मुख्य समाचार

जनप्रतिनिधिको सकारात्मक कदम : ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएकालाई घरमै उपचार

दिनेश शर्मा

राजविराज– चुनावताका ‘घर–घरमा सिंहदरबार’ र ‘समृद्ध देश’को नारा जनप्रतिनिनिधिका मुखमुखमा झुन्डिएको थियो। तर, आफ्नो क्षेत्र तथा जनताप्रति उत्तरदायी हुनुपर्ने जनप्रतिनिधिले समयक्रमसँगै जनतासामु गरिएका प्रतिबद्धता र आफ्ना चुनावी एजेन्डाहरुलाई भुल्दै गएको प्रतित हुन्छ।

तर, सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाले भने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति लक्षित नमूना काम सुरु गरेको छ। गाउँपालिकाले ८ वटै वडाका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिका लागि ‘घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम’ सुरु गरको हो।

घरदैलो कार्यक्रमका लागि स्वास्थ्य चौकी प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली बनाइएको छ। हरेक वडामा स्वास्थ्य चेकजाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष शतिसकुमार सिंहले बताए।

पहिलो चरणमा वडा नम्बर ५ कोइलाडी वरसाइनका २ सय २२ ज्येष्ठ नागरिक र ११ जना पूर्णरुपमा अपाङ्गता भएकाहरुको स्वास्थ्य चेकजाँच र औषधि वितरणको काम भइरहेको छ। घरदैलोमा सुगर, ब्लडप्रेसर, मृगौला र प्रोटिनको मात्राको चेकजाँचलाई बढी प्राथमिकतामा राखिएको स्वास्थ्य चौकी, कोइलाडी वरसाइनका प्रमुख राजेशकुमार यादवले बताए। ‘सामान्य अवस्था भए चेकजाँच मात्र हुन्छ’, उनले भने, ‘गम्भीर अवस्था आए औषधि दिने र सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने काम पनि गर्छौं।’

घरदैलो स्वास्थ्य सेवा क्रमशः अन्य वडाहरुमा पनि सुरु हुने अध्यक्ष सिंहले जानकारी दिए। अध्यक्ष सिंहका अनुसार गाउँपालिकाका १ हजार ३ सय ८२ ज्येष्ठ नागरिक तथा करिब ५० जना पूर्ण अपांगता भएका व्यक्तिको स्वास्थ्य चेकजाँच गरिने छ। उनले यो प्रक्रिया हरेक महिना चल्ने जानकारी दिए।

‘यो सेवा देखाउनका लागि सुरु भएको होइन’, अध्यक्ष सिंहले भने, ‘शारीरिक रुपमा अशक्त भएर स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिहरुलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको हो। यो निरन्तर चल्छ।’

घरपरिवार चलाउन विदेशिएका र रोजगारीका क्रममा गाउँ छोडेका परिवारमा वृद्धवृद्धाले दुःख पाएको देखेपछि त्यस्ता व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले गाउँपालिकाले यस्तो योजना ल्याएको उनले जानकारी दिए। ‘वृद्ध र रोगी हुँदै गएपछि स्वास्थ्य संस्थामा पुग्ने क्षमता हुँदैन’, उनले भने– ‘पुर्याइदिने मान्छे नहुँदा सामान्य स्वास्थ्योपचारबाट पनि उनीहरु वञ्चित भइरहेका छन्। यस्तै व्यक्ति हाम्रो प्राथमिकतामा छन्।’

घरदैलो स्वास्थ्य कार्यक्रमबाट आफ्नो स्वास्थ्योपचार हुने भएपछि वृद्धवृद्धाले पनि सन्तुष्टि व्यक्त गरेका छन्। स्वास्थ्यकर्मी नै औषधि उपचार गर्न आउन थालेपछि अस्पताल नै घरमा आएझैं भएको स्थानीय ७८ वर्षीया उम्दा ठाकुरले बताइन्। दमको रोगले थलिएकै बेला लडेर खुट्टा भाँचिएपछि करिब एक महिनादेखि उनी ओछ्यान परेकी छिन्।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live