मुख्य समाचार

चाकडी र घुस दिन नसकेको भन्ने डाक्टरले नै मिचेका रहेछन् ऐन

स्वास्थ्यखबर

काठमाडौं– चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा बुझाएका डा धु्रबराज अधिकारीले नै स्वास्थ्य सेवा ऐन मिचेको तथ्य फेला परेको छ। 

वीर अस्पतालका न्यूरो सर्जन डा अधिकारीलाई सरकारले वीर अस्पतालबाट पोखरामा सरुवा गरेको थियो। ८ औं तहमा कार्यरत डा अधिकारी नवौं तहमा बढुवा भएपछि गत चैत १८ गते पोखरामा पदस्थापना गरिएको थियो।

स्वास्थ्य सेवा ऐन अनुसार बढुवा भएर पदस्थापना भएको कर्मचारी खटाएको स्थानमा पुगेर हाजिर गर्नुपर्ने हुन्छ। डा अधिकारी बढुवा भएको समयमा वीर अस्पतालमा नवौँ तहको दरवन्दी खाली थिएन। दरवन्दी खाली नभएपछि स्वास्थ्य मन्त्रालयले उनलाई पोखराको क्षेत्रिय अस्पतालमा पठाएको थियो।

तर, डा अधिकारी वीर अस्पतालमा नै हाजिर गर्ने अडानमा रहँदै आएका थिए। 

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले डा अधिकारीले पहिला पोखरामा गएर हाजिर गर्नुपर्ने र त्यसपछि मात्र आवश्यकताका आधारमा अन्य स्थानमा सरकारले ल्याउन सक्ने नियम रहेको बताए। 

‘उहाँले पोखरामा गएर हाजिर मात्र गरेर फेरी यता आउन आवश्यक पहल गरेको भयो ऐन अनुसार काम गर्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘तर उहाँले ऐन विपरित दरवन्दी नै नभएको स्थानमा नै बस्छु। पदस्थापन गरिएको स्थानमा जान्न भन्नु भएको रहेछ।’

प्रवक्ता श्रेष्ठले डा अधिकारीले चाकडी र घुसको आरोप लगाएपछि मन्त्रालयले यो विषयमा खण्डन गर्दै प्रेस विज्ञप्ति नै जारी गरिएको बताए।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा पनि ‘पदस्थापन भएको कार्यालयमा १ पटक हाजिर भै आए पश्चात मात्र वीर अस्पतालमा सरुवा गर्न नियमानुसार प्रक्रिया पुग्नेहुँदा सो विषयमा मौखिक जानकारी बारम्बार दिइएकोमा उक्त कुराको अवज्ञा गरि राजीनामा बुझाएको व्यहोरा सर्वसाधरणको जानकारी लागि विज्ञप्ति जारी गरिएको’ उल्लेख छ।

प्रवक्ता श्रेष्ठका अनुसार डा अधिकारीको बढुवा हुँदा दरवन्दी खाली नभए पनि केही समयअघि अस्पतालका अर्का न्यूरो सर्जन डा गोपालरमण शर्माले राजीनामा दिएपछि वीरमा दरवन्दी खाली भएको थियो। वीरमा दरवन्दी खाली भएपछि डा अधिकारीले पुन उक्त पदमा आफूलाई पदपूर्ती गर्न आग्रह गरेका थिए। 

‘उहाँले वीरमा पदखाली भएपछि मन्त्रालयमा र मन्त्री समक्ष आग्रह गर्नुभएको थियो,’ उनले भने, ‘उहाँको आग्रहपछि मन्त्रालयका जिम्मेवार कर्मचारी र मन्त्री स्वयंले नियमअनुसार पोखरामा एक पटक हाजिर गरेर आउनुहोला अनि यता मिलाउँछौं भनेर सुझाब दिइएको थियो। तर, उहाँले एकैपटक चाकडी र घुसको कुरा निकाल्नु भएको रहेछ।’

मन्त्री उपेन्द्र यादवका स्वकिय सचिव महेश चौरसियाले डा अधिकारीका लागि ऐन कानुन विपरित काम गर्न नसकिने बताए। ‘वीरमा उहाँको आवश्यकता छ नियमअनुसार मिलाउन सकिन्छ भनिएको थियो,’ उनले भने, ‘मैले आफैँले उहाँलाई उपप्रधानमन्त्रीज्यूसँग भेट गराएको थिएँ। भेटका क्रममा मन्त्रीज्यूले एक दिन हाजिर गरेर फर्कनुहोस् नियमअनुसार तपाईको वीरमा नै पोष्टिङ हुन्छ भनिएको थियो।’

सरकारले बढुवा भएपछि पोखरा पठाएको कुरा डा अधिकारीले पनि स्विकार गरेका छन्। ‘मलाई पूर्वाग्रही ढंगले पोखरा पठाएको उता हाजिर हुन नगएको हुँ,’ डा अधिकारीले भने। 

उनले एक वर्षदेखि आफ्नो फाइल अड्काउने र घुमाउने गर्दै आफूलाई दुःख दिइएको र घुस बापतको रकम मागेको समेत दावी दोहोर्‍याए।

‘म बिरामीको सेवा गर्ने व्यक्ति हुँ। मलाई चाकडी गर्न आउँदैन र गर्दिन पनि,’ उनले भने, ‘चाकडी गर्न नजानेको र घुस बापतको रकम मागेपछि मैले राजीनामा बुझाएको हुँ।’ उनले घुस माग्ने व्यक्ति र रकम भने खुलाएनन्।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live