काठमाडौं- वीर अस्पतालले विद्युत आपूर्तिमा भोल्टेज नपुगेको भन्दै विगत ५ महिनादेखि सिटी स्क्यान मेसिन त्यसै थन्काएर राखेको छ। १२८ स्लाइस क्षमताको उक्त सिटी स्क्यान सञ्चालनमा नआउँदा बिरामी मर्कामा परेका छन्।
अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा भन्छन् 'मेसिन ल्याएको १–२ महिनामा त्यसलाई राख्ने ठाउँ बनायौँ। त्यसपछी अावश्यक पर्ने अरु सबैथोक जडान गरिसक्यौँ तर सिटी स्क्यान सञ्चालनमा ल्याउन हाइभोल्ट चाहिन्छ, जुन हामीकहाँ भएको ट्रान्सफर्मरले धानेको छैन।'
उनका अनुसार अस्पतालमा नयाँ उपकरणहरु थपिने क्रममा भोल्टेज पनि नपुग्दै गएको हो। 'अब नयाँ ट्रान्सफर जडान गर्ने पक्रियामा छौँ, कहिलेसम्म हुन्छ त्यो चाहिँ अहिले भन्न सकिन्न' उनले भने 'त्यो चल्यो भने केही सहज हुन्थ्यो।'
अस्पतालका एक कर्मचारीका अनुसार विद्युतको समस्या समाधानका लागि विद्युत प्राधिकरणबाट मानिस समेत बोलाइएको थियो। तर अस्पतालकै कर्मचारीहरु र मर्मतका कर्मचारीबीच कुरा निमलेपछि उनीहरु त्यसै फर्किएका थिए।
वीर अस्पतालको सिटी स्कयान चलेपछि अन्य निजी संस्थाबाट कमिसन नआउने भएपछि कर्मचारीहरु नै मेसिन चलाउने योजनामा नरहेको ती कर्मचारीले जानकारी दिए।
अस्पतालमा सिटी स्क्यान नचल्दा बिरामीहरु महँगो शुल्कमा निजी संस्थामा जान बाध्य छन्।