काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका कर्मचारीहरुको सरुवामा विवाद देखिन थालेको छ। मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले गरेका पछिल्ला सबै सरुवामा विवाद आएको हो।
मन्त्रालय र विभागबाट भएका सरुवामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका सल्लाहकार डा कृष्णकुमार राईको चलखेलका कारण समस्या देखिएको हो। सल्लाहकार राईले नियम अनुसारभन्दा पनि हचुवा र चलखेलका आधारमा सरुवा गर्न दबाब दिँदैआइरहेका छन्।
मन्त्रीका सल्लाहकार राईले मन्त्रीको सूची भन्दै जथाभावी नाम दिँदा समस्या आएको मन्त्रीको सचिवालयका एक कर्मचारीले जानकारी दिए। ‘सल्लाहकार राईले आर्थिक चलखेल गर्दै मन्त्रीको नाम समेत बेचेर मनलाग्दी गरिरहेका छन्,’ उनले भने, ‘मन्त्रीको नाम भन्दै बनाइएको सूचीका विषयमा मन्त्री आफैँ पनि बेखबर हुनुहुन्छ।’
मन्त्रीको सल्लाहकारले सरुवाको जथाभावी सूची दिएपछि विभागबाट भइरहेको सरुवामा विभागका महानिर्देशक डा गुणराज लोहनी समेत दबाबमा परेको ती कर्मचारीले जानकारी दिए। ‘एकै स्थानमा चार जनासम्मको सरुवा गर्नेगरी मनलाग्दी सूची बनाएर सल्लाहकारले दिएपछि महानिर्देशक समेत तनावमा छन्,’ उनले भने, ‘जसका कारण महानिर्देशक मोबाइल नै बन्द गरेर बस्नुपर्ने अवस्थामा छन्।’
मन्त्रीका प्रमुख सल्लाहकारको दबाबमा यसअघि भएको सरुवामा पनि विवाद आएको थियो। विभागले यसअघि १६ सयभन्दा बढीको सरुवा गरेको थियो। उक्त सरुवामा परीक्षणकालमा रहेकाको पनि सरुवा भएको थियो भने एकै स्थानमा चार जनासम्म सरुवा भएका थिए।
उक्त सरुवाको समस्या अझैसम्म समाधान हुन सकेको छैन। अघिल्लो समयको सरुवा समेत समाधान नभएको समयमा सल्लाहकार राईले पुन: ऐन तथा कानुनविपरित सरुवा गर्न दबाब दिएर सरुवालाई थप विवादित बनाइरहेको कर्मचारीहरु बताउँछन्।