बुटवल – प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्यमा लगानी बढाउन आवश्यक रहेको बताएका छन्। उनले स्वास्थ्य क्षेत्रमा सडक निर्माणमा जस्तो तत्कालै फाइदा नदेखिने भएकोले यसमा लागानी बढाउनुपर्नेमा जोड दिएका हुन्।
भैरहवामा आयोजित प्रदेशस्तरीय वार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री बरालले दीर्घकालीन रुपमा फाइदा लिन स्वास्थ्यमा बजेट बढाउन आवश्यक रहेको बताएका हुन्। उनले पछिल्लो समयमा शिक्षा निजी क्षेत्रको हातमा गइसकेकाले स्वास्थ्यलाई पनि त्यही अवस्थामा पुर्याउन नहुने बताए।
‘यदि शिक्षाको अवस्था जस्तो स्वास्थ्यको अवस्था रहे उपचार सेवा निकै महँगो हुनेछ र गरिबले उपचार गर्न नसक्ने अवस्था सिर्जना हुनेछ, ’उनले भने, ‘त्यसकारण सबै मिलेर स्वास्थ्यमा आउनसक्ने यो खतराको अन्त्य गर्न सरकारी स्वास्थ्य संस्थाहरुले गुणस्तरीय र छिटोछरितो सेवा उपलब्ध गराउनु पर्नेछ।’ उनले नीति बनाउँदा सरकारीलाई भन्दा निजीलाई प्राथामिकता दिएको कारण अहिले स्वास्थ्यको अवस्था नाजुक बन्दै गएको बताए।
गेष्ठीमा सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरीले प्रदेशको स्वास्थ्य अवस्था र चुनौतीको बारेमा जानकारी गराएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक दिनेशकुमार चापागाईंले स्वास्थ्यको अवस्था तथा कार्यदिशाबारे जानकारी गराएका थिए।
गोष्ठीमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको अवस्था, प्रदेशमा औषधिको माग, उत्पादन लगायतका विषयमा जानकारी गराएका थिए।