आधारमा पहिलो ‘ओपन हाउस काउन्सिलिङ्ग’मा सहभागी ३ हजार ७ विद्यार्थीहरुले आफुले चाहेको कलेजमा भर्ना लिन पाउने व्यवस्था अनुसार आफुहरुले भर्ना हुन नपाएको विद्यार्थीहरुले आरोप लगाएका छन्।
एमविविएस र विडिएसमा भर्ना हुन चार हजार पाँच सय विद्यार्थीले प्रवेश परीक्षामा नाम निकालेका थिए। पहिलो काउन्सिलिङ्गमा सहभागी ३ हजार ७ सय विद्यार्थीहरुले आफुले चाहेको कलेजमा भर्ना हुन नपाएमा दोस्रो कलेजमा भर्ना हुन पाउने व्यवस्था छ।
पहिलो चरणमा कलेजको सीट बाँकी रहे दोस्रो चरणमा मेरिटका आधारमा पहिलो चरणमा भर्ना हुन नपाएका विद्यार्थीलाई नै मौका दिनुपर्ने हुन्छ अर्थात दोस्रो पटकको काउन्सिलिङ्गमा पनि एक देखि ३ हजार ७ सयसम्मका विद्यार्थीलाई नै मेरिटका आधारमा भर्ना हुन पाउनुपर्छ।
तर, आइओएमले दोस्रो काउन्सिलिङ्गमा पहिलो चरणमा विद्यार्थीलाई मौका नदिई ३ हजार ८ सयदेखि ४हजार ५ सयसम्मका विद्यार्थीलाई आर्थिक प्रलोभनमा परी भर्ना गरिएको आरोप विद्यार्थीहरुले लगाएका छन्।
पहिलो काउन्सिलिङ्गमा सहभागी एक विद्यार्थीले भनिन् ‘हामीले रोजेको कलेजमा सीट संख्या पुरा भएपनि भर्ना हुनेसमयमा सीट खाली हुनेभएकाले मेरिटका आधारमा तपाईहरुले मौका पाउनुहुन्छ भनिएको थियो तर दास्रो काउन्सिलिङ्गमा हामीलाई नभई मेरिट लिष्टमा पछि भएकालाई मौका दिइएको छ।’
पहिलो चरणमा देशका विभिन्न मेडिकल कलेजमा गरी ४७ सीट बाँकी छ। आइओएमका स्ववियू सभापति मिलन गैरेले मेरिटका आधारमा कम अंक भएका विद्यार्थीले भर्ना पाएकोले गलत अभ्यास भएको र यो मेरिटमा अघि भएका विद्यार्थी अन्याय भएको बताए। उनले भने ‘एमबिबिएस भर्ना प्रक्रिया पटक पटक मेरिटको आधारमा हुनु पर्छ भने पनि यस पटक पनि मेरिट प्रक्रियालाई मिच्ने काम भएको छ।
पहिले भनिएजस्तो नभएको र योग्य विद्यार्थीले भर्ना हुन नपाएको भन्दै विरोध भएपछि एमबिबिएस भर्नाको लागि दशै अघि र आजबाट लिइदै गरेको ‘ओपन हाउस काउन्सिलिङ’ विवादमा परेको हो।
विद्यार्थीहरुले आजबाट सुरु भएको काउन्सिलिङ विरुद्ध आइओएम कार्यालय अगाडी विहानै देखि धर्ना दिएका दिइरहेका छन्।
दशै अघि शुरु भएको काउन्सिलिङबाट छनौटमा परेका परेका विद्यार्थीहरु तोकिएका कलेजमा भर्ना हुन नगएपछि आइओएमले गत २० कात्तिकमा सूचना जारी गर्दै आइतबार नयाँ विद्यार्थीलाई २५ गते कात्तिक सम्म काउन्सिलिङमा आउन यस अघि सूचना प्रकाशित गरेको थियो।
त्रिवि अन्तरगर्तका विभिन्न ८ वटा कलेजमा ४७ वटा सिट एमबीबीएस र २९ वटा सिट डेन्टल तर्फ खालि रहेको बताइएको छ।