काठमाडौं– सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेकी स्वास्थ्य सचिव डा पुष्पा चौधरी नियमित स्वास्थ्य मन्त्रालय जान थालेकी छिन् । सरुवा पछि अदालतको स्टे अर्डर पाएर मन्त्रालय फर्केको उनले बताए पनि सरकारले भने स्वास्थ्य सचिवका रुपमा स्वीकारेको छैन।
उनी मन्त्रालय आउन थालेपछि मन्त्रालयको सचिवका रुपमा कामकाज गर्ने आधिकारिक जिम्मेवारी प्रमुख विशेषज्ञ डा सुशिल प्याकुरेललाई दिइएको छ । स्वास्थ्य सचिवका रुपमा उनी मन्त्रालयमा हाजिर हुन थालेपछि प्रशासनले विद्युतीय हाजिरीको लाइन काटेको थियो । तर, मंगलबार उनी आफैंले मन्त्रालयका तल्लो तहका कर्मचारीलाई दबाब दिएर फेरि जोड्न लगाएकी छिन्।
स्वास्थ्य सचिवको जिम्मेवारी पाइनसकेकी उनी भने स्वास्थ्य सचिवकै हैसियतमा कार्यकक्षमा रहन थालेकी छिन् । सरकारले स्वास्थ्य सचिवको जिम्मेवारी दिइनसकेको अवस्थामा पनि मन्त्रालयमा हाजिर हुनु र मन्त्रालय अन्तर्गतका कर्मचारीलाई विभिन्न कामका लागि दबाब दिनु अख्तियारको दुरुपयोग भएको एक कर्मचारीले बताए । यस विषयमा डा चौधरीले भने प्रतिक्रिया दिन चाहेकी छैनन्।