काठमाडौं– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एन्टिबायोटिक्स दुरुपयोग रोक्न एकजुट हुनुपर्ने बताएका छन्।
विश्व एन्टिबायोटिक्स सचेतना सप्ताहको अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रतिजैविक प्रतिरोधी सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री यादवले एन्टिबायोटिक्स दुरुपयोग रोक्न जनचेतना आवश्यक रहेको बताएका हुन्।
स्वास्थ्य राज्यमन्त्री सुरेन्द यादवले नेपालका अस्पतालहरुमा ‘इन्फेक्सन कन्ट्रोल’को विषयमा ध्यान नदिएको बताउँछन्। ‘ब्याक्टेरिया मरेको हुँदैन, बीचमै औषधि सेवन गर्न छोडिदिने अवस्था छ। त्यसपछि अर्कोचोटी त्यसको प्रभावकारिता स्वतः घट्छ, त्यो एन्टिबायोटिक्सले काम गर्न खोज्छ।’, यादवले भने। एक ठाउँमा दुरुपयोग भए अरु क्षेत्रमा पनि असर पर्ने बताउँदै उनले यसबारे जनचेतना आवश्यक रहेको बताए।
गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दिपेन्द्ररमन सिंहले एन्टिबायोटिक्सको जथाभावी प्रयोग ‘स्लो पोइजनिङ’को रुपमा रहेको बताए।
उनले प्रतिजैविक प्रतिरोध अहिले विश्वमा प्रमुख जनस्वास्थ्य समस्या भएको औंल्याउँदै एन्टिबायोटिक्सको प्रभावकारिता घट्दै गएको दाबी गरे। एन्टिबायोटिक्सको चाहिनेभन्दा बढी सिफारिस, समयमा नखाने, खाँदा–खाँदै बीचमै छोड्ने, अस्पताल तथा क्लिनिकमा ‘इन्फेक्सन कन्ट्रोल’को कमीले समस्याहरु देखिएको बताए।
उनले यसका लागि जनचेतना, ‘इन्फेक्सन कन्ट्रोल’मा सजगता, अनुसन्धान र लगानी आवश्यक रहेको बताए।
केही अनुसन्धानका अनुसार नेपालमा पनि मानिस र पशुपंक्षी दुवै क्षेत्रमा जीवाणुहरु बलियो बन्दै गइरहेका छन्। पशु सेवा विभागकी उपमहानिर्देशक सम्झना काफ्लेले एन्टिबायोटिक्सको पशुपंक्षीमा पनि उत्तिकै प्रयोग हुने बताउँदै यसको प्रयोगलाई नियमन गर्ने निकाय एकदम कमजोर रहेको बताइन्।
हाल जिवाणु प्रतिरोधी संक्रमणहरुको कारण हरेक वर्ष विश्वभर करिब ७ लाख मानिसहरुको मृत्यु भइरहेको अनुमान छ। यही अवस्था कायम रहे सन् २०५० सम्ममा वर्षेनी एक करोड मानिसहरुको मृत्यु हुने र करिब ६६ अरब पाउन्ड आर्थिक क्षति हुन सक्ने चेतावनी 11 संगठनले दिएको छ।
यसको सबैभन्दा ठूलो असर नेपाल लगायत एसिया र अफ्रिकाका विकासोन्मुख देशहरुमा बढी पर्ने आँकलन गरिएको छ।
पहिले प्रभावकारी रहेका एन्टिबायोटिक्सहरुको प्रभाव घट्दै गइरहेको छ। तर, प्रतिरोधी जीवाणुको वास्तविक फैलावट स्थिति र एन्टिबायोटिक्स औषधिहरु कहाँ र कसरी प्रयोग भइरहेका छन् भन्ने ठोस जानकारीको हामीसँग अझै पनि अभाव छ।